काठमाडौं । सरकारले संघीय संरचनासहितको नयाँ राष्ट्रिय पाठ्यक्रम प्रारुप जारी गरेको छ । विद्यालय तहको शिक्षा विद्यार्थी केन्द्रित बनाउन भन्दै प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मै प्रयोगात्मक कार्यको व्यवस्थासहित पाठ्यक्रम प्रारुप तयार पारिएको हो । नयाँ संविधान, शिक्षा ऐनको आठौं संशोधन, संघीय संरचना र कक्षा ११–१२ पनि विद्यालय शिक्षामा समाहित भएपछि नयाँ पाठ्यक्रम जारी गरिएको हो । २०७६ भदौ २० गते स्वीकृत भएसँगै यो कार्यान्वयनमा गएको छ ।

प्रारूपले विद्यालय शिक्षामा नीतिगत तथा संरचनागत नवीन आयाम समावेश गरी कक्षा १ देखि ३ सम्म एकीकृत पाठ्यक्रम तथा कक्षा ९ देखि १२ सम्म एकलपथीय पाठ्यक्रम ढाँचा अवलम्बन गरेको छ ।

प्रारुपमा आधारभूत शिक्षा (कक्षा १–३) मा एकीकृत पाठ्यक्रम हुने जनाइएको छ । सिकाइका क्षेत्रहरू पहिचान गरी विषय र सिकाइका क्षेत्रका आधारमा बहुविषयात्मक तथा अन्तरविषयगत ढाँचामा पाठ्यक्रम आधारित गरिने छ । यसअनुसार एकीकृत विषयक्षेत्रहरूले समेट्न नसकेका सिकाइ उपलब्धिहरूलाई समेट्ने गरी विषयगत सिकाइ क्षेत्रहरूसमेत रहन सक्ने छन् । भाषागत विषयसँग सम्बन्धित विषयक्षेत्रहरू पठनपाठन सम्बन्धित भाषामा नै गर्नुपर्ने छ । यस्तो पाठ्यक्रम म क्रियाकलापमुखी हुने छ । यसले विद्यार्थीहरूमा विषयवस्तुको ज्ञानका साथै विभिन्न किसिमका सिपको विकासमा जोड दिने छ । यस तहमा बालबालिकाहरूले आफ्नो  मातृभाषामा सिक्ने अवसर प्राप्त गर्ने छन् । आधारभूत तह (कक्षा १–३) मा विद्यार्थीहरूलाई भाषा, गणित, विज्ञान, स्वास्थ्य र शारीरिक शिक्षा, सामाजिक अध्ययन, सिर्जनात्मक कला, मातृभाषा तथा स्थानीय विषयका सिकाइ क्षेत्रहरू प्रदान गरिने छ । कक्षा १ देखि ३ को पाठ्यक्रम संरचनाअनुसार वार्षिक २६ पाठ्यघण्टाको  ८ सय ३२ कार्यघण्टा पठनपाठन हुनेछ  । अहिलेसम्म विद्यालयहरूमा ३५ देखि ४५ मिनेटसम्मको पिरियड हुँदै आएको छ ।

२०७६ माघ १२ गते १३:५०मा प्रकाशित

प्रतिकृया दिनुहोस्