२०७६ भदौ ३० गते

यात्रा स्मरण :एक शिक्षकले मुम्बई यात्रामा पाएको शिक्षा

-नन्दलाल आचार्य

म धेरै शिक्षण र थोरै लेखनलाई समय दिँदै जीवन गुजारा गरिरहेको थिएँ । दुई दशकभन्दा बढी समय निजी विद्यालयमा बिताएर सार्वजनिक विद्यालयीय शिक्षण कार्यमा प्रवेश गरेको थिएँ । विशेषतः मैथिली समुदायका विद्यार्थी बाबुनानीहरूलाई नै पढाउने अवसर मिलेको थियो । लेखनमा पनि नेपालयीय मैथिल समाजकै रहनसहन र जनजीवन स्वतस्फूर्त रूपमा आउने गर्दथ्यो । यथार्थ झल्कने कुनै ठाउँमा पात्र र परिवेशअनुसार मैथिली भाषा पनि आउने गर्दथ्यो । आफू बसेको र रमेको ठाउँका कुरालाई आफ्नो लेखनमा स्थान दिन सजिलो पनि थियो । साथै, यसो गर्दा आफैंलाई आनन्द पनि आउँथ्यो । स्थानीय पत्रपत्रिकाहरूले पनि स्थान महत्वका साथ दिन्थे । विशेष अवसरहरूमा निमन्त्रणा पनि गर्थे । यस्तो बेलामा बाह्रौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मुम्बईद्वारा पठाइएको निम्तो साहित्यकारद्वय करुणा झा र रामभरोस कापडी भ्रमरमार्फत् पाइयोे । नेपाली भाषा–साहित्यका लागि दिइने ‘मिथिलारत्न’ सम्मान ग्रहण गर्न मैले पुस ०७, २०७२ मङ्गलबार मुम्बई शहर पुग्नुपर्ने रहेछ ।


त्यसबेला तराई/मधेस अनिश्चितकालीन बन्दको घेरामा थियो । सरकारी कार्यालय नखुलेको निकै महिना भएको थियो । सडकमा गाडी नगुडेको पनि पाँच महिना लागेको थियो । राजविराज शहर दिनदिनैको नारा–जुलुस र अधिकारवादी भाषणले तातेको थियो । स–साना बच्चादेखि प्रौढसम्म सबैले आ–आफ्ना हक–अधिकारका बारेमा यथेष्ट कुरा बुझिसकेका थिए । राजधानीसमेत अघोषित नाकाबन्दीले प्याक–प्याक्ती मुख बाइरहेको थियो । सरकार निरीह भएर तमासा हेरिरहेझैं थियो । आन्दोलनमा मान्छे मरिरहेका थिए । तराई÷मधेसमा जहाँ जे घटना घटे पनि राजविराज अघोरै तात्थ्यो । शासकविरुद्वको आन्दोलन साम्प्रदायिक द्वन्द्वमा बदलिन्छ कि भन्ने त्रास मनग्यै नभएको होइन । भनौं न एक किसिमले मधेसमा नेपाल हराएको थियो । सरकारको उपस्थिति बिल्कुलै थिएन । सडकमा प्रहरी प्रशासन निस्कँदैननथ्यो । सार्वजनिक सम्पत्ति नोक्सान हुन थाल्दा भने बचाऊको लागि बाहिरिन्थ्यो । महङ्गीको कुरै नगरौं । टाठाबाठाले जीवनभरिमा कमाउन नसकेको सम्पत्ति एक–दुई महिनामै कमाएका थिए । राजधानीमा दिनदिनै निष्कर्षविहीन वार्ताको नाटक मञ्चन भइरहेको थियो । जनता आश–आशमै त्रास भोग्न बाध्य थिए ।


बाह्रौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मुम्बईको ‘मिथिलारत्न’ सम्मान ग्रहण गर्ने निम्तो पाउँदा मलाई गर्वबोध र हीनताबोध दुबैको एकसाथ अनुभूति भयो । साहित्यकारद्वय करुणा झा र रामभरोस कापडी भ्रमरलाई मैले उल्टै प्रश्न गरेँ– ‘जान त जानु हुन्थ्यो तर देश ठप्प छ, चारैतिर भयावह अवस्था छ, कसरी जानू ?’ मैले जवाफ भेट्टाएँ– ‘मुलुकबाहिर निस्कने अवसर सधैं आउन्न । अझ मैथिली सम्मेलनले नेपाली भाषा–साहित्यका लागि दिएको यो पहिलो सम्मान हो । सशरीर उपस्थित हुनुको इज्जत अर्कै हुन्छ ।’ जेनतेन जाने निर्णय गरेँ । ट्रेनमा सिट रिजर्भेशन भयो । जनकपुरबाट यात्रा थालिने सल्लाह भयो । मैथिली भाषा–साहित्यका केही विद्वान्हरू तथा कलाकारहरू समेत सम्मेलनमा सहभागी हुने कुराले उत्साह थपियो । तर, मन धमिलाको धमिलै रह्यो । राष्ट्रले निकास पाउला कि भन्ने झिनो आश जिउँदै थियो । तराई÷मधेस र पहाड–हिमालका जनताको मनसमेत अँध्यारै थियो । उज्यालो आएमा प्रफुल्ल मुद्रामा हिँड्न हुन्थ्यो । तर, दुर्भाग्य त्यो दिन नै नआइकन हिँड्नुपर्ने भयो ।


पुस ०३, २०७२, शुक्रबार बिहान १०ः३० बजे शिक्षक मित्र सुनिलकुमार चौधरीको बाइकमा बसेर राजविराजबाट जनकपुर यात्रामा निस्केँ । लहानसम्म त सडक सुनसान थियो । नारा लेखिएका भित्ता जताततै थिए । सडक किनारामा गाडिएका काला झण्डाहरू फरफराइरहेका देखिए । ‘नेपालको संविधान–२०७२’ र शासक विरुद्धका कुरा जताततै सुनिन्थे । बाइकले लहान छाड्नेबित्तिकै कालाम्मे सडकमा सिटी बाइक जुलुसको लाइन लामो देखियो । मधेश आन्दोलनलाई शिष्ट एवं मर्यादित बनाउँदै निष्कर्षमा पु¥याउन सक्रिय सहभागी हुन आह्वान गर्दै एकजना युवक विनम्रतापूर्वक भन्दै थियो – ‘आदरणीय जनसमुदाय ! हमरासभक आन्दोलन आब निष्कर्षमे पहुँचुकल छै । अहङ्कारी शासक ठेहुन (घुँडा) टेकरहल छै । सिर्पm कुछ दिन धैर्यधारण करैला परतै । हमसभ अधिकार सम्पन्न भ’रहल छी । हम दोसर वर्गके जनताके विरुद्ध नही सरकारी रवैयाके विपक्षमे छी । हमसभ अपने देशमे अपना अधिकार खोजिरहल छी । ई आन्दोलनमे अपनअपन तर्फसँ योगदान करैला नही भुलब ।”


मैले त्यस आह्वानमा मनग्यै देश भेटेँ । आफूलाई नेपाली भन्न हिच्किचाउने जड र कृतघ्नहरूको गालामा थप्पड परेको अनुभूत गरेँ । अधिकार पाएको छैन, छ भन्छौ भने कहाँ छ, देखाई देऊ भन्नु प्रजातान्त्रिक परिपाटी नै हो । अरूको सम्मानमा कुठाराघात नगरी आफू सम्मानित हुन खोज्नु पनि स्वभाविक हो । तर, अरूको अस्तित्व मेटेर आफ्नो जग बलियो हुने सम्झनु नितान्त नालायकपन र निरङ्कुश शैली हो । मेरो यस निष्कर्षलाई धक्का लाग्नेगरी एक आवाज मेरै कान नजिकै भएर बिलायो । त्यो आवाज थियो एक उरन्ठेउलो ठिटोको । म बसेको बाइक ऊ नजिक पुगेपछि उसले मतिर दृष्टि दिँदै भनेको थियो– ‘...जिन्दावाद !!! ...मुर्दावाद !!!...लखेट्, लखेट् !!!’ उसलाई साथ दिनेहरू भने मुठ्ठीभर मात्र थिए । मलाई देख्नासाथ उसको रगत उम्लेको देख्दा मलाई पहाडे समुदायमा जन्मेकोमा हीनताबोध समेत भयो । उसको बोली मलिन–मलिन हुँदैहुँदै गयो । हाम्रो बाइक पश्चिमतर्फ हुँइकिरह्यो ।



म तराई/मधेसमै जन्मेँ, संस्कार भेटेँ, शिक्षा–दिक्षा पाएँ, रोजी–रोटीको व्यवस्था भेट्टाएँ र भविष्य हँसाउने झिनो लहरो समेत पाएँ । मैले जे गरेँ, जस्तो परिचय बनाएँ र जे गरिरहेको छु, सबै तराई/मधेसकेन्द्रित छन् । कसैलाई अनावश्यक उचाल्ने र कसैलाई मारमा पर्नेगरी पछार्ने भूल नहोस् भनी सतर्कता अपनाउने गरेको छु । र, पनि कहिलेकाहीँ अन्तस्करणमा धक्का लाग्ने कुरा सुन्नुपर्दा चोट त नराम्ररी नै लाग्यो । तर, गुनासो पोख्नुपर्ने मान्छे परिचित पनि थिएन र साथमा पनि थिएन । त्यसैले मित्र सुनिलसँगै बह बिसाउने काम गरेँ । उनले सहजताका साथ जवाफ फर्काए– ‘सडकमा थरिथरिका मान्छे हुन्छन् । कोही अज्ञानताबस् त कोही अवसरका लागि नानाभाँतीका कुरा फलाक्छन् । आफूलाई ठूलो भनाउन र बनाउन कोही न्वारानदेखिको बल झिकेर निरर्थक चिच्याउँछन् । तिनको पछि सज्जनहरू लाग्दैनन् । किनभने बहुलाहा कुकुरले टोक्यो भन्दैमा बदला लिन असल मान्छे कुकुरलाई टोक्न जाँदैन ।’ यत्ति सुनेपछि मैले त्यस प्रसङ्गलाई त्यहीँ पूर्णविराम लगाएँ ।


दिउँसो ३ः३० बजे जनकपुरस्थित आनन्द लजमा पुगी झोला बिसाएँ र सुनिलजीलाई राजविराज फर्काएँ । अब म एक्लो भएको थिएँ । अघिल्लो दिन राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनले रन्केको जनकपुर सेलाएको रहेनछ । एक्लैदोक्लै हिँडेको म बबुरोलाई कसैले जे पनि भन्न सक्थ्यो र जे पनि गर्न सक्थ्यो । मलाई चिन्ने र जान्ने त्यहाँ कोही थिएन । कसैको रिसको तारो बन्न सक्ने खतरासमेत जिउँदै रहेको आशड्ढा गरिरहेँ । प्रहरीहरूलाई जिउँदै जलाएको, कुटीकुटी मारेको, खुद्रा व्यापारीको औंला काटिएको घटना दिमाखमा नाच्न थाल्यो । अर्कातिर सडकमा गुञ्जने भाषण, वर्षने गाली र ढुङ्गामुढा अनि आन्दोलनकारीहरूलाई लघारी–लघारी मरणासन्न तुल्याइएका अनेकन दृश्यहरू नाच्न थाले । जति सम्झियो उत्ति त्रासद् परिस्थितिसँग मुकाबिला गर्नुपथ्र्यो । त्यसैले, त्यस्ता दृश्य बिर्सन पनि सम्झने क्रमलाई पूर्णविराम लगाउने निधो गरेँ । जसले जे गरे पनि र जे भने पनि एक नेपालीले अर्को नेपालीलाई नै गर्ने हुँदा अगाडि आउने चुनौतीलाई सहर्ष स्वीकार गर्नुको विकल्प नरहेको निधो गर्दै मनलाई थुमथुम्याएँ ।


बेलुकी पख कसैले ढोका ढक्ढकायो, खोलेँ । नयाँ स्वर सुनियो– ‘नमस्कार ! अहाँ आचार्यजी छी ?’ मैले मुन्टो हल्लाएर सकारात्मक जवाफ फर्काएँ । रामभरोस कापडी भ्रमर सर बजेने अछि भन्दै उनले सुकिलोमुकिलो मान्छेसँग परिचित गराए । फोन वार्ता धेरैपटक भएपनि सशरीर भेट नभएकोले मैले भ्रमरलाई चिनेको थिइनँ । खासमा साझा प्रकाशनको पूर्व अध्यक्ष र प्रज्ञा प्रतिष्ठानको पूर्व प्राज्ञ हुनुभएको हिसाबले नचिन्ने कुरै थिएन । अर्कातिर म साहित्यको पाठकसमेत रहेका नाताले उहाँका साहित्यगत प्रवृत्ति समेत ठम्याउने सामथ्र्य राख्दथेँ । केहीबेर समसामयिक शिक्षा, साहित्य र राजनीतिका बारेमा भलाकुसारी गरियो । अनि उहाँकै साथमा जानकी मन्दिर परिसरसम्म पुगियो ।


त्यहाँ मान्छेको सानोतिनो भीड थियो । सजावटका सामग्री थन्क्याउने, फोहर सफा गर्नेजस्ता कामहरू भइरहेका थिए । कोही मन्दिर अपवित्र भयो भन्दै थियो– ‘विधुवा प्रवेश करैक अपवित्र करदेलक ।’ देवीदेवताका लागि मान्छे अपवित्र नहुने तर्क गर्दै अर्काले तुरुन्तै जवाफ फर्कायो– ‘देवी–देवता विदुर आ विधुवा, सधुवा सबक खातिर एकसमान अछि । भेदभावक वात आइकाइलक युग मुताविक नही अछि ।’ अर्को समूहमा मन्दिरका पूजारी र महन्थहरूलाई निष्कासन गर्नुपर्ने कुरा हुँँदै थियो । त्यसै बीचमा पूजारी र महन्थहरू बचाउको अर्को आवाज पनि सुनियो– ‘राष्ट्रप्रमुखके खातिर दर्शन बर्जित ठाउँ कोनो नही होइत अछि । बेचारा पूजारी आओर महन्थसभक दोष रत्तिभर नही अछी । दोष त अराजकतावादी सभक छै । मुठभेडके सम्भावना विचार करके काज करैला परैछै । दोसर वात विरोध साङ्केतिकरूपसँ होना चाही, हिंसात्मक कभी नही ।’ यस्ता परस्पर विरोधी वाचचित भइरहेका थिए । म केवल स्रोता र दर्शक मात्र थिएँ ।


साइकल, मोटरसाइकल र पैदले यात्रुले जनकपुर सहर ढाकिएको थियो । सडकमा ट्राफिक प्रहरीको नामोनिशान थिएन । सुरक्षाकर्मीको उपस्थिति कुनै ठाउँमा पनि देखिएनन् । अझ शिवचौकको एउटा दृष्यले भने लामो समयसम्म मलाई रन्थन्याई रह्यो– बीच सडकमा एक धुलाम्मे अधवैंशे मानिस ट्राफिक प्रहरीले झैं हात हल्लाई–हल्लाई चिच्याइरहेका थिए– ‘ए, तूँ रुक ! तूँ आगा बढ ! तूँ ओत जो आ तूँ यत जो ! तूँ तुफानमे गाडी नही हाँक् । हमर बेटासँगमे भेट करवाक बात छै त चला । हमर बेटाक हमर ठीकठाक समाचार सुनादिअ आ हमर आशिर्वाद सेहो सुनादिअ... ।’ यसो भनिरहँदा उनले धुलाम्मे हातले आँसु पुछे र भक्कानिएको आवाजमा अर्थोक बरबराइरहे ।


सडकमा अपर्झट भेटिएका ती पात्र मेरो लेखनीका एक सामग्री बन्थे होलान् । मैले थोरै मात्र जानकारी लिन सकेँ– उनको एक छोरासहितको तीन सदस्यीय सुखी परिवार मधेसको कुनै भू–भागमा रहँदो रहेछ । श्रीमान्–श्रीमतीको आम्दानीले घरपरिवार राम्ररी नै चलेको रहेछ । केही रकम बचाएर राखेका रहेछन् । अचल सम्पत्ति जोडेर सुकुम्बासीबाट प्रमोसन हुने विचारले घडेरी खोज्दै रहेछन् । छोरो स्थानीय बोर्डिङ स्कूलमा दुई कक्षामा पढ्दो रहेछ । एक दिन स्कूलबाट घर फर्कँदा अज्ञात सवारी साधनले किचेर छोरो ठहरै भएछ । त्यसकै शोकले उनीे मानसिक सन्तुलन गुमाएजस्ता भएछन् । उनको अस्तव्यस्तताको फाइदा उठाउँदै अज्ञात जत्थाले उनकै उपस्थितिमा श्रीमतीलाई घरमै बलात्कार गरेछ । त्यो बेइज्जत सहन नसकेर उनले रूखमा झुण्डिने विकल्प रोजिछन् । त्यसपछि उनी त्यस ठाउँलाई सदाका लागि त्यागी सडकलाई नै सर्वस्व बनाउँदै आएका रहेछन् ।


उनको सडकको गतिविधि नियालेर र वास्तविकता बुझेर मन खल्लो भयो । खानपिन गरी म भ्रमर सरले व्यवस्था गरिदिएको आनन्द होटलको कोठा नं. १०९ मा पसेँ र निदाउने चेष्टा गर्न थालेँ । बिहान ३ बजे नै आँखा खुले । सूर्योदयको आगमनसँगै काउण्टरमा पुगेँ । त्यस रातको त्यस कोठाको भाडा रू. ७५०।– बुझाएर भ्रमर निवासतिर पैदलै लागेँ । तीन–चार मिनेटमै भव्य भ्रमर निवास पुगियो । त्यहाँ पुगेपछि बोलेरो आयो । त्यसमा चढ्नेहरू भइयो– पूर्व प्राज्ञद्वय डा. रामदयाल राकेस र रामभरोस कापडि भ्रमर, विद्यापति कोशका पूर्व अध्यक्ष अयोध्यानाथ चौधरी, प्रा.डा. पशुपतिनाथ झा, युवा साहित्यकारद्वय रामराजा सिंह राठौर र विमलकान्त झा, चर्चित गायक नवीन मिश्र, युवा कलाकार रोहित साह र म नन्दलाल आचार्य । सबैका मोटामोटा झोला थिए । राजविराजमा नै करुणा झाले मुम्बईमा जाडो नहुने हुँदा जाडोका कपडा धेरै नबोक्न सल्लाह दिनुभएकै थियो । मैले त्यसलाई नै स्वीकारेको थिएँ । त्यसैले सबैभन्दा पातलो र सानो झोला मेरै थियो ।

सानो गाडी भएपनि हड्तालले गर्दा चर्को मूल्य तिरेर जनकपुर–दरभङ्गा यात्राका लागि बसियो । एक पछि अर्को गर्दै राठौर, रोहित र म झोलाले पुरिन पुग्यौं । अरूहरू उमेर र अनुभवले पाका हुनाले पनि झोलाको थिचाइबाट बचेका थिए । त्यस बेलाको असहज यात्रा सबैलाई मुखभरी आएको थियो । आन्दोलनरतहरूकै तारो बनिएला भन्ने त्रास विद्वान्हरूमा नै थियो । मैले मुख खोलेँ– ‘गाडी तोडफोड गर्न तम्सने पनि हाम्र्रै इष्ट–मित्र, भाइ–भतिजाहरू त हुँदा हुन् नि ?’ अरूबाट जवाफमा आवाज आयो– ‘आन्दोलनको आँखा हुँदैन । केवल अर्जुनदृष्टि हुन्छ । जो दृष्टिमा पर्छ त्यो कुचिन्छ ।’ राठौर र रोहित भन्दै थिए– ‘फेरि एउटालाई चिने पनि अर्को फटाहा कुडेर (बञ्चरो) लिएर अघि सर्छ । त्यसले विद्वान्सिद्वान् चिन्दैन । आन्दोलनलाई मात्र चिन्दछ । अराजक कर्म गरेर आनन्द लिने धेरै हुन्छन् । त्यसैले सतर्क रहनुपर्छ ।’


गुड्दागुड्दै नेपाल–भारत बोर्डरमा पुगियो । विराटनगरबाट रञ्जुको फोन आयो । भारत बोर्डरमा एनटीसीको नेटवर्क राम्रो नभएकाले राम्ररी कुरा भएन । जे भएपनि साली नानीले सम्झिछिन् भनेर मख्ख पर्दै मोवाइल थन्क्याएँ । केहीबेरमै नेपालका सीमा–सुरक्षाकर्मीले सोधपुछ गरे । जवाफमा भ्रमरले भन्नुभयोे– ‘हामी नेपालका साहित्यकार हौं । साहित्यसम्मेलनमा मुम्बई यात्रामा जाँदैछौं ।’ त्यहाँबाट दुई सय मिटर परको भारतीय सीमा–सुरक्षाबलको रोकावटमा जवाफ दिइयो– हम लोग नेपालके साहित्यकार है । साहित्य–यात्रामे मुम्बई जारहे है ।’ मलाई नेपालका साहित्यकार हौं भनेर परिचय दिँदा बडो गर्वबोध भयो । सबैलाई आफ्नै आफन्त अनुभूत गरेँ ।

अब त आफ्नो मुलुकको भूमि पनि छाडिसकिएको थियो । अब जो र जे भने पनि यात्रारत् साथीहरू मात्रै थिए । उहाँहरूले नै मलाई मैथिलीमा बोल्न उक्साउनु भयो । म पनि रौसिएँ । मेरो मैथिली बोलाइ र लवजमा अनौठोपन थियो । म खासमा मैथिली भाषामा पारङ्गत छँदै थिइनँ । यात्रावधिभर मैले मैथिलीमै संवाद गर्ने कोसिस गरेँ । तर, उहाँहरू भने किन हो कुन्नि मसँग नेपालीमा नै बातचित गर्नुहुन्थ्यो । मैले बोलेको मैथिली भाषा र लवज सुनेर नेपालबाहिरका मानिसहरूले मलाई भोजपुरी भाषी भारतीय समेत भने । मैले सगर्व नेपाली मातृभाषी भएको नेपाली हुँ भनी भ्रम चिर्ने काम गरेँ । कतिपयले भाषा सिकाइदिन आग्रह गरे । हिन्दी, मैथिली र अङ्ग्रेजीका विविध वाक्य नेपालीमा अनुवाद गर्नसमेत भने । मैले बोलेका कुरा मोवाइलमा रेकर्डसमेत गरे र केही कुरा बोल्ने कोशिससमेत गरे । भाषा सिकाइको त्यो क्षण छोटो तर स्मरणीय थियो ।


दुई महिनापूर्व ट्रेनको सिट रिजर्भेशन गरेपनि अन्य साथीहरूबाट म अलग भएछु । अरू सबैको सिट डिब्बाको सुरुवातमा थियो भने मेरो मात्रै सिट अन्त्यमा थियो । यात्रा फगत एक्लै गर्नुप¥यो । साथका साथीहरूको नाकमुख देख्न नसकिने ठाउँमा पुगियो । बाथरुम जाँदा भने साथीहरू गफिरहेको भेटिन्थे । त्यसभन्दा ठूलो पिरलो त्यसबेला आयो जब पेटमा बेस्कन मुसाहरू दगुर्न थाले । त्यो स्वभाविकै थियो किनभने जनकपुरबाट छुटेपछि तरल पदार्थबाहेक केही खाइएको थिएन । दरभङ्गाामा खाना खाने होटल खोज्दाखोज्दै समय तुरियो । राम्रो र हाम्रो होटल खोज्दा खोज्दै हामी होटलको द्वारसम्म त पुगेका थियौं तर ट्रेन छुट्ने समय खुस्किन लागेको भन्दै केही नखाइकन फर्किन बाध्य भयौं । बेलामा होस् नपु¥याउँदा सामान्यजनलाई मात्र होइन, विद्वान्जनलाई समेत समयले पछार्दो रहेछ भन्ने समझ बढ्यो । ट्रेनमा नै सामान किन्न पाइने र खानासमेत अर्डर गरी खान पाइने कुरामा म ढुक्क थिएँ । एक छाक भोकै भएपनि अर्को छाक त पेटभरि खान पाइएला भन्दैथिएँ । पानी र सुख्खा वस्तुहरू बेच्नेहरू आउँदै थिए । पानी नपाइएला कि भनी तीन बोतल किनेर विश्रामस्थानमा ढल्किएको थिएँ ।


पटना पुग्दा नपुग्दै सयौंका सङ्ख्यामा युवा विद्यार्थीहरू किताब–कापी, झोला लिएर ट्रेनमा छिरे । अरू डिब्बामा के गरे कुन्नि ! हामी बसेको डिब्बामा भने तल–माथि कतै खुट्टा टेक्ने ठाउँ भएन । मेरो सिट माथिल्लो भागमा थियो । त्यसमा पनि ‘प्लिज ! इतना जगह दिजिए’ भन्दै तीनजनाले चाक अड्याए । ‘नो ! नो !’ भन्न नैतिकताले दिएन । अझ अर्को स्टेशनमा युवाको लाइन लामै देखियो । हुँदाहुँदा बाथरुमसम्म पुग्न सक्नु युद्ध जितेझैँ हुन लाग्यो । अल्लारे ठिटाहरूकोे कोलाहल उत्ति नै थियो । न बाहिर न भित्र कतै कोही पनि कुनै सामान बेच्न आएन । आओस् पनि कसरी ! पाइलो राख्ने ठाउँ थिएन । कमजोर मान्छे आयो भने चेप्पिएर त्यहीँ शहादत हुने अवस्था थियो । भोकको सीमा हरायो । पानी त साथमा थियो, पिउन डर लागिरहेको थियो । बाथरुम जाने बाध्यता आयो भने ठिटाहरूको चेपाइमा परेर अधकल्चो हुने निश्चित थियो ।

अर्कातिर आफ्नो सुत्न पाइने सिटमा मज्जाले बस्नसम्म पाइएको थिएन । त्यसमा पनि कसैको ‘प्लिज ! कुछ समय’ भन्ने आवाजको मारमा परिएलाकी भन्ने त्रास जिउँदै थियो । यात्रामा निक्कै कुरा सुनियो । अधिकृतस्तरको बिहार राज्यको परीक्षा इलाहावादमा राखिएको रहेछ । ती जागिर खान चाहने युवाहरू रहेछन् । उनीहरू त्यसै ट्रेनमा यात्रा गर्न विवश रहेछन् । पटना पछिका स्टेशनमा त कोही पनि चढ्न सकेन । नारा लगाएको ठूलो स्वर भने सुनियो । ढ्याक्–ढ्याक् र ढुक–ढुक पारेर झ्याल नजिकका यात्रुलाई हैरान पारे । अझ झ्यालबाट झोला थुतेर भाग्ने क्रम तीब्र भयो । सामान हराएर बिलौना गर्नेहरूको सङ्ख्या थपिँदै गयो । इलाहावाद कहिले आउला र त्यस भद्रगोलबाट मुक्ति पाइएला भनेर प्रार्थना गर्दैमा बिहानको ३ः३० बजेछ । अब भने फटाफट युवाहरू झर्न थाले । अनि टन्न पानी पिएँ । मनलाई र पेटलाई थामथामथुमथुम पारी निद्रादेवीको शरणमा लम्पसार परेँ ।


बिहानको सूर्योदय आइतबारको थियो । ‘गरम, गरम चाय !’ भन्दै फेरीवाल आउन थाले । त्यसबेला ६ बजेको थियो । म बाथरुम पुगेर लाइनमा उभिएँ । कतिपय मानिसहरू पेट समाउँदै ‘मै आपत मे हुँ, प्लिज’ भन्दै पालो मिच्न खोज्थे । लाजै पचाएर कोशिस गर्नेहरूबाट हार खाँदा खाँदै निकै समय बित्यो । सहनशील र समझदारी नबनूँ बन्नैपर्ने, बनूँ आफैंलाई आपत् परिसकेको थियो ! अझ वहस गर्न वा दोहोरो वार्तालाप गर्न भाषा नै वाधक थियो । म आफ्नो कमजोरी प्रदर्शन गरी अरूलाई हँसाउन चाहन्नथेँ । त्यसैले सङ्केतकै भरमा स्वीकारोक्ति दिने काम गरिरहेँ । बल्लतल्ल छिरियो । सकस बिसाइयो ।


म आफ्नै स्थानमा धुम्मिएर बसेको थिएँ । राठौरजी आए र भलाकुसारी गर्न थाले । मैले पनि हजारौं मान्छेको भीडमा एक्लै यात्रा गरेको र पेटका मुसाहरूलाई ३६ घण्टासम्म थामथामथुमथुम पारेको जीवनको पहिलो र सम्भवतः अन्तिम घटना भएको बताएँ । उनले पनि ठूलाबडाको ठूलो सोंचमा फस्दा यदाकदा यस्तै हुनु स्वभाविक रहेको बताए । सानोतिनो होटल छनौटमा परेको भए दरभङ्गामै पेट भरिन्थ्यो । ठूलो खोज्दाखोज्दै सानै पनि गुम्यो । फर्कँदाफर्कँदै उनले मेरा लागि पनि खानाको अडर गरिएको बताए । नभन्दै घण्टा दुएकमा खाना आइपुग्यो । धेरै स्वादिलो लाग्यो । भोक मीठोे भएकाले नै होला, त्यस बेलाको भोजनको स्वाद म कदापि भुल्न सक्दिनँ । सुरुवात खराब भएपनि त्यसपछिको मुम्बई यात्रा सुखद् नै रह्यो ।


हामीले ०६ पुस, सोमबारको बिहानी पख मुम्बईको भूमि स्पर्श गर्यौं । यात्रावधिभर छोडिएका सबै साथी भेटियौं । कार्यक्रम स्थलसम्म पु¥याउन दुईवटा गाडी लागेका रहेछन् । कार्यक्रम स्थल बिरार भन्ने ठाउँमा रहेछ । त्यहाँ एउटा होटलमा नेपाली प्रतिनिधि मण्डललाई बेग्लै कोठाको व्यवस्था गरियो । केही कुरा हुँदा ‘नेपालके रुममे जाना है’ भन्दै मानिसहरू आउन थाले । नेपालीसँग भेटघाट गर्न भनी निकै शुभचिन्तक त्यस कोठामा छिरे । साहित्यिक र व्यक्तिगत कुरा भए तर राजनीतितिर कोही पनि गएन । सबै काम लाइनमै बसेर गरियो । फुर्सदमा नयाँ स्थान घुम्न जाने मन थियो । तर, हाम्रै व्यवस्थित व्यवस्थापन र सही नेतृत्वको अभावमा मन खुम्चन पुग्यो । प्रौढ स्रष्टाहरू बिरारको प्रशिद्ध जीवदानी देवी मन्दिरसम्म पुग्नुभएछ । अग्लो डाँडामा रहेको सो मन्दिर पुग्न नेपालको स्वयम्भुनाथ मन्दिर झैं सिँढी चढ्नुपर्ने रहेछ ।


२२ डिसेम्बर अर्थात् पुस ०७, २०७२, मङ्गलबार धेरैले सांस्कारिक पाग र केहीले पगरी (गम्छा) शिरमा लगाएर मैथिली पोशाकमा शोभायात्रा थालनी गरियो । त्यसमा नेपालको प्रतिनिधि मण्डलमा मसमेत मिसिन पुगेँ । देवीदेवताका प्रतीकस्वरूप स–साना बच्चाहरू कोही महादेव, कोही पार्वती, कोही राधा त कोही कृष्ण बनेर रथमा चढे । यात्रामा विवाह समारोहमा गरिने संस्कारजन्य कार्य, काँधमा बोकिने भारको व्यवस्थापन आदिसमेत थिए । यस्ता अनौठा झाँकीले मैथिली संस्कार र संस्कृति अत्यन्त धनी रहेको आभाष मिल्दथ्यो । करिव पाँचघण्टे शोभायात्रा कार्यक्रम स्थलमा आई स्थगित भयो । मञ्चमा हुने कार्यक्रमको औपचारिकता शुरु भयो । भौतिक रूपमा व्यवस्थित व्यवस्थापन भएपनि बौद्धिक व्यवस्थापन कतैकतै आलोकाँचोपन देखियो । उद्घोषणको परम्परा भने पूरातन अनुभूत भयो । पेट व्यवस्थापनमा शिलशिलाबद्धता नहुँदा कसैले पेटमा ठेलीठेली कोच्ने र कसैले भने टुलुटुलु हेरर चित्त बुझाउने काम भयो । विशेषतः हुलमुलको माहोलमा काम गर्न सक्नेले राहत भेटे । कसैले बोलाउला र मुख मिठ्याउँला भनी प्रतिक्षारत् रहने हामीहरूजस्ता भने थुक निल्न विवश भइयो । व्यापक व्यवस्थापनमा यस किसिमको अवस्था देखिनु स्वभाविक नै भन्नुपर्छ ।


बेलुका ४ः३० बजे सम्मान गरिने कार्यक्रम रहेको थियो । मैथिली, हिन्दी, मराठी, उर्दू, नेपालीलगायत एक दर्जन जति विविध भाषा–साहित्यमा कार्य गरेका विद्वान्–विदुषीहरूलाई सम्मानोपाधिले विभूषित गरियो । संस्कृत विश्वविद्यालय, वाराणासीका कुलपति डा. देवनारायण झाको हातबाट मैले पाएको सम्मानोपाधिमा लेखिएको थियो– श्री नन्दलाल आचार्य, (नेपाल)के नेपाली भाषाके क्षेत्रमें विशिष्ट योगदानक हेतु ‘मिथिलारत्न’ सम्मानोपाधिसँ अलङ्कृत कएल जाइत अछि । अति हर्षित भएँ । अझ उनले अनौपचारिक रूपमा नेपाल र नेपालीका बारेमा नेपाली भाषामै प्रश्न राख्दा अति चकित भएँ । उत्तरमा मैले भनेको थिएँ– ‘नेपालको राजनीतिको भेउ छिचोल्न त मुस्किल छ, तर जनताबीचको अटुट एकता र भाइचाराको सम्बन्ध भने विश्वलाई लोभ्याउने छ । २०७२ को सुरुवातसँगै प्रकृति र परिस्थिति दुबैले नेपाल र नेपाली जनतालाई ठगिरहेको छ । चाँडै निकास निस्केर सौहार्द्रपूर्ण वातावरण हुनेमा हामी सर्वसाधरण आशावादी छौं ।’ त्यस हल्लामा उनले के बुझे–बुझेनन् मैले दोहोरो कुरा यति मात्र सुनेँ– ‘ठीक छ ! ठीक छ !’


सम्मानको लगत्तै कवि सम्मेलन सुरुवात भयो । नेपालको तर्फबाट म पनि सानो गजल हातमा लिएर एक कुनामा प्रतिक्षारत् थिएँ । मेरो गजल भन्दैथ्यो–

केहेन उजाड जकाँ सुनसान देखैछी
मात्रे पत्थर छै कहाँ भगवान् देखैछी ।

नाम जपिक खाइबला भेलै बुद्धिमान्
भ्रष्ट पदलोलुप मात्रे महान् देखैछी ।

बहुत भेलै विचारके रौदी यत्रतत्र
पैग स्वरक मात्रे यशगान देखैछी ।

दोसरके छिड्की–मारि आगा बडैबलाके
कोहुलका नेपालके दरबान देखैछी ।

पसिनाके मूल्य खोजते खोजते हम त
बडका–छोडका सबके एकसमान देखैछी ।

नेपाली अनुवाद–
कस्तो निर्जन जस्तो सुनसान देख्दछु
मात्रै पत्थर छ कहाँ भगवान् देख्दछु ।

नाम जपेर खाने जति भए बुद्धिमान्
भ्रष्ट पदलोलुप मात्रै महान् देख्दछु ।

धेरै भयो विचारको खडेरी यत्रतत्र
ठूलै स्वरको मात्रै यशगान देख्दछु ।

अर्कालाई छिर्के लगाई अघि बढ्नेलाई
भोलिको नेपालको दरबान देख्दछु ।

वाचनका क्रममा करुणा झाले व्यङ्ग्यात्मक छोटो कविताका साथमा मधेस आन्दोलन केन्द्रित कविता सुनाइन् । त्यसबेला कविताको विषयवस्तुलाई गाढा रङ्ग दिनेखालका दर्शक त्यहाँ थिएनन् । रामभरोस कापडी भ्रमरको कवितासमेत राजनीतिकेन्द्रित छोटै थियो । अयोध्यानाथ चौधरीको कविता भने लयात्मक र श्रृङ्गार रसयुक्त थियो । अढाई दर्जन जति सर्जकले कविता पाठ गर्न पाए पनि नपाउनेले विरसिलो अनुभव गरे । जे भए पनि कवि सम्मेलनमा नेपालको महत्वपूर्ण सहभागिता रह्यो ।


रातभरिजसो वाद्यवाधन र गायनका एक से एक कलाकारले प्रतिभा देखाए । भोलिपल्ट २३ डिसेम्बर अर्थात् पुस ०८ का दिन ‘प्रवासी मैथिली आ हुनक गाम’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनार भयो । नेपालका तर्फबाट रामभरोस कापडी भ्रमर, डा. रामदयाल राकेस र प्रा.डा. पशुपतिनाथ झाले भाग लिनुभयो । बाँकी हामी दर्शक मात्र रह्यौं । डा. राकेसले सेमिनारको शीर्षकमा प्रश्न उठाउँदै डाएस्पोरिक चिन्तन स्वदेशमा नभई विदेशबाट स्वदेशका लागि व्यक्त गरिने भावना हो भन्ने अनुभव बाड्नुभयो । प्रा.डा. झाले नेपालमा मैथिली भाषा–साहित्य र शिक्षणको विकास सन्तोषप्रद रहेको पुष्टि गर्नुभयो । साथै, कतिपयको मन्तव्य शीर्षकको छेउछाऊ पनि पुगेन । कतिपयले मैथिल र मैथिलीलाई प्रेम गर्ने सच्चा मैथिल रहेको वाक्य फुटाए । कोही आफ्नै विज्ञापन गर्न व्यस्त भए । कतिपयले भने साँच्चै बौद्धिक मन्तव्य राखेर ताली पाए ।


त्यसपछि अघिल्लै दिनको गायन, वाद्यवाद्यनको कार्यक्रमलाई निरन्तरता दिइयो । हामीले पनि सकेसम्म साथ दियौं । सबैभन्दा बढी त राठौरजीले ताली दिए । कम्मर मर्काएर कलाकारहरूलाई ऊर्जा प्रदान गरे । हाम्रा गायक नवीन मिश्रा पनि आफ्नो पालो कतिखेर आउला भनेर लाइनमा खडा भए । पर्खँदा–पर्खँदा बिहान २ः३० बजे पो उनको पालो आयो । ताली बजाएर उनलाई साथ दियौं । कलाकार रोहित साहले भने आफ्नो नृत्यकला देखाएर दर्शकको ध्यानलाई नै खिच्ने काम गरे । कार्यक्रम सेलाएकै थिएन । नेपालको पालो सकिनासाथ हामी भने सेलायौं । लुखुरलुखुर फर्कियौं र विस्ताराका प्रिय भयौं ।


बिहानको सूर्य जवान भएपछि मात्र आँखा खुले । बुढाखाल घुमफिरमा निस्किसकेका रहेछन् । हामी युवाखालसमेत योजना बनाउन थाल्यौं । समुद्र दर्शन, ताज होटल भ्रमण, एलिफेण्टा अवलोकन, पानीजहाज यात्रा आदि ठाउँहरूको नाम आए । यसो गर्दा र उसो गर्दा समय भागिरहेको थियो । बल्लतल्ल भ्रमणको साइत जु¥यो । प्रौढ वर्गको पछि युवा वर्ग पनि लाग्यौं । बिरार रेल्वे स्टेशनमा पुगेपछि नखाएको विषले पिरोल्यो । स्थानीय पुलिसले विमलकान्त झा र मलाई नराम्ररी उल्लू बनायो । जथाभावी थुकेको आरोप थियो । बहस गर्न भाषा बाधक थियो । उसले भनेको नमाने अरू साथीहरूको यात्रासमेत अवरुद्ध हुने निश्चित थियो । धेरै समय नलगाइकनै हामीले जरिवानास्वरूप भारू १००/१०० रुपैयाँ गन्यौं । पैसा तिर्न नमान्दा रसिद काट्न तयार भएको नगर पुलिस पाएपछि रसिद नै नदिइकन सुइकुच्चा ठोक्यो । बहस गर्न इज्जतको डरले नदिएको कुरा मित्रवृत्तबाटै सुनियो । कोही घटना सम्झी–सम्झी हाँस्न थाले । आफू त उल्लू बनेको मान्छे, लाटै रहँदा जित हुने ठहर गरेँ । चुपचाप पछि–पछि लागेँ । त्यस बखत मेरो टिकटे साथी बन्नुभएको थियो– डा. रामदयाल राकेस । उहाँले मेरो कानैमा भन्नुभयो– ‘अरूलाई पर्दा हाँस्ने मन आफूलाई पर्दा रुन्छ । तिर्नै नपर्ने दण्ड तिरियो । त्यस चुत्थाले दण्डित गरेको होइन, लुटेको हो । जे भो–भो मन अँध्यारो नबनाउनुस् । हँसिलो बनाएर हँसिमजाक गर्ने आफ्नै साथीको मुख लोप्रयाइदिनुस् ।’ मैले मुन्टो हल्लाएरै स्विकारोक्ति दिएँ ।


महाराष्ट्र राज्यमा पर्ने मुम्बई र बिरार शहरहरूमा मराठी भाषा बोलिँदो रहेछ । सम्मेलनमा सहभागी भएका जो कोहीले पनि मैथिली भाषामा संवाद गरेको देख्दा र सुन्दा मलाई त्यो माहोल नेपालको राजविराजभन्दा भिन्न लागेन । अर्कातिर त्यहाँको भौगोलिक बनावट र वरपरको पहाडी डाँडाकाँडाले त्यो नेपाल नै हो भन्ने लाग्यो । जहाँ पहाडी क्षेत्र देख्यो त्यो नेपाल नै हो भन्ठान्नु मेरो भ्रम मात्र थियो । नेपाल र त्यहाँका पहाडी डाँडाकाँडामा फरक के थियो भने यहाँ पानी रसाउँछ । झरनाहरू बग्छन् । त्यसैले रुखबिरुवा मनग्यै हुन्छन् । त्यहाँ भने बिल्कुलै सुख्खापन देखियो । पानीको अभावले रुखविरुवा नभएको श्रापित ठाउँ जस्तो आभाष भयो । यहाँ मान्छेको वस्ती छ, त्यहाँ वन्यजन्तुको बसोवास पनि विरलै छ । समुद्र किनारमा त ठूला रुख विरुवा पटक्कै देखिएनन् । फर्निचर बनाउन लायकको काठ उत्पादन त्यस्ता वनमा सम्भव नै थिएन । तातो हावा थियो । दिउँसो त पङ्खा चलाउनै पथ्र्यो । राती सिरक ओड्ने नामै नलिए हुन्थ्यो । यहाँ नेपालमा कठ्याङ्ग्रिने जाडो छोडेर गएको मान्छे, त्यहाँ अनौठो हावापानी पाउँदा आश्चर्यचकित भइयो ।


भोलिपल्ट मुम्बई स्टेशन पुगियो । झोला बिसाएर समुद्र नियाल्न गइयो । ताज होटलको कलाकृतिले चकित तुल्यायो । अझ समुद्र किनाराको मस्जिदमा पुग्दा भने मुस्लिम संस्कृतिका अनौठा कुरा बुझ्न पाइयो । रातको ११ बजे मुम्बई–दरभङ्गा ट्रेन छुट्ने रहेछ । यसपटक भने अन्य साथीहरूसँगै यात्रा गर्न पाइयो । मिलाइजुलाई आनन्दपूर्वकै आइतबार दिउँसो १ बजे राजविराजको भूमि टेक्न भेटियो ।

(लेखक, सिरहाको कर्जन्हा–४ स्थित श्री जनसेवा माविका शिक्षक हुन् ।)

 

आजको शिक्षा डटकमबाट

Comments: