२०७६ चैत्र २० गते

केएमसीले अतिरिक्त शुल्क नलिने

अन्तैबाट

काठमाडौँ  । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) ले चिकित्सा शिक्षा अध्ययरत विद्यार्थीसँग बढी शुल्क नलिने प्रतिबद्धता जनाएको छ । कलेजकी प्रिन्सिपल चन्दा कार्कीले अभिभावकसँग तोकिएको भन्दा बढी कुनै शुल्क लिनुपरे आयोग र विश्वविद्यालयको सहमति लिने बताएकी छन् ।


कलेजले एमबीबीएसमा भर्ना हुन लागेका विद्यार्थी र तिनका अभिभावकसित काउन्सिलिङ गरेको थियो । काउन्सिलिङमा प्रिन्सिपल कार्कीले सरकार र आयोगले भनेभन्दा बढी रकम लिने नियत नरहेको बताइन् ।

यसअघि कलेजले एमबीबीएसमा भर्ना हुन लागेका विद्यार्थीसँग ४ लाख १५ हजारका दरले अतिरिक्त शुल्क मागेको थियो । कबुलियतनामा गराएर इन्टर्नसिप शुल्कबापत २ लाख, धरौटीबापत २ लाख, विश्वविद्यालय दर्ता शुल्कका लागि १५ हजार, नेपाल मेडिकल काउन्सिल दर्ता शुल्कबापत ५ हजार लिन खोजिएको थियो । आयोगले तोकेको शिक्षण शुल्कबाहेक काउन्सिल दर्ता शुल्क मात्रै लिन पाइन्छ । कलेजले इन्टर्नसिप र धरौटी शुल्कबापत ४ लाख लिन सहमतिका लागि आयोगलाई पत्राचार गरेको थियो । आयोगले ती शीर्षकमा शुल्क नलिन सूचना जारी गरेर कलेजहरूलाई सचेत गराइसकेको छ ।

चालु शैक्षिक सत्रको पढाइ सुरु नहुँदै बढी शुल्कका लागि कलेज सञ्चालकले कबुलियतनामा गराउन थालेपछि अभिभावकले आयोगमा समेत उजुरी दिएका थिए । केएमसीले विश्वविद्यालय शुल्कबापत १५ हजारका दरले विद्यार्थीसँग रकम लिएको छ । आयोगका अनुसार उक्त शुल्क पनि लिन पाइँदैन । आयोगले तोकेअनुसार शिक्षण शुल्कको पहिलो किस्ताबापत १३ लाख ४१ हजार तिरेर विद्यार्थी भर्ना गराएको अभिभावकहरूको भनाइ छ ।


आयोगले शैक्षिक सत्र २०७६/७७ का लागि एमबीबीएस र बीडीएसको शिक्षण शुल्क तोकिसकेको छ । विदेशी विद्यार्थी र चिकित्साशास्त्रका अन्य विषयको शुल्क तोक्न सम्बन्धित विश्वविद्यालय र प्रतिष्ठानलाई अधिकार दिइएको छ । उपत्यकाभित्र एमबीबीएस अध्ययन गर्न ४० लाख २३ हजार २ सय ५० रुपैयाँ र उपत्यका बाहिरका मेडिकल कलेजहरूमा ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरिएको छ । आयोगले बीडीएस पढ्न २० लाख १९ हजार ५ सय ८० रुपैयाँ शुल्क कायम गरेको छ ।

एमबीबीएसमा तोकिएको शुल्कमध्ये एक तिहाइ रकम मात्रै पहिलो वर्षमा सम्बन्धित विश्वविद्यालयमा बुझाए पुग्छ । बाँकी रकम वार्षिक रूपमा किस्ताबन्दीमा बुझाउनुपर्नेछ ।

कान्तिपुरमा खबर छ ।

Comments: