काठमाडौं । दुईदशक अघिदेखिको अस्थायी शिक्षक समस्या समाधान हुने भएको छ । अब अस्थायी शिक्षकहरुले मागेजस्तै परीक्षामा असफल भएपनि सुविधा पाउने भएका छन् ।

व्यवस्थापिका संसदले शिक्षा ऐन २०२८ लाई संसोधन गर्न बनेको शिक्षा ऐनको नवौं संशोधनको विधेयकमाथि छलफल गरियोस भन्ने प्रस्ताव सोमबार बहुमतद्धारा पारित गरेको छ ।अब विधेयक समितिमा छलफलका लागि जानेछ । समितिमा छलफल पश्चात् संसदले विधेयकलाई बहुमतले पारित गरेपछि त्यो राष्ट्रपतिकहाँ जानेछ र त्यहाँबाट स्वीकृत भएसँगै ऐनको मान्यता पाउने छ ।

सवै अस्थायी शिक्षकहरुलाई एकपल्ट परीक्षाको अवसर दिने र असफल हुने अस्थायी शिक्षकहरुलाई सुविधा सहित बिदा गर्ने व्यवस्था सहितको शिक्षा ऐनको नवौं संशोधनको विधेयक सोमबार छलफलका लागि संसदबाट बहुमतले पारित भएको छ ।

व्यवस्थापिका संसदमा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा ऐनको नवौं संशोधनको विधयेक २०७४ माथि विचार गरियोस भनी दर्ता गरेको प्रस्ताव छलफलका लागि बहुमतले स्वीकृत गरेको हो । संशोधन विधेयक पारित भए अस्थायी शिक्षकहरु लाई दुबै हातमा लड्डु हुनेछ । परीक्षा दिएर पास भए स्थायी बन्ने र फेल भएपनि मोटो रकम सहित बिदा हुन पाउने छन् ।

यो विधेयक परित भएसँगै अब आठौं संशोधित ऐन अनुसार गत चैत्रमा खुलेको विज्ञापन खारेज हुनेछ भने नवौं संशोधन अनुसार नयाँ विज्ञापन गरिनेछ । जहाँ सवैखाले अस्थायी शिक्षकहरुले एकचोटी परीक्षा दिने मौका पाउनेछन् भने फेल भएपनि सुविधा सहित बिदा हुने छन् । यसले झण्डै दुई दशकदेखिको अस्थायी शिक्षकहरुको समस्या समाधान गर्नेछ ।

अब २०७३ साल असार १५ गते अगाडि कार्यरत शिक्षकहरु परीक्षामा अनुत्तीर्ण भए पनि सुविधा पाउनेछन् । परीक्षामा अनुत्तीर्ण हुनेलाई कम्तीमा ५ वर्षदेखि १० वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको अन्तिम महिनाको तलब बराबर रकम उपलब्ध गराइने छ । त्यस्तै १० देखि १५ वर्षसम्म सेवा गरेका शिक्षकहरुको हकमा प्रत्येक वर्षको आखिरि एक महिना बराबर तलबको व्यवस्था गरिने छ । र १५ वर्षभन्दा बढी समय सेवा गरेका शिक्षकका हकमा प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम उपलध गराइनेछ ।

२०७४ भदौ १२ गते ११:२९मा प्रकाशित

प्रतिकृया दिनुहोस्