२०७६ मंसिर ४ गते

७५ प्रतिशत शिक्षकले लाइसेन्सको परीक्षा बहिस्कार गरेको हिस्टुनको दाबी

इपाटी संवाददाता


काठमाडौं । माध्यमिक विद्यालय शिक्षक युनियन हिस्टुनले देशभर ७५ प्रतिशत शिक्षकहरुले लाइसेन्सको परीक्षा बहिस्कार गरेको दाबी गरेको छ । । यस्तै,  लाईसेन्स परीक्षा वहिष्कार गर्न उत्रिएका २ शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।


हिस्टुनका अध्यक्ष पुष्प न्यौपानेका अनुसार  केन्द्रिय उपाध्यक्ष विष्णु दौल्याल र सचिव वेदप्रसाद जोशीलाई प्रहरीले कैलालीबाट पक्रेको हो ।  परीक्षा वहिष्कारको आह्वान गर्दै हिँडेका बेला शिक्षकहरु पक्राउ परेका न्यौपानेले जानकारी दिए ।


हिस्टुनले शिक्षक लाइसेन्स परीक्षा बहिस्कार गर्न भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । आयोगले खोलेको विज्ञापन नम्बर ३५ ले आफुहरुलाई नसमेट्ने भन्दै यूनियनका तर्फबाट शिक्षकहरुले अदालतमा रिट दायर गरेका थिए ।


सर्वोच्च अदालतले परीक्षाको मुखमै अन्तरिम आदेश जारी गर्नुनपर्ने फैसला गरेपछि हिस्टुनले परीक्षा बहिस्कार गर्ने निर्णय गरेको थियो ।  केन्द्रको निर्णय बमोजिम शिक्षकहरुले देशभर पम्प्लेट टाँस्ने, बहिस्कार गराउने काम गरेका थिए ।


उक्त विज्ञापन अन्तर्गत रहेका ६ हजार २ सय जना शिक्षक मध्ये प्रारम्भिक तथ्याङ्क अनुसार ७५ प्रतिशतले परीक्षा वहिष्कार गरेको हिस्ट’नका अध्यक्ष न्यौपानेले जानकारी दिए ।


न्यौपानेका अनुसार कतिपय जिल्लामा त शतप्रतिशत शिक्षकबाट परक्षिा बहिष्कार गरिएको छ । सबै भन्दा धेरै परीक्षामा सामेल भएको काठमाडौं उपत्यकामा पनि ६० प्रतिशतले बहिष्कार गरेका उनले स्पष्ट पारेका छन् ।  परीक्षा शुक्रबार विहान ८ बजेबाट शुरु भएको थियो ।

Comments: