२०७६ मंसिर २१ गते

गणितमा भन्दा नेपालीमा विद्यार्थी कमजोर

अन्तैबाट

काठमाडौं  । विद्यार्थीको सिकाई तथा उपलब्धिको मापन गर्दै शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले कक्षा ५ को सिकाई उपलब्धि प्रतिवेदन सार्वजनिक गरेको छ ।

सार्वजनिक गरेको प्रतिवेदनमा गणित र नेपालीको सिकाई कमजोर रहेको छ। प्रतिवेदन अनुसार गणित भन्दा नेपालीमा कम सिकाई भएको देखिएको छ। जसमा गणितमा ३२ र नेपालीमा २० उपलब्धि रहेको छ।  

चौविस जिल्लाका नमुना छनौटमा परेका १४ सय विद्यालयमध्ये ७ सय विद्यालयका १४ हजार २ सय ७ विद्यार्थीमा नेपाली विषय र ७ सय विद्यालयका १४ हजार १ सय ७४ गणित विषयमा गरी जम्मा २८ हजार ३ सय ८१ जना विद्यार्थी परीक्षणमा सहभागी भएका थिए। विद्यार्थीको वास्तविक क्षमतालाई आधार मानी राष्ट्रिय औसत ५ सय मानिएको छ।

प्रतिवेदनमा नेपालीमा सवभन्दा राम्रो सिकाई ५११ अङ्क ल्याउदै गण्डकी प्रदेश र  ४८८ अंक ल्याउदै कर्णाली प्रदेशको रहेको छ। यस्तै गणितमा राम्रो प्रदेश नं. २ को ५२१ अंक ल्याउदै राम्रो र  प्रदेश नं. ५ को ४८६ अंक ल्याउदै सिकाई कमजोर रहेको छ।

शैक्षिक नीति निर्धारण तथा योजना निर्माण गर्ने निकायहरूलाई शिक्षाको गुणस्तर सुधारका लागि प्रमाणमा आधारित सुझावहरू प्रदान गर्दै विद्यार्थी उपलब्धिको परीक्षण गर्नु नै राष्ट्रिय परीक्षणको लक्ष्य रहेको छ।

कक्षा ५को यो अध्ययन तत्काल कायम रहेका ७५ जिल्लाहरूबाट नमुना छनौटमा परेका २४ जिल्लामा सञ्चालन गरिएको थियो। छनौटमा परेका जिल्लामा कक्षा ५ सञ्चालन भएका र कम्तीमा १० जना विद्यार्थी भएका विद्यालयबाट नमुना छनौटको आधारमा छनौट गरिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रका महानिर्देशक टेकनारायण पाण्डेले जानकारी दिए।

शिक्षा मन्त्रालयको २०१९ को तथ्याँक अनुसार आधारभूत तह कक्षा १५ को खुद भर्ना दर ९७.२ पुगेको छ। विद्यालय क्षेत्र सुधार योजना तथा विकास योजना दुवैले उपलब्धि परीक्षणको नतिजाको तुलना नै गुणस्तरमा भएको प्रगतिको लेखाजोखा गर्ने मुख्य आधार बनाएकोले यो तुलना निकै महत्वपूर्ण खण्डको रूपमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले लिएको छ।

२०१७ देखि प्रकाशित परीक्षणका नतिजामा विद्यार्थीको प्राप्ताङ्क नभई उनीहरूको क्षमतालाई प्रस्तुत गरिएको छ। निरीक्षण गर्ने क्रममा पहिलो खण्डमा शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कक्षा ३, ५ र ८ मा विभिन्न वर्षमा गरिएका उपलब्धि परीक्षणहरूको समीक्षा गरिएको थियो।  दोस्रो खण्डमा कक्षा ५ को सन् २०१५ र २०१८ को नतिजालाई तुलनात्मक रूपमा विभिन्न विधिबाट प्रस्तुत गरी त्यसलाई निश्कर्षमा पुर्याइएको हो। समग्रमा सामुदायिक विद्यालयका बालबालिकाको सिकाइ उपलब्धिभन्दा संस्थागत विद्यालयका बालबालिकाको सिकाइ उपलब्धिमा सामाजिक आर्थिक अवस्थाको प्रभाव उच्च रहेको देखिएको छ। तापनि केही सामुदायिक विद्यालयका विद्यार्थीको आर्थिक सामाजिक अवस्था कमजोर हुँदा समेत उनीहरुको सिकाइ स्तर राम्रो छ।

विद्यार्थीले विद्यालय बाहेकको अन्य समयको उपयोगले पनि सिकाइ उपलब्धिमा प्रभाव पारेको प्रतिवेदनले देखाएको छ। दिनमा तीन घण्टा वा सोभन्दा कम समय टिभि हेर्ने, इन्टरनेट र कम्प्यूटर चलाउने, खेल्ने, कुराकानी गर्ने जस्ता जुनसुकै काममा खर्च गरेपनि त्यसले सिकाइमा नकारात्मक असर पारेको भने देखिएन। तीन घण्टाभन्दा वढी समय अध्ययन र गृहकार्य बाहेकका काममा लगाउने विद्यार्थीको सिकाइ उपलब्धि न्यून देखिन्छ। गृहकार्य र अध्ययनमा तीन घण्टाभन्दा बढी समय दिँदा सिकाइ उपलब्धि उच्च देखियो।  ५ सय १३ जना विद्यार्थीसँग शैक्षिक सत्रको अन्तसम्म पनि पाठ्यपुस्तक नभएको देखिएको छ। त्यसमध्ये पनि सामुदायिक विद्यालयका ३ सय ७८ जना विद्यार्थी रहेकाछन्। पाठ्यपुस्तक हुने विद्यार्थीको औसत सिकाइ उपलब्धि उच्च छ भने पाठ्यपुस्तक नहुनेको उपलब्धि न्यून रहेको छ।

 विद्यार्थीको भाषिक पृष्ठभूमिले पनि उनीहरूको सिकाइ उपलब्धिमा प्रभाव पारेको देखिएको छ। विद्यार्थीको घरमा बोलिने भाषालाई नेपाली र अन्यगरी दुई भागमा वर्गीकरण गरी उनीहरूको सिकाइ उपलब्धिको बीचमा तुलना गरिएको थियो।

परीक्षणमा सहभागी भएका विद्यार्थीले उल्लेख गरेका उनीहरूको जातजाति सम्बन्धी सूचनालाई ब्राह्मण र क्षेत्री,  जनजाति, दलित र अन्यगरी चारओटा समूहमा  वर्गीकरण गरेर नतिजा विश्लेषण गरिएको थियो। जातजातिगत रूपमा विश्लेषण गर्दा विभिन्न जातजातिगत समूहको सिकाइ उपलब्धिमा विविधता रहेको देखिन्छ। परीक्षणमा ब्राह्मण/क्षेत्रीको  राष्ट्रिय औसतभन्दा उच्च र जनजाति समूहको सिकाइ उपलब्धि बराबर देखिन्छ। त्यसैगरी दलित र अन्य समूहको सिकाइ उपलब्धि राष्ट्रिय औसतभन्दा न्यून देखिन्छ।

नमूना छनोटमा परेका २४ ओटा जिल्लाहरूको सिकाइ उपलब्धिको बीचमा तुलना गर्दा जिल्ला अनुसार सिकाइ उपलब्धिमा भिन्नता रहेको प्रतिवेदनमा औंल्याइएको छ। परीक्षणमा सहभागी जिल्लाहरूमध्ये भोजपुर र महोत्तरी जिल्लाको उपलब्धि सबैभन्दा न्यून, चितवन र ललितपुर जिल्लाको उपलब्धि सबैभन्दा उच्च रहेको छ।

सुभद्रा धितालले नागरिकमा खबर लेखेकी छन् ।

Comments: