२०७६ असोज २९ गते

कक्षा ६ पढ्न डेढ घण्टा हिँडाइ

अन्तैबाट

धादिङ  । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१, जरुङका शुभमाया तामाङका ६ छोराछोरी छन् । तीमध्ये उनीसँग अहिले एक छोरी मात्र छिन् । किनकि अन्य सन्तान अध्ययनका लागि गाउँदेखि टाढा गएका छन् । कोही काठमाडौंमा छन् । किनभने गाउँ(जरुङ)को विद्यालय (सिमटार आधारभूत विद्यालय) मा कक्षा ५ सम्म मात्र पढाइ हुन्छ । यसकारण योभन्दा माथि पढ्न गाउँ छाडेर अन्यत्रै जान बाध्य भएका हुन् ।

कक्षा ५ देखि माथि पढ्न डेढ घण्टा हिँडेर बाँसखर्क आधारभूत विद्यालय जानुपर्ने हुन्छ । त्यहाँ पनि कक्षा ८ सम्म मात्रै पढाइ हुन्छ । जंगलको बाटो हुँदै जानुपर्ने भएकाले कतिपयले त बीचमै पढाइ छाड्ने गरेका छन् । कोही मलेखु, गजुरीमा पढिरहेका छन् भने धेरैजसो काठमाडौं गएका छन् । विद्यालय अभावका कारण गाउँका थोरैले मात्र उच्च शिक्षा हासिल गरेको शुभमायाले बताइन्।

‘डेढ घण्टा हिँडेर बाँसखर्क आधारभूत विद्यालयमा कक्षा ६ देखि ८ सम्म पढ्यो, त्यसभन्दा माथि पढ्न फेरि अन्य ठाउँ जानुपर्छ,’ स्थानीय छात्रा सोनिया तामाङले भनिन्, ‘हामी छोरीहरूलाई टाढा–टाढा पढ्न पठाउँदैनन्, त्यसैले पढाइ नै छाड्दिन्छौं ।’ आफू दिन बिराएर विद्यालय जाने गरेको उनले बताइन् । ‘एक दिन गयो भने अर्को दिन खुट्टा दुख्छ,’ सोनियाले भनिन्, ‘दिनदिनै जान त थकाइ लाग्छ अनि सधैं गइँदैन, आधा पढाइ त छुट्छ।’

यहाँका बालबालिकालाई पढ्ने समय पनि हुँदैन । बिहान सबेरै उठ्यो, चिया–खाजा खायो । त्यसपछि एक भारी घाँस या दाउरा ल्यायो । अनि मात्र हस्याङ–फस्याङ गर्दै स्कुल दौडनुपर्ने बाध्यता छ । दिनभरि पढेर घर फर्केपछि पनि बिहानकै क्रियाकलाप दोहोरिने गर्छ।

गाउँनजिकै उच्च माध्यमिक विद्यालय एवं क्याम्पस नहुँदा छोराछोरीलाई पढाउन समस्या भइरहेको स्थानीय अभिभावक बताउँछन् । बेनिघाट रोराङको दक्षिणी भेगमा प्रायः तामाङ र चेपाङ समुदायको बसोबास छ । वडा नं १ र २ आसपास आठ विद्यालय छन् । तर ती सबैमा प्रावि तहसम्म मात्रै पढाइ हुने भएकाले यस भेगका प्रायः विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने इच्छा अधुरै रहने गरेको छ।

सरिता श्रेष्ठले नागरिकमा खबर लेखेकी छन् ।

Comments: