२०७७ जेष्ठ २१ गते

कर्णाली नदीको जोखिम मोलेर स्कुल यात्रा

अन्तैबाट

सुर्खेत । कैलालीको मोहन्याल गाउँपालिका–३ रांगाका जगत भुल सुर्खेतको चौकुने गाउँपालिकास्थित जगन्नाथ माविमा कक्षा १० मा पढ्छन्। कैलालीबाट कर्णालीको जोखिमपूर्ण यात्रा गरेर सुर्खेतमा पढ्न आउनु उनको रहर होइन, बाध्यता हो। गाउँमा प्राथमिक विद्यालयमात्र छ।

माथिल्लो कक्षा अध्ययनका लागि दैनिक जोखिमपूर्ण यात्रा गर्नुपर्छ। कैलाली र सुर्खेतलाई छुट्याउने कर्णाली नदीमाथि पुल छैन। ‘वर्षाको भेलमा पनि डुंगा खियाएर विद्यालय आउनुपर्ने बाध्यता छ,’ उनले भने, ‘गाउँमै विद्यालय नहुँदा मजस्ता धेरैले सास्ती खेपिरहेका छन्।’

कर्णाली नदीमा रांगा र बिजौरा जोड्ने पुल नहुँदा यहाँका विद्यार्थी पढ्न जान बिहान ६ बजे नै घरबाट हिँड्छन्। स्कुल पुग्दासम्म बिहानको १० बजिसकेको हुन्छ। साँझ घर फर्कंदा पनि उत्तिकै समय लाग्छ। कैलालीको रांगा गाउँ कर्णाली नदीले घेरेको छ। बर्खायाममा कर्णालीको बहाव बढेसँगै यहाँका विद्यार्थी विद्यालय आउन पाउँदैनन्। ‘कर्णालीमा पानीको बहाव बढेसँगै स्कुल जान पनि पाउँदैनौं,’ विद्यार्थी खगी सलामीले भनिन्, ‘त्यसैले बीचमै धेरैले पढाइ छोड्ने गरेका छन्।’

रांगा गाउँका आधारभूत तहदेखि मावि तहसम्म अध्ययन गर्ने ८० जना विद्यार्थी सुर्खेतको जगन्नाथ माविमा पढ्छन्। ‘हामी सबैको पीडा एउटै हो, लामो यात्रा गरेर विद्यालय आउनुपर्छ, यसले पढाइमा पनि समस्या हुने गरेको छ,’ विद्यार्थी राधिका भुलले भनिन्, ‘हाम्रा अभिभावकले गाउँमै विद्यालय बनाइदिन सरोकारवाला निकायहरूसँग पटकपटक अनुरोध गरे पनि सुनुवाइ नभएकाले दुःख पाएका छौं।’

यहाँका विद्यार्थी वर्षाको समयमा मात्रै होइन, हिउँदमा पनि उस्तै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। जगन्नाथ माविका प्रधानाध्यापक ठम्मर बिसीले कैलालीका विद्यार्थीलाई विद्यालय आउन जोखिम रहेको बताए। ‘कर्णाली नदीमा पुल नहुँदा त्यहाँका विद्यार्थी जोखिमपूर्ण यात्रा गरी अध्ययनका लागि यहाँ आउने गरेका छन्,’ उनले भने, ‘यात्रामै समय लाग्ने गरेकाले यसको असर विद्यार्थीको पढाइमा देखिने गरेको छ।’

कर्णालीमा पुल भइदिएको भए विद्यालय आउन विद्यार्थीलाई बढीमा ३५ मिनेट समय लाग्थ्यो। ‘कैलालीको रांगा गाउँबाट आउने विद्यार्थी धेरै छन्,’ प्रअ बिसीले भने, ‘डुंगामा वारपार गर्न नै समय लाग्ने भएकाले त्यहाँका विद्यार्थी प्रायः ढिलो गरी विद्यालय आइपुग्छन्।’ कैलालीबाट आउने विद्यार्थी विद्यालयले गर्ने अतिरिक्त क्रियाकलापमा पनि सहभागी हुन पाउँदैनन्। ‘घरबाट विद्यालय आउन र विद्यालयबाट घर फर्किनमै विद्यार्थीलाई हतारो र चिन्ता हुन्छ,’ प्रअ बिसीले भने, ‘विद्यालय समयपछि अतिरिक्त क्रियापकलाप हुने भएकाले उनीहरू त्यसमा सहभागी हुन पनि पाउँदैनन्।’

टाढाबाट आउने विद्यार्थीका लागि छात्रावासको आवश्यकता रहेको प्रअ बिसीको भनाइ छ। उनले विद्यालय एक्लैले छात्रावास निर्माण र सञ्चालन गर्न नसक्ने भएकाले स्थानीय र प्रदेश सरकारले यसमा ध्यान दिनुपर्ने बताए। ‘पहिलो कुरा त उनीहरूकै गाउँमा विद्यालय भइदिए यहाँ आउनै पर्दैन,’ उनले भने, ‘छात्रावासको सुविधा भइदिएको भए मात्रै पनि उनीहरूले पढाइलाई निरन्तरता दिन सक्ने थिए।’

छात्रा राधिका भुसालले छात्रावासका लागि विद्यालय प्रशासनसँग माग गरेको बताइन्। ‘हामीले विद्यालयसँग माग गर्ने हो, विद्यालयले माथिल्ला निकायमा पहल गर्नुपर्छ,’ उनले भनिन्, ‘हामीले त दुःख पाइरहेका छौं, अरू विद्यार्थीलाई पनि यस्तै दुःख दिइनुहुन्न।’ गाउँका केहीले कैलालीको लम्की र टीकापुरमा भाडामा कोठा लिएर छोराछोरीलाई पढाइरहेका छन्। ‘दुई पैसा हुनेका छोराछोरी बाहिर पढ्न गएका छन्,’ राधिकाले भने, ‘हामीजस्ता जोखिमपूर्ण यात्रा गरेर अर्को जिल्लामा पढ्न आउँछौं।’

नगेन्द्र उपाध्यायले नागरिकमा खबर लेखेका छन् ।

Comments: