२०७६ मंसिर २१ गते

सामुदायिकमा पढाउने प्रतिबद्धता

अन्तैबाट

लेखनाथ । आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउने प्रतिबद्धता कास्कीको रूपा गाउँपालिकाका जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका पदाधिकारीले गरेका छन्  ।

सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञिक नेतृत्व विकास तालिमको समापनमा उनीहरूले आइतबार १० बुँदे प्रतिबद्धता गरेका हुन् ।


गाउँपालिकाले सामुदायिक विद्यालयमा कार्यरत सम्पूर्ण आफूलाई पायक पर्ने तथा उपयुक्त लागेको सामुदायिक विद्यालयमा आफ्ना सन्तान पढाउने सामूहिक प्रतिबद्धता उनीहरूले गरे । शिक्षक, कर्मचारी तथा सरकारी कर्मचारीका सन्तान समेत सार्वजनिक विद्यालयमा भर्ना गर्ने अभियान चलाउने गाउँपालिकाको योजना छ ।

तालिम समापनमा गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति दीपक कोइरालाले रूपालाई शिक्षामा नमुना बनाउन उक्त प्रतिबद्धताले महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘सिंगो देशलाई यो एउटा महत्वपूर्ण सन्देश हो,’ उनले भने, ‘इमानदार भएर प्रतिबद्धता पूरा गर्नुहुनेछ भन्ने विश्वास छ ।’ गाउँपालिका अध्यक्ष नवराज ओझाले प्रतिबद्धता पालना गरे÷नगरेको अनुगमन गरिने बताए । उनले भने, ‘आगामी कार्यपालिका बैठकमा प्रतिबद्धता पालना नगर्नेहरूको सेवा सुविधा कटौती गर्ने प्रस्ताव लैजा“दै छौं ।’

वडा नम्बर ५ का अध्यक्ष टेकबहादुर गुरुङले गाउँपालिकाले शिक्षामा फडो मारेकोले सहर झर्नुपर्ने बाध्यता अन्त्य भइसकेको जनाए । विश्वशान्ति मावि देउरालीका व्यवस्थापन समिति अध्यक्ष दामोदर घिमिरेले उक्त निर्णयले उत्साहित बनाएको अनुभव सुनाए । रूपज्योति माविका प्रधानाध्यापक मणिराम कँडेलले सामुदायिक विद्यालयमा दरबन्दी रिक्त हुने अवस्थाको अन्त्य गर्नुपर्ने सुझाव दिए ।

हरेक शिक्षकले आफूलाई समयसापेक्ष परिमार्जित गर्दै सूचना प्रविधिको सक्दो प्रयोग गरी बालमैत्री कक्षा सञ्चालन गर्ने, विद्यालयको सुधारका लागि गाउँपालिकाले प्रधानाध्यापकस“ग र प्रधानाध्यापकले शिक्षकसँग विद्यालय विकास प्रस्तावसहितको करारनामा गर्नेलगायत प्रतिबद्धता गरेका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार गाउँपालिकामा १० माध्यमिकसहित ३४ विद्यालय छन् । रूपा आधारभूत शिक्षा सुनिश्चित गाउँपालिका घोषणा भइसकेको छ । ३४ वटै विद्यालयमा ५ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । गाउँपालिकाले प्रत्येक विद्यार्थीलाई अंग्रेजी माध्यमको एक÷एक सेट किताब निःशुल्क उपलब्ध गराएको छ ।

अंग्रेजी किताबका लेखकलाई गाउ“पालिकामा बोलाएर शिक्ष्ँकलाई तालिम पनि प्रदान गरेको छ । वर्षमा तीनपल्ट त्यस्तो तालिम हुन्छ ।

गाउँपालिकाले १० वटै माविमा शिक्षक र कर्मचारीलाई विद्युतीय हाजिरीको व्यवस्था गरेको छ । क्रमिक रूपमा सबै विद्यालयमा विद्युतीय हाजिरी पुर्‌याउने गाउँपालिकाको लक्ष्य छ । सामुदायिक विद्यालयमा निजी स्रोतका शिक्षक तथा कर्मचारीलाई गाउँपालिकाले वार्षिक रूपमा एक सेट ड्रेस निःशुल्क उपलब्ध गराएको छ ।

पाठ्य योजनासहितको शिक्षक डायरी गाउँपालिकाले तयार गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा एउटै पाठ्यक्रम र कार्यक्रमसहितको शैक्षिक क्यालेन्डर लागू भएको छ । गाउँपालिकाकै सहयोगमा प्रत्येक विद्यालयका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण हुँदै आएको छ । शिक्षिकालाई समेत सेनिटरी प्याड निःशुल्क वितरण हुन्छ ।

गाउँपालिकाका १० वटै माविमा दुई/दुई किलोवाट क्षमताको सोलार पावर जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा प्रत्यकमा ४ लाख ७० हजार रुपैया“ बराबरको सोलार जडान गाउँपालिकाले गरेको हो ।

उक्त सोलारबाट कम्प्युटर, प्रिन्टर चलाउन, बत्ती बाल्न पर्याप्त रहेको गाउँपालिका अध्यक्ष ओझाले बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ छुट्याएको छ । एसईईपछि विद्यार्थीले गाउँ छोड्ने क्रम बढेपछि गाउँपालिकाले प्राविधिक शिक्षा सञ्चालन गरेको छ । जसअन्तर्गत तीन विद्यालयले प्राविधिक शिक्षाको अनुमति लिएर कक्षा सञ्चालन गरिरहेका छन् ।

ती विद्यालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर पढाइ सञ्चालन गरेका हुन् ।


देउरालीको विश्वशान्ति माविमा सिभिल इन्जिनियरिङको तीनवर्षे डिप्लोमा कोर्स पढाइ हुन्छ । सीटीईभीटीको प्रवेश परीक्षामार्फत छनोट भएका २० विद्यार्थीले अध्ययन गरिरहेका छन् । खाल्डेको गाउँपर्क माविमा पशुविज्ञान र रामकोट माविमा बालीविज्ञानको पढाइ भएका छन् । दुवै कोर्स १८ महिने हुन् ।

गाउँपालिका अध्यक्ष नवराज ओझा गाउ“को विकास निर्माणमा आवश्यक प्राविधिक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताउँछन् । ‘पूर्वाधार निर्माण हाम्रो प्राथमिकतामा छ । व्यावसायिक कृषि र पशुपालनको पनि योजना बताएका छौं,’ उनी भन्छन्, ‘त्यसलाई चाहिने दक्ष जनशक्ति गाउँमै उत्पादन गर्ने हाम्रो उद्देश्य हो ।’ गाउँपालिकाका विद्यार्थीले गाउँमै प्राविधिक शिक्षा लिने, रोजगारीको सिर्जना हुने र अन्यत्रका विद्यार्थीको शैक्षिक आकर्षणको केन्द्र पनि बन्ने फाइदा उनी देख्छन् ।

कान्तिपुरमा खबर छ ।

Comments: