२०७६ मंसिर २३ गते

परीक्षा छोडेर म्यादी प्रहरीमा विद्यार्थीहरू

जाजरकोट । सुर्खेत दशरतपुरकी सोनिया बुढा त्रिभुवन माध्यामिक विद्यालय खलंगाको कक्षा १२ मा पढ्छिन् । उनको आगामी वैशाख १० गतेवाट  परीक्षा सुरु हुँदैछ । ११ कक्षा पास भइसकेकी सोनियालाइ १२ कक्षाको परीक्षाको कुनै प्रवाह छैन ।


पारिवारिक विपन्नता र बेरोजगारीका कारण उनले स्थानीय तहको चुनावका लागि  म्यादी प्रहरीमा आवेदन दिएकी छिन् । छनोट परीक्षामा उनी सफल हुँदै  गएकी छिन् । ‘म बरु परीक्षा दिन्न म्यादी  प्रहरी भएर केही पैसा कमाएर पढाई पुरा गर्छु’, उनले भनिन् ।


  पढाइ अर्को वर्ष पुरा गर्ने सोच बनाएकी छु अहिले म्यादी प्रहरी  हुने धोको छ , सोनियाले भनिन् । चैत्र २२ गते देखि तालिममा जाने भन्छन् परीक्षा दिन पाइदैन होला अब अर्को वर्ष पुरा हुन्छ पढाइ, उनले भनिन् । सोनिया जस्तै भेरी नगरपालिकाको भेरे घर भई सोही विद्यालयको कक्षा १२ मा पढ्ने नरेशप्रकाश घर्तीले पनि १२ कक्षाको परीक्षा छोडेर म्यादी प्रहरीमा भर्ती हुन आवेदन दिएका छन् ।


  ‘घरको अवस्था कम्जोर छ कुनै रोजगारीको सम्भावना छैन् त्यसैले अर्को वर्ष परीक्षा दिने अहिले म्यादी प्रहरी हुने होु, उनले भने । पढाई खर्च र घरको आर्थिक समस्या टार्न आफू म्यादी हुन लागेको उनले बताए ।   


   म्यादी प्रहरीमा परीक्षाको माया मारेर आवेदन फाराम भर्ने आफूहरू जस्तै धेरै विद्यार्थीहरु भएको नरेशले बताए । जागिर पाइदैन भन्ने  डरले  ११ र १२ पढ्दै गरेका र एसएलसी दिएका धेरै विद्यार्थीहरू म्यादी हुन आएका छन्, नरेसले नागरिकसंग भने ।  


सोनिया र नरेश मात्र होइन अहिले जिल्लामा म्यादी प्रहरीका लागि  आवेदन दिने अधिकांश विद्यार्थीहरू नै छन् । बारेकोट  गाउँपालिका  शिर्पाचौरकी करुणा बुढामगरले पनि स्कूलको पढाइ छोडेर म्यादी प्रहरीमा आवेदन दिएकी छिन् ।


 ‘उताबाट परीक्षा आएपनि के गर्ने पैसा कमाउनु पर्यो त्यसैले म्यादी प्रहरीमा  आवेदन दिएँ’ करुणाले भनिन् । पढ्ने काम चुनाव सकिएपछि गर्नुपर्ला, उनले भनिन् । कक्षा ११को उनको परीक्षा स्थानीय तहको निर्वाचनकै कारण  जेठमा हुने सम्भावना छ ।


 ६ सय जना म्यादीका लागि खोलिएको आवेदनमा एक हजार ९ सय ७३ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भावेस रिमालले बताए । उनले १८ /१९  वर्षका युवाहरू बढी रहेको  बताए ।


 जिल्लामा रोजगारीको सम्भावना नभएका कारण धेरै युवाहरु विदेश जाने र अब स्कूल पढ्ने विद्यार्थीहरु समेत पढाई छोडेर रोजगारीको कामतिर लाग्नु राम्रो नभएको उद्योग वाणिज्य संघका महासचिव बुद्धिबहादुर खत्रीले बताए ।  


घरबारी बाँझै राखेर विदेश जाने, पढ्न छोडेर मज्दुरी र काम खोज्न जाने अवस्था आउनुले देशको भयावह अवस्थाको संकेत गर्छ, उनले  भने ।  पढ्दै गरेका विद्यार्थीहरू पढाइ छोडेर जागिरका लागि भौतारिनु निकै  गम्भीर विषय भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले वताउँछन् । उनले राज्यको कम्जोर नीतिका कारण यस्तो गम्भीर समस्या आएको  बताए ।


 जिल्लाबाट अहिले ३० हजार बढी युवाहरू कामको खोजीमा भारत लगायतका अन्य मुलुकमा  बाहिरिएको सरोकारवालाहरू बताउँछन् ।  पढेका नपढेका सवै जनशक्ति बाहिरिएपछि कृषि उत्पादन निर्माण र अन्य क्षेत्रमा नकरात्मक असर पर्न थालेको उनीहरूको  चिन्ता छ । नागरिक दैनिकमा खबर छ ।

Comments: