काठमाडौं । प्रदर्शनीमार्ग स्थित रत्नराज्य लक्ष्मी क्याम्पसमा मंगलबार फरक दृश्य देखिन्थ्यो ।  शिक्षकहरु लहरै डेस्कबेञ्चमा बसेका थिए भने अगाडि विद्यार्थीहरुले विभिन्न प्रस्तुति दिइरहेका थिए ।

शिक्षकहरु हर्षित मुद्रामा देखिन्थे । निधारमा अविर, हातमा दक्षिणा रुपी विभिन्न सामग्रीहरु थिए । विद्यार्थीहरुले एक्कासी मिष्ठान्न टक्राए । मिष्ठान्न भन्दा मिठो अनुहार बनाएका शिक्षकहरुले मिष्ठान्न खान थाले ।

अब पालो केक काट्ने थियो । क्याम्पसका नेपाली विभाग प्रमुख प्राडा गंगाप्रसाद अधिकारीले केक काटे । गडगडाहट ताली बज्यो । सबैलाई केक बाँडियो । विद्यार्थीहरु पनि केक भन्दा मिठा देखिए ।

यो दृश्य थियो रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहका विद्यार्थीहरुले गुरु पूर्णिमाका अवसरमा आयोजना गरेको कार्यक्रमको ।

कार्यक्रम सञ्चालन तेस्रो सेमेष्टरका विद्यार्थी नारायण जोशीले गरिरहेका थिए । सोही सेमेष्टरका विद्यार्थी नारायण प्रसाद घिमिरेको गुरु महात्म्य कविता सहितको स्वागत पछि कार्यक्रमको औपचारिक शुरुवात भयो ।

कार्यक्रममा गुरुहरुको आशन ग्रहण मात्रै भएन अविर जात्रा नै भयो । विद्यार्थीहरुबाट सम्मान, प्रेम र आदरको वर्षा नै भयो । गुरुहरु त्यसमा निथ्रुक्क देखिन्थे ।

लगत्तै तेस्रो सेमेष्टरका विद्यार्थी सागर दाहालले कविता मार्फत गुरुहरुका  महिमा गान गरे । सोही सेमेष्टरकी मिना नेपालीले गित मार्फत गुरुहरुको वन्दना गरिन् । पहिलो सेमेष्टरकी भगवती बस्नेतको अनुष्टुप छन्दको गुरु अर्चना पनि कम थिएन ।

विद्यार्थीहरुको गुरु वन्दनाबाट प्रशन्न क्याम्पसका सहायक प्रमुख डा. हरि सिलवालले गुरुको आलोकलाई लिएर जीवनलाई सुन्दर बनाउन विद्यार्थीहरुसँग आग्रह गरे ।

त्यसपछि फेरी लोकलयमा पहिलो सेमेष्टरका विद्यार्थी यज्ञ सापकोटाले गुरुहरुलाई हर्षित बनाए । प्राडा रामप्रसाद ज्ञवालीले सुनाएको हेर्दा सामान्य लाग्ने बेग्लै मानिस हो गुरु कविता पनि गज्जव थियो ।

गुरु चेला भन्दा नजान्ने हुन सक्ने तर गुरुको महिमा अपरम्पार रहेको उनको भनाइ थियो । गुरुको सम्मान संस्कार, विश्व मानवता, सामाजिक मूल्यआदिसँग जोडिएको भन्दै प्राडा ज्ञवालीले गरेको गुरु महिमा च्वास्स मुटु छुने खालको थियो ।

चौंथो सेमेष्टरका दिल पौडेल र ऋषि खतिवडाको प्रस्तुतिले पनि गुरुहरुलाई गदगद बनाएको थियो ।

लगत्तै डा. विन्दु शर्माको ‘ओक्कल दोक्कल पिपल पात’ शिर्षकको कविता र डा. गीता त्रिपाठीको शिक्षा सम्बन्धी कविताले कार्यक्रमहललाई नै जुरुक्क उठाइदिएको थियो ।

अन्त्यमा नेपाली विभाग प्रमुख  प्राडा गंगाप्रसाद अधिकारीको गुरु महिमासहितको समापन मन्तव्यले सबैलाई भावुक बनाएको थियो ।
कार्यक्रममा नेपाली विषयका शिक्षकहरु (उप, सह, प्राध्यापक) यज्ञश्वर निरौला, भानु घिमिरे, डा. हेमचन्द्र भट्टराई, ज्ञानेश्वर निरौलालगायतको सहभागिता रहेको थियो ।

२०७६ असार ३१ गते २२:४९मा प्रकाशित

प्रतिकृया दिनुहोस्