२०७७ जेष्ठ १९ गते

एमबीबीएस प्रवेश परीक्षा पास हुन्छन्, भर्ना हुँदैनन्

काठमाडौं  काठमाडौं विश्वविद्यालय (केयू) ले लिएको एमबीबीएस प्रवेश परीक्षामा ८ हजार विद्यार्थीले सहभागिता जनाए । तीमध्ये ४ हजार २ सय जना उत्तीर्ण भए । विश्वविद्यालयको भर्ना क्षमता ८ सय ७० (छात्रवृत्तिसहित) मात्रै छ । विश्वविद्यालयले भर्नाका लागि पहिलो लिस्टमा ८ सय जनालाई ‘काउन्सिलिङ’ मा बोलायो । काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सको सिट मात्रै पूरा भयो । काठमाडौंका दुई कलेजमा १ सय सिटमा पनि पूरा भर्ना भएनन् । दोस्रो लिस्टमा फेरि ८ सय जनाको नाम सार्वजनिक भयो । ८ सय सिटमा १ हजार ६ सय विद्यार्थीलाई बोलाउँदा १ सय ७० जना मात्रै भर्ना भए । भर्ना हुनेमा धुलिखेलमा ४६, काठमाडौं मेडिकल कलेजमा ५० र नेपाल मेडिकल कलेजमा ५० जना छन् ।

 

दोस्रो लिस्ट सार्वजनिक भएपछि मात्रै काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजको सिट पूरा भयो । मेरिटका आधारमा काउन्सिलिङमा आएका विद्यार्थीको पहिलो रोजाइ उपत्यकाका मेडिकल कलेज परे । १ हजार ६ सय विद्यार्थी बोलाउँदा उपत्यकाबाहिर पोखरामा मणिपाल कलेज अफ मेडिकल साइन्समा १२ जना, नेपालगन्ज मेडिकल कलेजमा १ र लुम्बिनी मेडिकल कलेजमा १ जना मात्रै भर्ना भएका छन् ।

५० लाख रुपैयाँ शुल्क तोकिएको भरतपुरको कलेज अफ मेडिकल साइन्समा एक जना पनि भर्ना भएका छैनन् । सरकारलाई २० प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने कलेजले तोकिएभन्दा थप दुई लाख रुपैयाँ लिन पाउने व्यवस्था छ । एक जना पनि भर्ना नहुनेमा विराट मेडिकल कलेज विराटनगर, देवदह मेडिकल कलेज रुपन्देही, नोबेल मेडिकल कलेज विराटनगर, लुम्बिनी मेडिकल कलेज पाल्पा छन् । यीमध्ये सबैभन्दा बढी लुम्बिनीमा ५० सिट स्वदेशी विद्यार्थीका लागि हो । सबैभन्दा कम देवदहमा १३ सिट मात्रै छ । काठमाडौं उपत्यकाभन्दा बाहिर महँगो पर्ने भएपछि विद्यार्थी भर्नादर शून्य भएको हुन सक्ने विश्वविद्यालयले जनाएको छ । त्रिभुवन विश्वविद्यालयको प्रवेश परीक्षा कुर्ने पनि उत्तिकै छन् । केयूमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी छात्रवृत्तिको पर्खाइमा छन् । एक सय ४ जनाले केयूअन्तर्गतका कलेजमा छात्रवृत्तिमा अध्ययन गर्ने अवसर पाउँछन् ।

यसअघि कलेजले ‘बार्गेनिङ’ मा विद्यार्थी भर्ना गर्ने गरेकामा यसपालि विश्वविद्यालयले काउन्सिलिङ गरेर मेरिटका आधारमा मात्रै भर्ना गरिरहेको छ । यसअघि केयूका काठमाडौंस्थित केएमसी र एनएमसीमा भर्ना हुँदा विद्यार्थी र अभिभावक दलालमार्फत ठगिने गरेका थिए । यसपालि तोकिएभन्दा बढी शुल्क लिन नपाउने गरी विद्यार्थी र कलेजबीच केयूलाई साक्षी राखेर सम्झौता गर्नुपर्ने व्यवस्था छ । विगतमा जसले बढी शुल्क दियो, उसले भर्ना पाउँथ्यो । ‘पहिला विश्वविद्यालयमा भर्ना हुने प्रावधान थिएन । यस वर्ष मेरिटका आधारमा विश्वविद्यालयकै खातामा पैसा जम्मा गरेर भर्ना गर्ने व्यवस्था गरेका छौं,’ स्कुल अफ मेडिकल साइन्सका प्रशासन प्रमुख दीपक दाहालले भने, ‘कुन कलेजको फि कति भन्ने सार्वजनिक गरिएको छ ।’

अभिभावक, कलेज र विश्वविद्यालयबीच सम्झौतापछि मात्र भर्ना गर्ने व्यवस्था रहेकाले कलेजले थप शुल्क लिन सक्ने सम्भावना नभएको उनले बताए । विश्वविद्यालयले धुलिखेलमा गरेको काउन्सिलिङमा कलेज रोज्ने विद्यार्थीले त्यहीँ भर्ना हुन सक्ने व्यवस्था मिलाएको छ । भर्ना लिन सबै कलेजका प्रतिनिधि धुलिखेल पुगेका छन् ।

भर्नाका लागि बुधबारबाट काउन्सिलिङ सुरु भएको हो । विद्यार्थीले रोजेको कलेजमा भर्ना हुन २ लाख रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको छ । ‘बुकिङ’ गरेको केही दिनमा तोकिएको शुल्कको ५० प्रतिशत कलेजको खातामा जम्मा गरिदिनुपर्ने प्रावधान छ । बुक गरेपछि कलेज छाड्न नपाउने नियम पनि बनाइएको छ । केयूले काठमाडौं उपत्यकामा ४२ लाख ९० हजार र उपत्यकाबाहिर ४७ लाख ९० हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । स्कुल अफ मेडिकल साइन्समा भने ३९ लाख रुपैयाँमै अध्ययन गर्न पाइन्छ ।कान्तिपुर दैनिकमा खबर छ ।

 

 

Comments: