२०७७ जेष्ठ १८ गते

बालबालिकाका लागि खेली–खेली पढ्ने पुस्तकालय

अन्तैबाट

काभ्रे  । काभ्रेको पनौतीस्थित सामुदायिक ज्ञान विकास पुस्तकालय एवं सिकाइ केन्द्रले बालबालिकालाई सानै उमेरदेखि नै अध्ययनमा रुचि जगाउने वातावरण सिर्जना गर्ने उद्देश्यले खेली–खेली पढ्ने वातावरण सिर्जना गरेको छ । केन्द्रले साना विद्यार्थीका लागि खेल्ने ठाउँसहितको पढ्ने कोठाको व्यवस्थासमेत गरेको छ ।

अध्ययनमा बालबालिकाको रुचि घट्दै गएकाले खेली–खेली पढ्ने वातावरण तयार गरेको पुस्तकालयका सहायक लाइब्रेरियन सत्यनारायण नापितले जानकारी दिए ।

अचेलका बालबालिका पढ्नभन्दा मोबाइल, टीभी, ट्याब लगायतका ग्याजेटमा बढी आकर्षित भएको धारणा राख्दै उहाँले उनीहरूमा अध्ययनभन्दा चलायमान चित्र हेर्ने, खेल खेल्ने क्रम बढेको बताए ।


बालबालिकामा पुस्तकप्रति बढेको नैराश्यताका कारण बिहान/बेलुकै अतिरिक्त कक्षामा बसाएर वा पाठ्यक्रम रटाएर परीक्षामा नम्बर धेरै ल्याउने बनाउन शिक्षक र अभिभावक दुवैले अतिरिक्त मेहनत गर्नुपरेको छ । विसं २०१२ मा स्थानीय भीमबहादुर प्रधान र न्हुच्छेदास कर्माचार्यको संयुक्त प्रयासमा स्थापना भएको पुस्तकालयको नयाँ संरचनाको निर्माणपछि बालबालिका छुट्टीका दिन त्यहाँ पुग्ने गरेका छन् ।ु

नापितका अनुसार पुस्तकालय वरपरका स्कुलका विद्यार्थी भने खाजा खाने समयको छुट्टीमा समेत त्यहीँ गएर खेल्दै, पढ्दै समयको सदुपयोग गर्छन् भने टाढा–टाढाका विद्यार्थीलाई स्कुलले पुस्तकालय भ्रमणमा ल्याउने गरेको छ । अभिभावक पनि स्कुल बिदा भएको बेला बालबालिका लिएर यहाँ आउने गरेका छन् ।

पनौतीकै सामुदायिक बोर्डिङ स्कुलका ४० जना विद्यार्थीलाई पुस्तकालय भ्रमणका लागि ल्याएका  शिक्षक समीर खड्काले त्यहाँको राम्रो व्यवस्थापन देखेर विद्यार्थी ल्याएको बताए ।  एकपटक आएपछि विद्यार्थीले नै पुस्तकालय भ्रमणमा लैजान अनुरोध गर्ने गरेको अनुभव पनि शिक्षक खड्काले सुनाए ।

पुस्तकालयमै भेटिएकी कक्षा ५ मा अध्ययरत श्रद्धा कर्माचार्यले भने, 'यहाँ राखिएका राम्रा–राम्रा पुस्तक पढ्न पाउँदा खुसी लाग्छ, त्यही भएर यहीँ आउन मन लाग्छ ।' संस्थापकद्वय प्रधान र कर्माचार्यले बनाएको कलात्मक घरमा सञ्चालन गरिएको पुस्तकालयलाई व्यवस्थित बनाउन रिड सञ्चार अभियानले आर्थिक सहयोग गरेको नापितले बताए ।

पुस्तकालयको नयाँ भवन बनाउन पुष्पदास कर्माचार्य, मुकुन्ददास कर्माचार्य, मिठुमाया कर्माचार्यले जग्गा प्रदान गर्नुभएको हो । पुराताìिवक महìवलाई ध्यानमा राखी इँटा, काठ र चुनासुर्की प्रयोग गरी भवन निर्माण गरिएको छ ।

एक सयमा एक सातापुस्तक घरमै लगेर वा त्यहीँको शान्त र सफा वातावरणमा पनि बसेर पढ्न पाइने व्यवस्था पुस्तकालयले मिलाएको छ । हाल सो पुस्तकालयको आजीवन सदस्य ८४ जना छन् भने सदस्य सङ्ख्या नौ सयभन्दा बढी छन् ।

विसं २०७१ मा निर्माण भएको पुस्तकालयको नयाँ भवनमा श्रव्यदृश्यका सामग्रीसमेत राखिएका छन् । बालकक्ष र ठूलाका लागि गरी हाल पुस्तकालयमा विविध प्रकारका १३ हजार पुस्तक छन् । राम्रो व्यवस्थापन गरेको भन्दै शिक्षा मन्त्रालयले पुस्तकालयलाई सम्मानसमेत गरेको छ ।

शिवा तामाङले गोरखापत्रमा लेखेको खबर

Comments: