२०७६ असोज २८ गते

शिशुदेखि पाँचसम्म एउटै कक्षामा पढाइ

महोत्तरी । महोत्तरीको पर्सा-६ स्थित जनता प्राथमिक विद्यालयमा झन्डै ८० विद्यार्थी पढ्छन्। कक्षा पाँचसम्म पढाई हुने विद्यालयमा दलित तथा विपन्न समुदायका बालबालिका पढ्दै आएका छन् ।


२०६७ सालमा स्थापना गरिएको यस विद्यालयका ब्लक र टाटीले छाएको दुई कक्षा कोठा छन्। यी दुई कोठा समेत जीर्ण छन् । कुन समय छानो खसेर छात्रछात्रालाई किच्छ त्यसको ठेगान छैन । एउटा कक्षा अझ बढी जीर्ण बन्दै गरिएको छ। कक्षा कोठाको छानोमा छाएको टाटी फुटेर चकनाचुर भइसकेको छ। आर्थिक अभावमा छानो छाउन नस छानोको काठपात कुहिसकेको छ ।


कक्षा कोठाको अभावमा शिशु कक्षादेखि ५ सम्मका विद्यार्थीहरु एउटै कोठामा पढ्छन्। त्यो कक्षा कोठ पनि सानो छ। आर्थिक अभावमा एउटै कोठामा राखेर बहुकक्षा संचालन गरिन्छ। बहुकक्षा शिक्षणले पढाउन समस्या हुने गरेको शिशु कक्षाकी शिक्षिका सीता सिंहको भनाइ छ। ‘एउटै कक्षा भित्र कसैलाई कखरा पढाउनु पर्छ, केहीलाई त्यही गाउँ छ गीत नेपाली, ज्योतिको पंखा उचाली पढाउनु पर्छ।’ सानासाना शिशु कक्षाका बालबालिका भने त्यही कोठामा ‘ममी ममी भनेर रोइरहेका हुन्छन्’, शिक्षिका सीताले भनिन्।


शिक्षिका सिंहका अनुसार, एक दिन दुई दिन बहुकक्षा संचालन गर्दा त ठीकै हुन्छ। तर, सधैं बहुकक्षाको वतावरणले शिक्षक र विद्यार्थीहरु वाक्कदिक्क भइसकेका छन्। बहुकक्षा शिक्षणले शैक्षिक गुणस्तरमा असर पुगेको छ। बालबालिकाको सिकाई उपलब्धी नकारात्म असर पुगेको छ।


विद्यालयमा जम्माजमी ५ थान डेक्स र बेन्च छन्। जसमध्ये २ थान कामै नलाग्ने छन्। बाँकी ३ थान डेक्स र बेन्चमा ८० जना बालबालिका पालो लगाएर बस्नु परेको कक्षा ४ की छात्रा संगीता कुमारीले बताइन्।


‘हामी साथी मिलेर सबै जना डेक्स बेन्चमा बस्छौं।’ त्यही कक्षाको भूइमा त्रिपाल ओछाइएको छ। डेक्स बेन्चमा नअटाएका विद्यार्थीहरु कक्षा कोठाको त्रिपालमा पनि आलोपालो लगाएर बसेर अध्ययन गर्छन्। कक्षा कोठामा नअटाएका बालबालिका कक्षा कोठा बाहिर खुल्ला अकाशको घाम, पानीमा बसेर पढ्ने गर्छन्। देशका भविष्यका कर्णधार बालबालिका पढ्ने विद्यालयमा जीर्ण भवनले लाग्छ सरकारले उनीहरुको ज्यान लिन धराप थापेको छ।


महोत्तरीको सदरमुकाम भन्दा झन्डै ३५ किमि उत्तर पूर्वमा पर्ने यस विद्यालयमा शैक्षिक पूर्वधारको अभावमा विद्यालयको सम्पूर्ण शैक्षिक अवस्था भद्रगोल बन्न पुगेको छ। तर, जिल्ला शिक्षा कार्यालय मुकदर्शक बनेको स्थानीयवासीको आरोप छ।


‘बालबालिका स्कल गएर ढुक्कसँग पढ्न सक्ने वतावरण छैन,’ स्थानीय रामनारायण हुजेदारले भने,‘ बर्षातमा छानो चुहिन्छ। घाम कक्षा कोठा भित्रै छिरेर पोल्छ।’ अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: