२०७६ असोज २८ गते

प्रगति शिक्षा सदन माविले मनायो ६८ औं अभिभावक दिवस

ईपाटी संवाददाता


ललितिपुर । ललितपुर जिल्लाको कोपुण्डोलमा रहेको प्रगति शिक्षा सदन माध्यमिक विद्यालयको  ६८औँ अभिभावक दिवस तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ ।


 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. विनोदकुमार श्रीवास्तवको सभापतित्व तथा ललितपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पम्फा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा ललितपुर क्षेत्र नं. ३(ख) प्रदेश सभाका सांसद माननीय जीवन खड्का विशेष अतिथि रहेका थिए ।


। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक बन्दना पोखरेलले अतिथिहरुलाई स्वागत गरेकी थिइन  भने प्रधानाध्यापक सूर्यप्रसाद घिमिरेले शैक्षिक वर्ष २०७५ को प्रगति प्रतिवेदन तथा आ.व. २०७५/०७६ को आर्थिक प्रतिवेदन पेश गर्दै विद्यालयले हाल भोगिरहेका शिक्षक व्यवस्थापन लगायतका समस्याहरुको चर्चा गरेका थिए ।


सो कार्यक्रमको अवसरमा  शैक्षिक वर्ष २०७५ मा एसइई पूरा गर्ने विद्यार्थीहरुलाई मायाको चिनो र उत्कृष्ट छात्र राजन ठाकुर(३.८५जिपिए ) लाई डा. अच्यूतमणि आचार्य शिक्षा पुरस्कार आठ हजार वितरण गरिएको थियो भने सोही वर्षमा उच्च शैक्षिक स्थान हासिल गर्ने विद्यार्थीहरु र अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुने विद्याथीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि तथा अतिथिज्यूहरुले पुरस्कार वितरण गरेका थिए ।


२०७५ सालदेखि हालसम्म अवकास पाउनु हुने ४ जना शिक्षकहरुलाई सम्मान पत्रसहित बिदाई गरिएको थियो भने शिक्षण पेशामा रहेर २० बर्षभन्दा बढी समयसम्म निरन्तर सेवा गर्नु हुने शिक्षकलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । सोही अवसरमा शतप्रतिशत विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित गराउन सफल ७ जना अभिभावकहरुलाई पनि उपहार वितरण गरिएको थियो ।


उक्त कार्र्यक्रमको अवसरमा यस विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रा.डा. स्व. सूर्यलाल अमात्यको स्मृतीमा उनका चारजना छोराहरु शुसिल, सुनिल, अनिल र गनिल अमात्यले विद्यालयमा स्थापित छात्रवृत्ति कोषमा योगदान गर्ने गरी दुई लाखको चेक हस्तान्तरण गरेका थिए ।


कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि माननीय पम्फा भुसालले सामुदायिक विद्यालय भएर पनि यस विद्यालयले संस्थागत विद्यालयसँग प्रतिष्पर्धा गर्दैे विगत लामो समयदेखि नै शैक्षिक उपलब्धिमा फड्को मार्दै आएको बताइन् । उनले विद्यालयलाई समुदायको पूर्ण सहयोग रहेको अभिभावक, शिक्षक, कर्मचारी विद्यार्थी र सबै सरोकारवालाहरुको सामुहिक प्रयासबाट यस विद्यालयले आफूलाई नमुना विद्यालयको रुपमा अगाडि सार्न सक्ने विश्वास व्यक्त गरिन् । 'अब हामी सबैको रोजाई सामुदायिक विद्यालय हुने गरी अगाडि बढ्न आआफ्ना घर छिमेकका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउने अभियानमा लाग्नपर्छ ।' भुसालले भनिन् ।


विद्यालयका विद्यार्थी र शिक्षकहरुलाई विज्ञान र प्रविधिसँग जोड्न कम्प्यूटर ल्याबको स्थापनामा सहयोग गर्ने उनको प्रतिबद्धता थियो ।  त्यस्तै विशेष अतिथि जीवन खड्काले प्रदेश सरकारले विद्यालयको भौतिक सुधार तथा शिक्षा क्षेत्रमा लगानी गर्न सुरु गरेको बताउँदै एक विद्यालय एक नर्स कार्यक्रम सफल भएको हुँदा यसलाई क्रमश बढाउँदै लगिने जानकारी दिए ।  यस विद्यालयले पनि सो कार्यक्रमका लागि आवश्यक कागजासहित प्रस्ताव पेश गरेमा आफूले यसका लागि सहयोग गर्ने उनको धारणा थियो । ।


कार्यक्रममा विद्यालय भवन निर्माण समितिका अध्यक्ष एवम् सल्लाहकार दिपेन्द्रपुरुष ढकाल, पूर्व सचिव एवम् सल्लाहकार महाश्रम शर्मा, सल्लाहकार सुरेशराज शर्मा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका अध्यक्ष तथा पदाधिकारी, अतिथि, अभिभावक, शिक्षक एवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Comments: