भक्तपुर । शिक्षक सेवा आयोगले प्रावि र निमावि तहको खुला विज्ञापनपछि माध्यमिक तहको पनि विज्ञापन गरेको छ ।

आयोगले प्रावि तहको बिहीवार र निमावि तहको शुक्रवार खुला विज्ञापन गरेको थियो । आयोगले शुक्रवार नै माध्यमिक तहको पनि विज्ञापन गरेको हो ।

आयोगका अनुसार मावि  तहमा १ हजार १०८ रिक्त दरवन्दीमा विज्ञापन गरिएकोे हो ।  २०७२ यता मावि तहमा खुला विज्ञापन भएको थिएन ।

शिक्षा विभागले उपलब्ध गराएको २०७२ असोज ३ पछि २०७४ फागुन मसान्त सम्मको रिक्त दरबन्दी विवरण, त्यसअघिका २५ प्रतिशत दरवन्दी र सुविधा रोज्ने अस्थायी शिक्षकहरुको दरवन्दीमा आयोगले विज्ञापन गरेको हो । शिक्षा ऐनको आठौं संशोधनले आधारभूत र माध्यमिक तह गरी विद्यालय शिक्षाको संरचना तय गरे पनि संविधानको धारा ३०४ को व्यवस्था अनुसार विज्ञापन गरिएको आयोगले जनाएको छ ।

शिक्षक सेवा आयोगले आयोगको नियमावली, २०५७ को तेस्रो संशोधन पछि २०६१ मंसिर १५ गते (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह), २०६९ साल पुस २० गते (प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह), २४ चैत २०७१ मा निमावितहका लागि र ३० फागुन २०७२ मा मावि तहका लागि मात्रै विज्ञापन गरिसकेको छ ।

आयोगका अनुसार यही असार ३१ गतेसम्म परीक्षा फारम भर्न सकिने छ भने मावि तहको परीक्षा असोज १२ गते हुने छ ।

२०७५ असार २ गते ०१:४०मा प्रकाशित

प्रतिकृया दिनुहोस्