२०७७ जेष्ठ १३ गते

कृष्ण किन भगवान् ? भाग-२

विपुल सिजापति

सर्वप्रथम यो लेख उनै योगेश्वरलाई समर्पण, जसको प्रतापले उनको बारेमा जान्ने र लेख्ने इच्छा जन्मियो । त्यसपछि मेरा समस्त ज्ञात/अज्ञात गुरुहरुलाई समर्पण, जसका दीक्षाले यति लेख्न समर्थ भएँ । यो लेख सनातन धर्मको निन्दा गर्न नभएर विभिन्न स्रोतहरूको अध्ययनमननपश्चात् तथ्यगत रूपमा विश्लेषण गर्ने प्रयत्नको रूपमा लिइदिनुहुन सादर अनुरोध गर्दछु ।

 

श्रीकृष्ण सोह्र कलाका ज्ञाता
वेद तथा उपनिषदका अनुसार १६ कलायुक्त व्यक्ति ईश्वरतुल्य हुन्छ । भगवान् रामको बारेमा भन्दा उनी बाह्रकलाका ज्ञाता मात्र थिए तर भगवान् श्रीकृष्ण सोह्र कलाकै ज्ञाता थिए । औँशिदेखि पुर्णेसम्म चन्द्रमाको १६वाट स्वरूप या अवस्था अमृत, मनदा, पुष्पा, पुष्टि, तुष्टि, ध्रुति, शाशनी, चन्द्रिका, कान्ति, ज्योत्सना, श्री, प्रीती, अंगदा, पूर्ण  पूर्णामृत (पुर्णिमा) मा प्रकट हुन्छ या  देखिन्छ । यसैलाई चन्द्रमाको सोह्रकला भनिन्छ । यसै गरेर मानिसको मनमा विद्यमान प्रकाशलाई चन्द्रमा समान मानिएको छ, जसको अवस्था घटने बढने भइरहन्छ । मानिसको प्रत्यक्ष गोचर हुने अवस्थाहरु जाग्रत, स्वप्न या सुषुप्ति गरी तीन प्रकारका छन् । यिनै तीन अवस्था मात्र मानिसलाई बोध हुन्छ ।

यस बाहेकका अवस्थाहरुको मानिसलाई बोध हुनको लागि ध्यान या योगको आश्रय लिनु जरुरी भए पनि प्रतेक मानिसमा यी १६ कलाहरु सुप्त आवस्थामा रहन्छन् । बोध प्राप्त योगीको भिन्नभिन्न १६ अवस्थालाई नै यहाँ सोह्रकला भनिएको हो । औँशिलाई अज्ञानको प्रतीक मानेर पूर्णिमालाई पूर्णज्ञानको आधारमा हेर्ने हो भने यहाँ प्रकाशको १५ अवस्था र औँशीको एक अवस्था गरेर १६ अवस्थाको बोध हुन्छ । जो व्यक्ति मन र मस्तिष्कबाट अलग भएर बोध गर्ने शक्ति राख्दछ उसैले सोह्र कलामा ज्ञान हासिल गर्न सक्दछ ।  भगवान् कृष्ण यी सौह्रै कलाका ज्ञाता थिए । विभिन्न शास्त्रले यी सोह्र कलालाई विभिन्न नाम दिएका छन् यिनमा प्रमुख केही नामहरू इस प्रकार रहेका छन् ।

अन्नमया, प्राणमया, मनोमया, बिज्ञानमया, आनन्दमया, अतिशयिनी, बिपरिनाभिमी, संक्रमिणी, प्रभावी, कुंथिनी, बिकासिनी, मर्या्दिनी, सन्हालादिनी, अह्लादिनी, परिपूर्ण, स्वरुपवस्तित

श्री, भू, कीर्ति, इला, लीला, कान्ति, बिद्या, विमला, उत्कर्शिनी, ज्ञान, क्रिया, योग, प्रहवि, सत्य, इसना, अनुग्रह
प्राण, श्रधा, आकाश, वायु, तेज, जल, पृथ्वी, इन्दिय, मन, अन्न, वीर्य, तप, मन्त्र, कर्म, लोक, नाम

माथि दिइएका सोह्र कलाको नामहरुलाई अध्ययन गर्दा यी सबै हाम्रो मन र मस्तिष्कका अवस्थाहरु ज्स्तै विक्षित, क्षित, कुमति, सुमति, मुर्छित जाग्रत,मूढ, चैतन्य आदि अवस्थाहरु भन्दा पृथक् अवस्थाहरु हुन । मन र मस्तिष्कबाट अलग रहेर यिनै अवस्थाहरुको पूर्ण बोध गर्नु नै सोह्रकला युक्त हुनु हो ।

१. बुद्धि निश्चयात्मक हुन्छ
२. अनेक जन्मका बारेमा ज्ञात हुन्छ ।
३. चिततवृत्ति नष्ट हुन्छ
४. अहङ्कार नष्ट हुन्छ
५. संकल्प विकल्प नष्ट भएर स्वस्वरुपको बोध हुन्छ ।
६. आकाशतत्वमा पूर्ण नियन्त्रण भएर वाक्य सिद्धि हुन्छ
७. वायुतत्वमा पूर्ण नियन्त्रण भएर स्पर्श मात्रले रोगमुक्त गर्न सक्छन्
८. अग्नितत्वमा पूर्ण नियन्त्रण भएर दृष्टि मात्रले कल्याण गर्ने शक्ति उत्पन्न हुन्छ ।
९. जलतत्वमा पूर्ण नियन्त्रण भएर जल बाधा नष्ट हुन्छ ।
१०. पृथ्वीतत्वमा पूर्ण नियन्त्रण भएर भोक, प्यास निन्दाहिन भएर देहबाट सुगन्ध प्रष्फुटित हुन्छ ।
११. जन्म, मृत्यु र स्थिति अधिनस्थ हुन्छन्
१२. भूत, वर्तमान र भविष्य द्रष्टा भएर सबैमा नियन्त्रण प्रतिस्थापन भएर जड चेतन इच्छानुकुल कार्य गर्छन्
१३. समयमा नियन्त्रण भएर देह वृद्धि इच्छानुसार हुन्छ
१४. सर्वव्यापी भएर भएर एक साथ अनेक रूपमा प्रकट हुन सक्छन् ।
१५. कारणको पनि कारण हुन्छन् । यसलाई अव्यक्त भनिन्छ ।
१६. स्वइच्छाले अवतार (जन्म) लिन सक्छन् । यसलाई उत्तरायण कला पनि भनिन्छ ।

माथि उल्लेख गरिएका कलाहरुलाई ध्यान दिएर अध्ययन गर्ने हो भने योगेश्वर श्रीकृष्णले कतिपय अवस्थामा यस कलाको प्रयोग गरेको दृष्टान्त पाउन सकिन्छ । उदाहरणका लागि, अश्वत्थामालाई श्राप दिनसक्ने आधार वाक्य सिद्धि हो । समयमा नियन्त्रण गर्न सक्ने कला भएकोले नै मध्य लडाइँमा समय रोकेर अर्जुनलाई गीता ज्ञान दिन सके । युद्ध मैदानमा विराट रूपको दर्शन दुर्वासाको क्रोधबाट बचाउन भाँडोमा उब्रेको एक सिता भात खान प्रकट हुनु र दौपदीको चीरहरणमा उनको रक्षा गर्नु सर्वव्यापि हुन सक्ने कलामा पारंगत भएर नै हो । सोह्र कलायुक्त व्यक्तिलाई निर्गुण सगुण स्थितिको सुस्पष्ट बोध हुनेभएकोले व्यक्त अव्यक्त सबै कलामा पारंगत हुन्छन् । भगवान् श्रीकृष्ण  यी सबै सोह्रकला युक्त व्यक्ति भएकाले नै वहाँमा दिव्यता थियो । चमत्कारका र मायाका कथाहरू भन्दा पनि योगव्दारा प्राप्त सिद्धि र यस सिद्धि भन्दा पनि पर जगत (ब्रह्माण्डा) को ज्ञान को चर्चा उनले गीतामा गरेका छन् ।

श्रीकृष्ण कुशल सञ्चालक
योगेश्वर कृष्णले अनेक योग मध्ये कर्मयोगलाई विशेष महत्व दिएका छन् । कर्मण्योवाधिकारस्यः सबैलाई ज्ञात विषय हो र यसमा धेरै लेख्नु जरुरी पनि छैन । तर यहाँ लुप्त रहेको ज्ञानको कुरा गर्न चाहन्छु । जीवले बाचुन्जेल कर्म गरिरहन्छ । खानु कर्म नखानु पनि कर्म, हेर्नु कर्म नहेर्नु पनि कर्म । अर्थात् शरीरमा निहित आदिम परमशक्तिपुञ्जको त्यो सानोे अंश जसले श्रृष्टि र विनासको निरन्तरता चलाई रहन्छ र शरीरलाई पनि श्रृष्टि र बिनास गराइरहन्छ । श्रृष्टिको न आदि छ न अन्त्य, यो प्रक्रिया निरन्तर चलिरहन्छ ।

एक सृष्टिको अन्त्य भएपछि अर्को श्रृष्टि हुन्छ तर श्रृष्टिको अन्त्य गर्ने र पुनः श्रृष्टि गर्ने जुन परमशक्ति छ त्यो नै ईश्वर हो । यही शक्तिको सानो अंशको कारणले हाम्रो शरीरको पनि निर्माण हुन्छ र नाश पनि हुन्छ, यो प्रक्रिया चलिरहन्छ तर शरीरको अन्त्य हुँदैमा यसमा निहित शक्तिको नाश हुँदैन, यसैलाई (आत्मा या ईश्वर) भनेर बुझेको छु मैले । यही शक्ति शरीरमा रहेसम्म मानिसले कर्म गरिरहन्छ र यी यावत कर्मको फल निश्चित रूपमा हुन्छ । कुनै फल सादृष्य हुन्छन् कुनै अदृष्य, कुनै तत्काल त कुनै कालान्तरमा, तर फल बिनाको कुनै कर्म छ भनेर मान्नु मूर्खता मात्र हो । धूम्रपान एक कर्म हो जसको फल तत्काल हुन पनि सक्छ र कालान्तरमा देखिन पनि सक्छ तर यो कर्म फलविनाको छैन । त्यस्तै नित्य व्यायामको फल पनि दीघकालिन रूपमा नै देखा पर्छ । शरीर स्वस्थ रहनु, रोग नलाग्नु र ओषधोपचारमा धनको व्यय नहुनु यसका फल हुन् ।   

श्रीकृष्णले जरासन्धको बध आफैले नगरी भीमव्दारा गराए । यसको पछाडि पनि कारण छ  । कुनै पनि कार्यको सफलता उक्त कार्य गर्ने उचित पात्र, पात्रमा निहित ज्ञान, कुशलता र विवेकमा भर पर्दछ । जरासन्धको बध गर्ने उपयुक्त पात्र भीम भएकाले नै श्रीकृष्णले यो कार्य भीमव्दारा गराए । सही पात्रको चयन गर्नसक्नु र उक्त पात्रबाट कार्य सफल गराउनु  बुद्धिमत्ता हो ।

शिशुपाल वधलाई पारिवारिक प्रेम, सामाजिक मान्यताको कदर, बचनबद्धता तथा सहनशक्तिको नमुना मान्न सकिन्छ । कंश वधपछि सिंहासन कंशका बाबु उग्रसेनलाई नै सुम्पनुले पनि कृष्णको गणराज्यप्रतिको सन्मानलाई दर्शाउँछ । कृष्णले चाहेको भए महाभारत युद्ध रोक्न सक्थे तर त्यो युगको माग थियो र श्रृष्टि र बिनाशको प्राकृतिक निरन्तरतामा उनले हस्तक्षेप गरेनन् ।

भनिन्छ, पाण्डुले मरेपछि आफ्ना छोराहरुलाई आफ्नो शरीर खान आदोश दिएका थिए । शहदेवले पाण्डुको तीनभाग मस्तिष्क खाएकाले उनी भूत भविष्य र वर्तमान् द्रष्टा थिए । उनलाई महाभारतको युद्ध र परिणामको ज्ञान थियो । यसैले कृष्णले यस ज्ञानको प्रयोग गरेमा मृत्यु हुने श्राप दिएका थिए । अर्थात् शहदेवलाई पनि प्रकृतिको नियम विरुद्धमा जानबाट रोकेका थिए ।

अर्जुनलाई गीता उपदेश दिएर कर्मको लागि प्रेरित गर्दै युद्धको लागि तयार पार्नुले पनि उनले प्रकृतिको नियमलाई सुचारु राख्न प्रयत्न गरेको देखिन्छ ।
दुर्योधनको आतिथ्य अस्वीकार गरेर दासीपुत्र विदुरको घरमा गएर खानुले कृष्ण उदार, प्रेमी र बिद्वानको कदर गर्ने र वर्णव्यबस्थाका विरोधी थिए भन्ने कुरा प्रस्ट हुन्छ । महाभारतको युद्धमा हतियार नउठाइकन इच्छित परिणम हासिल गर्नुले उनी कुशल सञ्चालक, रणनीतिज्ञ, बुद्धिमान, चतुर र गुरुत्वपूर्ण भएको देखिन्छ ।       

राधाकृष्ण सम्बन्ध र रासलीला
महान् व्यक्तिहरूको चरित्र या महिमा वर्णन गर्दा भक्त या प्रशंसकले फूलबुट्टा भरेर पनि भन्ने गर्दछन् । यसरी भनिने कथा र तथ्य बिच आकाश जमिनको भिन्नता हुन्छ । उदाहरणका लागि हामीले सुनेका थियौ, महाकवि देवकोट पैसा बाँडदै हिन्थे, लगाएको कोट फुकालेर अरूलाई दिन्थे । तर यो तथ्य होइन् । यसै गरेर पुराणमा वर्णित भगवान् कृष्णका कतिपय लिलाहरु अतिशयोक्तिपूर्ण तरिकाले वर्णन गरिएको छन् । कतिपय स्थानमा त उनले गरेका कार्यको वर्णन पढ्दा जिब्रो टोक्नुपर्ने अवस्था पनि आउँछ । ऋषिहरुले यसरी लेख्दा जोसमा होस् नपुर्याएको होयन् कि ती लेखनले कस्तो असर पर्छ र के अर्थ लाग्छ भनेर सोच्न समेत नसकेको  प्रतित हुन्छ ।

समय बित्दै जाँदा नयाँनयाँ तरिकाले अर्थ लगाउँदै र रोचक बनाउन अनेकन कथा थप्दै जाने प्रचलन पुराणहरुमा देखिन्छ । दुर्भाग्य के भने एक महर्षिले लेखेको कुरालाई अर्को महर्षिले जुठो भन्दैनन्, काट्दैनन, बरु प्रमाणित गर्न अर्को कथा जोडिदिन्छन् । चर्वाहकले मात्र आफ्नो धारणालाई अन्य महर्षि इतर भएर लेखे तर उनको दर्शनलाई अबैदिक भनेर निन्दा गरियो र एक्ला बृहस्पति बनाइए । मेरो नम्र निवेदन के भने तथ्यमा आधारित भएर अध्ययन गर्ने बिद्वान पाठकहरुले यस्ता कथामा अल्झेर बस्नु सुहाउँदैन । राधाकृष्ण प्रेम पनि सुन्दर तर अतिरञ्जित  तथ्यहिन कथा हो ।

राधा कृष्ण प्रेमको जति चर्चा छ यसमा सत्यता त्यति नै कम छ । यसका केही आधारहरुका बारेमा चर्चा गरौँ । वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत राधा उल्लेख या राधाकृष्ण सम्बन्धको बारेमा कतै पनि चर्चा गरिएको छैन । राधाकृष्ण प्रेमको सुरुवात् र अतिशयोक्तिपूर्ण वर्णन मध्यकाल या भक्तिकालबाट सुरु भएको देखिन्छ । निम्बार्क, बल्लभ र राधाबल्लभ संम्प्रदायले यसको सुरुवात गरे निम्बार्कको जन्म १२५० ई.मा भएको हुँदा कृष्णको साथमा राधा भक्ति पनि १२५० ई पछि मात्र सुरु भएको हुँदा यो सम्बन्ध पछि गाँसिएको हो ।

पद्मपुराणअनुसार राधा वैश्य बृषभानु राजाका भूमि पुत्रि थिइन् र उनको विवाह रापाण, रायाण या अयनघोष नाम भएको व्यक्तिसँग भएको थियो । वेदले स्विकारेको श्रीकृष्ण चरित्रसँग विवाहित परस्त्री राधासँगको सम्बन्ध अवैध, अनुचित र निन्दनिय कार्य हुने भएकोले यसलाई सत्य मान्न सकिँदैन र यो तथ्यहिन छ । योगेश्वरकृष्णले जीवनमा आठ जनासँग विवाह गरेता पनि राधासँग कृष्णको विवाह भएको कुरा वेद, उपनिषद या भागवत मा पनि उल्लेख भएको छैन । यसपछि कतै उल्लेख भएको भए त्यो कपोलकल्पित तथ्यहिन कथा मात्र हो ।

अर्को कुरा कृष्ण नन्दगाउँमा रहन्थे भने राधा बरसाने भन्ने स्थानमा । यी दुई गाउँ बिच ४३(४५ किलोमिटरको अन्तर छ भने यातायातको साधन नभएको अवस्थामा यो दूरी झण्डै तीन दिनको बाटोमा पर्छ । कहिले र कतिबेला मिलन र प्रेम भयो भन्ने कुरा वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत कतै उल्लेख गरिएको छैन ।

राधाकृष्ण प्रेमको जति चर्चा छ यसमा सत्यता त्यति नै कम छ । यसका केही आधारहरुका बारेमा चर्चा गरौँ । वेद, उपनिषद, महाभारत र भागवत पुराणमा समेत राधा उल्लेख या राधाकृष्ण सम्बन्धको बारेमा कतै पनि चर्चा गरिएको छैन । राधाकृष्ण प्रेमको सुरुवात् र अतिशयोक्तिपूर्ण वर्णन मध्यकाल या भक्तिकालबाट सुरु भएको देखिन्छ । निम्बार्क, बल्लभ र राधाबल्लभ संम्प्रदायले यसको सुरुवात गरे निम्बार्कको जन्म १२५० ई.मा भएको हुँदा कृष्णको साथमा राधा भक्ति पनि १२५० ई पछि मात्र सुरु भएको हुँदा यो सम्बन्ध पछि गाँसिएको हो ।

रासलीला
रासको बारेमा भन्नु पर्दा त्यस बेलाको प्रचलन अनुसार कंश बध पश्चात् कंशको कैदबाट मुक्त भएका सोह्रसय गोपिनीहरुको स्वामि या मालिक मुक्तिदाता श्रीकृष्ण नै भए । सर्वज्ञ श्रीकृष्णले आफ्ना पत्नीहरु हुँदाहुँदै सोह्रसय गोपिनीहरुसँग रासलिला गरे (जसलाई विकृत रूपमा सम्भोग समेत भनिएको छ) भनेर पत्याउने अवस्था छैन । हौ स्वामी भएको अर्थमा तिनलाई आफू दास भएको जस्तो हिनता बोध हुन नदिन सामूहिक मनोरञ्जन गरे होलान् । तर वर्णित पूर्णिमाको रातमा जङ्गलमा गएर रासलिला गरे भनेर पत्याउनु आफ्नै विवेकलाई ठग्ने कार्य मात्र हो । उनले त्यस्तो गरेको भए के उनका आठ पत्निहरुले छोडथे होलान् र ? उसैत नारीमा ईष्र्या जन्मजात हुन्छ, त्यसमाथि नारीले सबै बाँड्न सक्छन् पति बाँडन सक्दैनन्, यो धु्रवसत्य हो । तसर्थ रासलिलाको बारेमा जसले जतिसुकै व्याख्या गरेपनि त्यसलाई मेरो विवेकले तथ्यहिन ठान्दछ । यसै गरेर आराधीका र प्रेमीका बीचमा पनि निक्कै फरक छ । कृष्ण जस्तो व्यक्तित्व जसलाई आज समेत हामी ईश्वरसम मान्दछौँ भने त्यो वेलामा उनको व्यक्तित्वको आराधना नगर्ने को होला र । व्याहता स्त्री जो पतिव्रत धर्ममा अडिग हुन्छे त्यसलाई पनि कृष्णको प्रेमिका भनेर हावा खुस्केका लण्ठुपण्डितहरु उल्लेख गर्दैमा विवेकले पत्याउँन दिँदैन ।

योगेश्वर कृष्णको मृत्यु
प्रकृतिभन्दा बलबान कोही छैन । योगेश्वर कृष्णले पनि प्रकृति विरुद्ध कुनै कार्य गरेनन् भने अन्त्यकालमा पनि प्रकृतिको निर्णयलाई स्विकारे । श्रृष्टि विनाशको चक्रलाई नरोकि उनले यादव वंशको संहार पनि हेरे । नारद कृष्ण सम्बादमा उनको अन्तिम अवस्थालाई केही झल्काईएको छ । नारदजी म आफ्नो प्रभुता देखाएर आफ्ना जातभाइ र कुटुम्बमाथि राजगर्न चाहन्न । दाइ बलराम बलको घमण्ड गर्छन्, भाइ गद सुकुमार भएकोले आलसि छ, छोरा प्रद्युम्न रूप सौन्दर्यको अभिमानी छ । यिनैका कारणले म असहाय छु । कुटुम्बहरुको तीतो कुरा सुनेर पनि क्षमा गर्न बाध्य छु । उग्रसेन र उनका छोरा अक्रुरमा राज्यसत्ता गएकोले सायद यादवहरु कृष्णसँग रुष्ट थिए ।

यसैको परिणाम थियो यादव कुलको महाविनाश । यादव कूलसंहारपछि दुखी बलराम समुन्द्रतिर गए र उतै बिलाए । कृष्णले बिधवाहरुलाई अर्जुनको जिम्मा लगाए, तर एक त प्रकृतिको अर्जुनमा पनि लागु भयो भने अर्को अर्जुनको शक्ति र कारक कृष्ण नै भएकोले कृष्णको अनुपस्थितिमा शक्तिहिन अर्जुनको आँखै अगाडिबाट आभिरहरुले केही स्त्रीहरुको हरण गरेर लगे । सर्वकला र सिद्धि सम्पन्न श्रकिृष्ण पनि आखिर मानव नै थिए र बृद्धावस्थामा शोकमग्न भएर उनी जङ्गलमा गए जहाँ जरा नामक व्याधाको तीरबाट उनको मृत्यु भयो ।

अन्त्यमा भन्नुपर्दा प्राप्त तथ्यहरुले योगेश्वर कृष्ण एक पूर्ण पुरुष थिए, सम्पूर्ण वेदको सार र मानवकर्मका व्याख्याता योगेश्वर श्रीकृष्ण दृश्यजगतका ईश्वर हुन् । उनको अस्तित्वलाई महापण्डित देवकोटाले पनि स्विकारेका थिए, “आखिर श्रीकृष्ण रहेछ एक, न भक्ति भो भाव न भो विवेक“ भन्दै । श्रीकृष्णलाई पूजा गर्नुभन्दा पनि उनले देखाएका मार्गमा जीवन डोर्याउनु नै हरेक मानवको लागि कल्याणकारी हुनेछ ।

कृष्णं वन्दे जगद्गुरुम् !
अस्तु ।

 

खरीबोट डटकमबाट साभार

 

यो पनि पढ्नुहोस्

कृष्ण किन भगवान् ? भाग-१

Comments: