२०७६ चैत्र १६ गते

हटाइए शिक्षा सचिव बराल, नयाँ शिक्षा सचिवमा दाहाल

ईपाटी संवाददाता


काठमाडौं  । सरकारले शिक्षा सचिवबाट खगराज बराललाई हटाएको छ । विभिन्न मन्त्रालयका सचिवहरुको सरुवा गर्ने क्रममा सरकारले शिक्षा सचिव बराललाई हटाएर उनका ठाउँमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश प्रसाद दाहाललाई ल्याएको हो ।


सोमबारको मन्त्रिपरिषद्को बैठकमा निर्णय भएपनि त्यसलाई बुधबारको मन्त्रीपरिषद् बैठक पछि मात्रै  औपचारिक रुपमा सार्वजनिक गरिने जनाइएको छ ।


उपचारका लागि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर जानु अघि बुधबार बेलुका ४ बजेका लागि मन्त्रीपरिषद् बैठक डाकिएको छ । सोही बैठकमा राष्ट्रिय शिक्षा नीति पनि सार्वजनिक गरिने जनाइएको छ ।


२०४४ सालमा अधिकृतबाट निजामती सेवा प्रवेश गरेका दाहालले लामो समय श्रम र स्थानीय विकास मन्त्रालय अन्र्तगतका निकायहरुमा रहेर कार्य गरेका थिए । दाहाल ०४९ मा उपसचिव र ०६३ सालमा सहसचिव भएका थिए । उनी ०७२ साल असोजमा सचिवमा बढुवा भएका हुन् ।  

तत्कालिन समयमा प्रधानमन्त्री कार्यालयमा कार्यरत बराललाई सरकारले २०७४ साल चैत २३ गते शिक्षा सचिव बनाएको थियो । तत्कालिन सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरेर बराललाई शिक्षा सचिव बनाईएको थियो ।

२०५१ सालमा विद्यालय निरिक्षक बने देखि सचिवमा बढुवा हुँदा सम्मको सेवा अवधिमा शिक्षा मन्त्रालय अन्र्तगत कार्य गरेका बराल सचिव भएसँगै शिक्षा बुझेको ब्यक्ति भन्दै प्रभावकारी कार्य हुने अपेक्षा गरिएको थियो । तर उनले प्रभावकारी कार्य गर्न नसकेको मन्त्रालय भित्रै तिव्र गुनासो रहँदै आएको छ ।


बरालकै फितलो कार्यशैलीका कारण कर्मचारी समायोजनमा शिक्षाका कर्मचारी माथि विभेद, मन्त्रालयको कार्य सम्पादन चुस्त हुन नसकेको भन्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको विशेष आग्रहमा उनको सरुवा गरिएको सोतले जनाएको छ ।


राष्ट्रिय शिक्षा ऐन जारी गर्न नसक्नु, सरोकारवालाहरुसँग छलफल नै नगरी गोप्य रुपमा शिक्षा नीति तयार गर्नु, सबैसँग समन्वय गर्न नसक्नु, कतिपयमाथि व्यक्ति रिसिवि साध्ने काम गरेको उनीमाथि आरोपहरु लाग्दै आएका थिए ।


कास्की जन्मथलो भै भक्तपुरलाई कर्मथलो बनाउदै आएका सचिव खगराल बराल शिक्षाबाट सरुवा भै स्वास्थ्य मन्त्रालयमा पुगेका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय श्रोतले उनको शिक्षा मन्त्रालयबाट सरुवा भएको पुष्टि गरेको हो ।

सूर्य्विनायक नगरपालिकास्थित बालकोटका बासिन्दा बराल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सरुवा भएर स्वास्थ्यमा पुगेका हुन् ।

स्रोतका अनुसार सोमवार बसेको मन्त्रिपरिषद बैठकमा केही असहज स्थिति पनि पैदा भएको थियो । बैठकमा छलफलका क्रममा चर्काचर्की परेको स्रोतको दावी छ । केही मन्त्रीहरुले आफ्नो मन्त्रालयको सचिव सरुवा गर्न नचाहेको भए पनि सरुवामा नाम आएपछि मन्त्रीहरुले त्यसप्रति असमति जनाएका थिए । तर, ती कुरा नसुनेर सचिवहरुको सरुवा भएको स्रोतको दावी छ ।

सोमवारको मन्त्रिपरिषदमा शिक्षा मन्त्रालयका दुई वटा प्रस्ताव कार्यसूचीमा राखिएका थिए । पहिलो नयाँ शिक्षा नीति र दोस्रो चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति । तर, मन्त्रिपरिषद बैठकमा यी प्रस्तावमाथि कुनै छलफल नै हुन पाएन । जसकारणले बहुप्रतिक्षित शिक्षा नीति पारित भएन । शिक्षा नीति यसअघिको मन्त्रिपरिषदको कार्यसूचीमा पनि रहेको थियो । त्यसमा पनि पारित नभएको उक्त नीति सोमवारको बैठकमा भने पक्कै पारित हुनेमा शिक्षा मन्त्रालयका अधिकारीहरु ढुक्क थिए । तर, सोमवारको मन्त्रिपरिषदमा अरु धेरै एजेण्डा भएका कारण समय नपुगेकोले पारित हुन सकेन ।

शिक्षा नीतिमा विद्यालय शिक्षालाई सुधार गर्न शिक्षकको तलब सेवा सुविधामा ठूलो हेरफेर गर्ने उल्लेख गरिएको छ । शिक्षण पेशालाई सुधार गरेर देशमा दक्ष जनशक्ति निर्माण गर्ने उद्देश्यका साथ ल्याइएको नयाँ शिक्षा नीतिमा शिक्षकको तलब समान अन्य सेवाको भन्दा १० प्रतिशत बढी हुने उल्लेख छ । प्रस्तावित नयाँ शिक्षा नीतिले अन्य थुप्रै कुराहरु परिवर्तन गरेको छ । मन्त्रिपरिषदमा पारित हुने प्रस्तावमा पुगेको यो शिक्षा नीति मन्त्रिपरिषदकै सामाजिक समितिमा छलफल भएर आएको हो ।

स्रोतका अनुसार अहिले प्रस्तावित शिक्षा नीतिले राज्यलाई दीर्घकालीन व्यवभार पार्ने खालको भएकोले मन्त्रिपरिषद बैठकबाट सर्दै सर्दै आएको छ । अहिले ल्याउन लागिएको नयाँ नीतिप्रति प्रधानमन्त्री स्वयम नै त्यति सन्तुष्ट नभएको बुझिएको छ ।



Comments: