२०७६ भदौ २ गते

बुधबारबाट दुईदिने इन्जिनियरिङ मेला हुने

ईपाटी संवाददाता

काठमाडौं । निजी कलेजहरूको संस्था एकान र पीईए एसोसिएसनको संयुक्त आयोजनामा ‘एकोन इन्जिनियरिङ एजुकेसन फेयर’ हुने भएको छ । ‘समृद्ध नेपालको आवश्यकता, स्वदेशमै इन्जिनियरिङ शिक्षा’ नारा सहित हुनलागेको एजुकेशन फेयर दुईदिन सम्म सञ्चानलन हुने छ ।


कक्षा १२, ए लेभल र इन्जिनियरिङमा डिप्लोमा गरेका विद्यार्थीलाई लक्षित फेयरको काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा असार २५ गते उद्घाटन गरिने एकोनका अध्यक्ष लक्ष्मण पोखरेलले जानकारी दिए ।


आइतबार पत्रकार सम्मेलन गरी एजुकेशन फेयर बारे जानकारी गराइएको हो ।


इन्जिनियरिङ विषयमा चासो राख्ने विद्यार्थी, अभिभावक, विज्ञ र सरकारको ध्यानाकर्षण गराउन मेला आयोजना गर्न लागेको एकोनका अध्यक्ष  पोखरेलले जानकारी दिए ।


‘नेपालमै विश्वस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्न सक्ने कलेजहरू छन् भन्ने जानकारी प्रवाह गर्नु मेलाको उद्देश्य हो,’ आयोजकद्वारा वितरित विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा विदेशी विद्यार्थीलाई समेत मौसम, पर्यटन, बसोबास र शैक्षिक गुणस्तरका पक्षमा सुसूचित गरी नेपाललाई इन्जिनियरिङ अध्ययनको गन्तव्य बनाउने हाम्रो योजना छ ।’

मेलामा ३० वटाभन्दा बढी इन्जिनियरिङ कलेजको सहभागिता रहने जनाइएको छ । मेलामा इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रिकल, मेकानिकल, सिभिल, सूचना प्रविधिलगायत विषयबारे जानकारी दिइनेछ ।

Comments: