२०७६ मंसिर १ गते

६५ प्रतिशतको रोजाइ अस्ट्रेलिया

अन्तैबाट

उच्चशिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थी बर्सेनि बढिरहेका छन्। स्तरीय शिक्षाको खोजीमा बिदेसिने विद्यार्थी बढेसँगै मुलुकबाट वार्षिक रूपमा ठूलो धनराशि बाहिरिने गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार पछिल्लो ६ महिनामा मात्र वैदेशिक शिक्षाका लागि नो अब्जेक्सन लेटर लिने विद्यार्थीको संख्या ३८ हजार ३३ जना पुगेको छ । यसरी अनुमतिपत्र लिएकामध्ये १५ देखि २० प्रतिशत विद्यार्थी विविध कारणले स्वदेशमै रोकिने अनुमान छ । अहिले विश्वका ७० मुलुकमा नेपाली विद्यार्थी अध्ययनको खोजीमा जाने गरेका छन्।

मन्त्रालयका केही वर्षअघिसम्म विद्यार्थीको रोजाइमा युरोप अमेरिका, अस्ट्रेलियामा अब्बल ठहरिएका विश्वविद्यालय तथा कलेजहरू मात्र विद्यार्थी रोजाइमा पर्ने गरेका थिए । त्यसो त त्यति बेला विदेशको पढाइ स्वदेशको पढाइमा अब्ब्ल भएका र आर्थिक हैसियत राम्रो भएका विद्यार्थीका लागि मात्रै हो भन्ने आम बुझाइ थियो । तर पछिल्ला वर्षहरूमा यो टे«ेन्ड बदलिएको छ । सम्पन्न परिवारदेखि मध्यम वर्गका विद्यार्थीलाई पनि सहज रूपमा प्रवेशाज्ञा (भिसा) पाइने हुनाले यसतर्फ विद्यार्थी आकर्षण बढ्न थालेको हो ।

मन्त्रालयको पछिल्ला नौ महिनाको तथ्यांकअनुसार विश्वका ७० मुलुकमा नेपाली विद्यार्थीहरू उच्च शिक्षाका लागि नो अब्जेक्सन लेटर लिएर गएका छन्। तीमध्ये सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया गएका छन् भने  श्रीलंका, युक्रेन, आइसल्यान्ड, भियतनाम, दुबई, बु्रनाईलगायत मुलुकमा एक जना मात्र विद्यार्थी गएका छन्।

अस्ट्रेलिया
मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलिया गएका छन्। यो अवधिमा अस्ट्रेलियाका लागि २४ हजार ५ सय २४ जनाले नो अब्जेक्सन लेटर लिएका छन्। शैक्षिक परामर्श व्यवसायीहरूका अनुसार अस्ट्रेलिया सरकारको आम्दानीको स्रोतमध्ये विदेशी विद्यार्थीले पढाइको लागि खर्च गरेको रकम तेस्रो स्रोतका रूपमा पर्ने गरेको छ ।

अस्ट्रेलियाले विदेशी विद्यार्थीबाट वार्षिक २० खर्ब रूपैयाँ आम्दानी गरिरहेको उनीहरूको भनाइ छ । उक्त रकममध्ये नेपाली विद्यार्थीले वार्षिक एक खर्ब रूपैयाँ पढाइका नाममा अस्ट्रेलियामा बुझाउने गरेका छन्। विश्वविद्यालय तथा कलेजलाइ सुरूको किस्ता बुझाएर गएका विद्यार्थीले उतै गएपछि कमाएर तिर्ने गरेको रकम पनि यसमै पर्दछ ।

जापान
विद्यार्थीको दोस्रो रोजाइमा जापान परेको छ । जापानका लागि तीन हजार चार सय ८० जनाले अनुमतिपत्र लिएका छन्। पछिल्ला वर्षहरूमा जापान सरकारले नेपाली विद्यार्थीलाई सहज रूपमा प्रवेशको व्यवस्था गरेपछि यो मुलुकतर्फ विद्यार्थी आकर्षित भएका हुन्। यहाँबाट अधिकांश विद्यार्थी सुरूमा जापानी भाषा सिक्नका लागि जान्छन्। निश्चित समयसम्म जापानी भाषा सिकेपछि मात्र उनीहरू विश्वविद्यालय वा कलेज भर्ना हुन योग्य हुन्छन्। जापानी भाषा सिक्दै गर्दा पनि विद्यार्थीलाई निश्चित समय काम गर्ने अवसर दिइन्छ ।

तर भाषा सिक्दै गर्दा पैसा कमाउने उद्देश्य लिएर गएका विद्यार्थीले सोचेअनुसार काम गर्न नसकेमा विश्वविद्यालय वा कलेज भर्ना नगरि फेरि जापानी भाषा कक्षामै भर्ना हुने गरेका छन्। तर पनि सुरूमा सहज रूपमा नेपालबाट प्रवेशको व्यवस्था भएका कारण त्यतातिर जान नेपाली विद्यार्थीले रूचि देखाएको शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्।

भारत
मन्त्रालयबाट नो अब्जेक्सन लेटर प्रदान गरिएको मुलुकमा भारत तेस्रो नम्बरमा छ ।  तर खुला नाका भएका कारण थुप्रै नेपाली विद्यार्थीहरू स्कुले शिक्षाका लागि समेत भारत जाने गरेका छन्। यद्यपि विद्यालय तहको अध्ययनका लागि जाने विद्यार्थीले नो अब्जेक्सन लेटर लिनु नपर्ने भएका कारण कति विद्यार्थीहरू भारतमा पढिरहेका छन् भन्ने यकिन तथ्यांक कुनै पनि निकायसँग छैन ।

उच्च वर्गका परिवारले अहिले पनि भारतका महँगा स्कुलमा नानीबाबुलाई पढाइरहेका छन्। हरेक वर्ष भारतका स्कुल सञ्चालकहरूले नेपाली विद्यार्थीलाई लक्षित गरेर काठमाडौंलगायत सहरमा शैक्षिक मेला आयोजना गर्दै आएका छन्।

चीन
६ महिनाको अवधिमा अध्ययनमा चीन जाने उद्देश्यले एक हजार दुई सय ५४ जना विद्यार्थीले अनुमतिपत्र लिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव देवीप्रसाद उपाध्यायले जानकारी दिए । यस मुलुकमा विशेषगरी विद्यार्थीहरू सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस तथा इन्जिनियरिङ र अन्य स्वास्थ्यसँग सम्बन्धित विषय पढ््न जाने गरेका छन्। त्यसबाहेक अन्य विषय अध्ययनका लागि पनि विद्यार्थी जाने गर्छन्। यस्ता विद्यार्थीलाई विश्वविद्यालय तथा कलेज छनोट गर्न र भर्ना प्रक्रिया अघि बढाउन परामर्श दातृ संस्थाहरूले सहयोग गर्दै आएका छन्।

साइप्रस
साइप्रस पनि पछिल्लो समय विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ । युरोप महादेशमा माल्टा र लक्जेम्बर्गपछि तेस्रो सानो मुलुकका रूपमा रहेको साइप्रस पढ््नका लागि नौ सय ३१ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्। विश्वविद्यालय तथा क्याम्पस छनोटमा सहज प्रक्रिया, सहज भिसा प्रक्रियालगायत कारण साइप्रस नेपाली विद्यार्थीको रूचिमा परेको हो ।

क्यानडा
क्यानडा नेपाली विद्यार्थीको वैदेशिक शिक्षाका लागि छैटौं गन्तव्य देखिएको छ । यो मुलुकमा आठ सय १७ जना विद्यार्थीले अध्ययनका लागि अनुमतिपत्र लिएका छन्। झन्झटिलो प्रक्रिया र भिसा पाउन कठिन भएका कारण क्यानडाप्रति नेपाली विद्यार्थीको रूचि कम देखिएको हो ।

नेपाली विद्यार्थी क्यानडा विशेषगरी स्नातकोत्तर, एमफिल र पीएचडी उपाधिका लागि जाने गरेका छन्। यस्ता विद्यार्थीहरूमध्ये परामर्शदातृ निकायको परामर्शभन्दा पनि सीधै विश्वविद्यालयमा सम्पर्क गरेर जानेहरू धेरै छन्।

अमेरिका
धेरै विद्यार्थीको सपनाको मुलुक मानिने संयुक्त राज्य अमेरिकामा ६ महिनाको अवधिमा ७ सय ९ जनाले मात्र अनुमतिपत्र लिएका छन्। पछिल्लो समय आप्रवासी विद्यार्थीका लागि कडाइ गर्ने हल्ला चलेसँगै यस मुलुकतर्फ विद्यार्थी विकर्षण बढेको परामर्श व्यवसायीहरूको अनुभव छ । भिसा पाउन कठिन हुने तर भिसा पाएर गइसकेपछि जीवन गुजारा गर्न सहज हुने मुलुकका रूपमा अमेरिकालाई लिइन्छ ।

दक्षिण कोरिया
मन्त्रालयको तथ्यांकअनुसार दक्षिण कोरिया पछिल्लो समय नेपाली विद्यार्थीको लागि आकर्षक मुलुक बन्दै गएको छ । यो मुलुकमा जान सात सय चार जनाले अनुमतिपत्र लिएका छन्।  रोजगारीका लागि मात्र नेपालीहरू त्यतातर्फ जाने गरेको आम बुझाइ रहे पनि यो तथ्यांकले अध्ययनका लागि पनि विद्यार्थी यो मुलुकतिर जाने गरेको पुष्टि हुन्छ ।

अन्य मुलुकको तुलनामा सस्तो शुल्क र खानबस्न सजिलो, सहज भिसा प्रक्रिया र भिसा पाउने सम्भावना पनि धेरै भएका कारण विद्यार्थीले यो मुलुकलाई रूचाएका हुन्।

न्युजिल्यान्ड
नेपाली विद्यार्थीको नवौं आकर्षक गन्तव्यका रूपमा न्युजिल्यान्ड पर्छ । अधिकांश परामर्श व्यवसायीहरूले यो मुलुकमा विद्यार्थी पठाउने गरे पनि पछिल्ला ६ महिनाको अवधिमा ५ सय ९३ जनाले मात्र अनुमतिपत्र लिएका छन्। विद्यार्थी आकर्षण रहे पनि सानो मुलुक भएका कारण त्यतातिर जाने विद्यार्थी थोरै भएको हो ।

बंगलादेश
विशेषगरी मेडिकल शिक्षामा नेपाली विद्यार्थीको आकर्षण रहेको बंगलादेश वैदेशिक शिक्षाका लागि दसौं नम्बरमा छ । मन्त्रालयका अनुसार यो मुलुक जान ५ सय ४० जनाले अनुमतिपत्र लिएका छन्।

अन्नपूर्णपोष्टमा खबर छ ।

Comments: