२०७६ कार्त्तिक २८ गते

चिकित्सा शिक्षाका विद्यार्थीसँग वार्ता गर्न निर्देशन

ईपाटी संवाददाता

काठमाडौँ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा विद्यार्थीका जायज माग पूरा गर्न सोमबार त्रिभुवन र काठमाडौं विश्वविद्यालयलाई निर्देशन दिएका छन् । त्रिवि र काठमाडौं विश्वविद्यालयका डिन कार्यालयमा तालाबन्दी गरेर विद्यार्थी आन्दोलनमा उत्रिएको भोलिपल्टै उनले यस्तो निर्देशन दिएका हुन् ।


तालाबन्दीको भोलिपल्टै (सोमबार) मन्त्री पोखरेलले पदाधिकारीलाई डाकेर संवादको प्रक्रिया थाल्न आग्रह गरेका हुन्। एमबीबीएस लगायत चिकित्सा शिक्षा सम्बन्धी विषयको प्रवेश परीक्षा प्रभावित हुन नदिन मन्त्रालयले विश्वविद्यालयलाई आन्दोलित विद्यार्थीसँग वार्ता गर्न निर्देशन दिएको उपसचिव पुष्प ढकालले जानकारी दिए। ‘मन्त्रीले विद्यार्थीको पुरा गर्न सकिने जायज मागहरु पुरा गरेर अघि बढ्न दुवै विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिनुभएको छ,’ उनले भने, ‘वार्ता कमिटि गठन गरेर संवाद थाल्न भनिएको छ।’

विद्यार्थीले चिकित्सा शिक्षा ऐनले तोकेबमोजिम एकीकृत प्रवेश परीक्षाबाट भर्ना लिनुपर्ने, पचहत्तर प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने, मेडिकल कलेजले विभिन्न शीर्षकमा असुल्दै आएको मनोमानी शुल्क फिर्ता गर्नुपर्नेलगायत ८ बुदें माग अघि सारेका छन्।

चिकित्सा शिक्षा आयोगले पूर्णता नपाएकाले विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानले छुट्टाछुट्टै तरिकाबाट भर्ना प्रक्रिया अघि बढाएका छन्। ऐनले व्यवस्था गरेको छात्रवृत्तिको व्यवस्थालाई बेवास्ता गरिएको छ। विद्यार्थीले ऐनले सुनिश्चित गरेको व्यवस्था लागू गर्न चरणबद्ध आन्दोलन घोषणा गरेका हुन्।

यसअघि गण्डकी मेडिकल कलेज पोखराका विद्यार्थी अतिरिक्त शुल्क लिइएको भन्दै आन्दोलित बनेका थिए। गत चैत ८ गते शिक्षा मन्त्रालयको पहलमा सरकारले तोकेभन्दा बढी शुल्क फिर्ता गराउने सहमति भएको थियो।

सहमतिको ६ महिनासम्म पनि शुल्क फिर्ता कार्यान्वयन हुन सकेको छैन। त्यसैले विद्यार्थीले शिक्षा मन्त्रालयले गरेको वार्ता पहल आन्दोलन रोक्ने रणनीति हुन सक्ने आशंका गरेका छन्। उनीहरूले शुल्क फिर्ताको सहमति तत्काल कार्यान्वयन गर्नसमेत दबाब दिँदै आएका छन्।

सत्तारूढ दलको विद्यार्थी संगठन अनेरास्ववियूले आन्दोलनरत विद्यार्थी, सरकार र विश्वविद्यालयबीच वार्ता गराउन समन्वय गरिरहेको छ। अनेरास्ववियूका पदाधिकारीसँग चिकित्सा शिक्षा संघर्ष समितिले छलफल गरेको हो।

कान्तिपुरमा खबर छ ।

Comments: