२०७६ असोज ३० गते

पढाइ छाडेर विद्यालयमा मजदुरी

‘गरिब बुबाआमाले पढाउन सक्दैनौं भनेपछ

बाँके । बैजापुरकी लक्ष्मी र स्वस्तिका थारू किताबकापी बोकेर गाउँकै भुवरभवानी माविमा पढ्न जान्थे । साथीभाइसँग पढ्न जाँदा उनीहरूको खुसी बेग्लै हुन्थ्यो । पढेर शिक्षक बन्ने सपना बुन्थे उनीहरू । तर, ती सपना पूरा हुन सकेन । बीचमै भत्कियो । अहिले पनि उनीहरू दैनिक विद्यालय जान्छन्, अरू साथीसँगै कक्षामा बसेर पढ्न होइन । दिनभरि मजदुरी गर्न । सँगै पढेका साथीहरू कक्षाकोठामा कापीकलम समाएका हुन्छन्, ती छात्रा भने गिट्टी, बालुवा ओसार्छन् ।

आर्थिक अवस्था कमजोर भएका उनीहरू मजदुरी गर्न सधैं विद्यालय जान्छन् । विद्यालयका लागि बन्दै गरेको पक्की भवन निर्माणमा दुई किशोरी दैनिक साढे तीन सय रुपैयाँका लागि ज्यालादारी गरिरहेका छन् । ‘बुबाआमा गरिब हुनुहुन्छ । पढाउन सक्दैनौं भनेपछि मजदुरी गर्न थालेकी छु,’ ९ कक्षा पढ्दापढ्दै छाडेर भवन बनाउने ढुंगा, इँटा बोक्दै गरेकी लक्ष्मी भन्छिन्, ‘पढ्ने रहर थियो तर के गर्नु रु परिवारका लागि मजदुरी गर्न बाध्य भएँ ।’ साथीभाइ किताब बोकेर विद्यालय आउँदै गर्दा उनी इँटा, सिमेन्ट बोकिरहेकी हुन्छिन् । उनको मजदुरीमा सँगै पढ्ने साथीहरू पनि ननिको मान्छन् ।

स्वस्तिका त्यही विद्यालयमा कक्षा ७ मा पढथिन् । लक्ष्मीसँगै अहिले उनी पनि आफैं पढेको विद्यालय भवन बनाउने मजदुरी गर्छिन् । परीक्षा फाराम भर्न ७ सय रुपैयाँ नपाएपछि स्कुल जानै छोडेको उनले बताइन् । ‘सरहरूले फाराम भर्न भन्नुभयो । बुबासँग पैसा माग्दा छैन भन्नुभो । परीक्षा नै दिन नपाउने नभएपछि किन पढ्नु भनेर छाडिदिएँ,’ इँटा बोक्दै गरेकी उनले भनिन्, ‘अहिले दैनिक साढे तीन सय रुपैयाँमा रमाइरहेकी छु । अब त पढ्ने आस पनि मरिसक्यो ।’

वार्षिक परीक्षा आउँदै गर्दा भुवरभवानी माविका ५ किशोरीले पढाइ छाडेका छन् । लक्ष्मी र स्वस्तिकाको पढाइ कमजोर आर्थिक अवस्थाका कारणले छुटेको हो । अन्य तीन जनाको भने सानैमा विवाह भएका कारण पढाइबाट वञ्चित भएको विद्यार्थीले बताए । प्रधानाध्यापक इन्द्रबहादुर वलीले बीचैमा विद्यार्थीले पढाइ छोड्नुका कारण खोज्ने बताए । ‘केही छात्राको विवाह हुँदा पढाइ रोकिएको छ । लक्ष्मी र स्वस्तिकाले पढाइ छोडेको कारण बुझ्छु,’ उनले भने, ‘बालविवाह गर्ने परम्पराका कारण धेरैको पढाइ बिग्रिने गरेको छ ।’ बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापाले बालविवाहका कारण थुप्रै विद्यार्थी पढाइबाट वञ्चित भएको बताए । उनले मावि तहसम्म निस्शुल्क पढाइ हुने भएकाले आर्थिक अवस्थाकै कारण पढाइ नछुटाउन अभिभावकसँग आग्रह गरेका छन् । कान्तिपुरमा खवर छ ।

Comments: