आजको शिक्षा साप्ताहिक पत्रिकाले जेठ अंकमा पाठ्यक्रम विकास केन्द्रले सरकारको स्वीकृतबिना नै कक्षा १ को ‘मेरो नेपाली’ विषयक पाठ्यपुस्तकको नाम परिवर्तन गरी ‘भाषा संसार’ बनाएको बारे खोजमूलक समाचार प्रकाशित गरेको थियो ।

केन्द्रले यस वर्ष सातै प्रदेशमा हुनेगरी काठमाडौं उपत्यकाका सहित १८ जिल्लाका १०३ विद्यालयहरुमा कक्षा १ को नयाँ पाठ्यपुस्तक परीक्षण गरेको थियो । परीक्षणकै क्रममा कक्षा १ को मेरो नेपाली पुस्तकको ठाउँमा ‘भाषा संसार’ नामको पुस्तक विद्यालयमा पठाएको थियो । उता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने विद्यालयहरुमा परीक्षणका लागि पाठ्यपुस्तक लागू गर्न अनुमति दिएपनि विषयको नाम परिवर्तन गर्ने विषयमा अनुमति नदिएको जनाएको थियो ।

केन्द्रले मेरो नेपाली पुस्तकलाई नेपाली पहिचान नै मेटिनेगरी भाषा संसार राखेर अनुमतिबिना विद्यालयमा पठाइएको पाइएपछि आजको शिक्षा साप्ताहिकले यसबारे लामो खोजमूलक सामग्रीसहित यसको पर्दाफास गरेको थियो । यसलगत्तै मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले जेठ १४ गते प्रेस विज्ञप्ति जारी गर्दै तत्काल मेरो नेपाली पुस्तकको नाम सच्याउन चेतावनी दिएको थियो । नेपाली विषयको नाम परिवर्तन गर्नु नेपाली भाषा र पहिचानमाथिको प्रहार भएको भन्दै सञ्जालले तत्काल सच्याउन माग गर्यो ।

अन्ततः पाठ्यक्रम विकास केन्द्रले जेठ १७ गते प्रेस विज्ञप्ति जारी गर्दै कक्षा १ को भाषा संसार पुस्तकलाई पुनः ‘मेरो नेपाली’ नै कायम गर्ने जनाएको छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘आधारभूत तहअन्तर्गत कक्षा एकमा परीक्षणका लागि तयार गरिएको नेपाली भाषाको विद्यार्थी कार्यपुस्तक २०७६ (भाग १) को शीर्षक भाषा संसार रहन गएकामा केही शिक्षक तथा अन्य सरोकारवालाहरूबाट चासो व्यक्त गरी उक्त कार्यपुस्तकको शीर्षकमा नेपाली शब्द राखिनु उपयुक्त हुने भनी सुझाब दिनुभएको सन्दर्भमा प्राप्त सुझाबसमेतलाई विचार गरेर नेपाली भाषा विषय समितिले नेपाली विषयको उक्त कार्यपुस्तकको शीर्षक मेरो नेपाली राख्न सिफारिश गरेकाले सोअनुसार पाठ्यक्रम विकास केन्द्रले नेपाली विषयको कार्यपुस्तकको शीर्षक परिवर्तन गर्ने प्रक्रिया प्रारम्भ गरेको कुरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।’

२०७६ असार ४ गते २१:४५मा प्रकाशित

प्रतिकृया दिनुहोस्