२०७६ मंसिर २३ गते

अभिभावकहरुको अब एउटै महासंघ

ईपाटी संवाददाता


काठमाडौं । नेपाल अभिभावक संघ र राष्ट्रिय अभिभावक संघ एकिकृत भई नेपाल अभिभावक महासंघ गठन भएको छ । नयाँ बनेको महासंघमा ३६ सदस्यीय तदर्थ समिति र १० सदस्यीय सचिवालय गठन भएको छ ।

सोमबार ललितपुरमा एक कार्यक्रममा गरी दुई अभिभावकका संघ मिलाएर एउटै महासंघ घोषणा गरिएको हो ।


नेपाल अभिभावक संघ २०५१ सालमो र नेपाल राष्ट्रिय अभिभावक संघ २०५९ सालमा स्थापना भएका थिए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले ब्यानर अनावरण अभिभावक महासंघको घोषणा गरेका हुन् ।


मन्त्री पोखरेलले महासंघ घोषणा गर्दै हरेक काममा अभिभावकको महत्वपुर्ण भुमिका रहेको औंल्याउँदै दुई अभिभावकको संस्था एक भएकोमा बधाइ दिए । विद्यार्थीलाई सिक्ने प्रकृयामा सहयोग गर्न अभिभावकको मुख्य भुमिका रहेकोमा मन्त्री पोखरेलको जोड थियो ।


नव घोषित महासंघका संयोजकमा अभिभावक संघका पूर्व अध्यक्ष शुप्रभात भण्डारी र राष्ट्रिय अभिभावक संघका पुर्व अध्यक्ष धर्मदत्त देवकोटा रहेका छन् । महासंघले नियमित कार्यसंचालन गर्न संयोजकद्धय भण्डारी, देवकोटा र निवर्तमान अध्यक्षद्धय केशव पुरी र यादव प्रसाद शर्मा रहनेगरी चार सदस्यीय स्थायी समिति गठन गरेको छ ।


यसैगरी, शिक्षाका विभन्न १० संगठन गाभिएर बनेको महासंघमा १० वटा क्षेत्रमा विभिन्न पदाधिकारीलाई जिम्मेवारी दिइएको छ । जसमा सामुदायिक विद्यालय अभिभावक संघको संयोजकमा रामप्रसाद न्यौपाने र सहसंयोजकमा रघुनाथ महर्जन, संस्थागत विद्यालय अभिभावक संघको संयोजकमा सुभास भण्डारी र सहसंयोजकमा कोषबहादुर जिसी, प्राविधिक शिक्षा अभिभावक संघको संयोजकमा गुणराज गौतम र सहसंयोजकमा सचितानन्द घिमिरे चयन गरिएको छ ।


यस्तै, विश्वविद्यालय अभिभावक संघको संयोजकमा सरिता अर्याल र सहसंयोजकमा गंगा पराजुली, विदेशमा अध्ययनरत विद्यार्थीका अभिभावक संघका संयोजकमा नवराज काफ्ले र सहसंयोजकमा प्रकाश धिताललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै नेपाल वालगृह महासंघको संयोजकमा दुर्गा मैनाली, दुृष्टीविहीन अभिभावक संघका संयोजकमा राजेशमान केसी, अभिभभावक संघ नेपालमा केशव पुरी, राष्ट्रिय अभिभावक संघमा यादवप्रसाद शर्मा लाई जिम्मेवारी दिइएको छ ।

घोषणा सभामा बौल्दै पुर्वमन्त्री गंगालाल तुलाधर, नेपाली काग्रेसका नेता एवं पुर्व मन्त्री भीमसेनदास प्रधान, शिक्षक महासंघका अध्यक्ष वावुराम थापा, प्याब्सनका उपाध्यक्ष टीआर ढकाल, एन प्याब्सनका महासचिव सुभाष न्यौपाने लगायतले शुभकामना दिएका थिए ।

एकता अधिवेशनले महासंघको अन्तरिम विधान २०७५ पारित गरेको छ ।

Comments: