२०७६ असोज २९ गते

दुबै हात नभएकी सम्झना खुट्टाले परीक्षा दिँदै

खोटाङ । दुबै हात नभएकी खोटेहाङ गाउँपालिका-२ की सम्झना राई खुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी छिन्। भगवती दिनानाथ मावि खोटाङबजारमा कक्षा-१० सम्म अध्ययन गरेकी सम्झनाले सिम्पानी मावि केन्द्रबाट परीक्षा दिइरहेकी छिन्।

शारीरिक रुपमा अशक्त सम्झनाले खुट्टाले लेखेरै भए पनि समयमै सबै प्रश्नको उत्तर लेख्ने गरेको केन्द्राध्यक्ष राजन ढकालले बताए।

१७ वर्षीया सम्झना इन्द्रेणीपोखरीस्थित मावली बसेर भगवती दिनानाथ माविमा अध्ययन गरेकी हुन्। भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुलीका अनुसार उनी विद्यालयको जेहेन्दार र अनुशासित विद्यार्थीमा पर्छिन्।

परीक्षा केन्द्र नजिकै सिम्पानीबजारमा कोठा भाडा लिएर परीक्षा दिइरहेकी सम्झनालाई सघाउन उनकी आमा सुमित्राले साथ दिइरहेकी छिन्। “आर्थिक अवस्था कमजोर भएकाले मावली बसाएर पढाइयौं।” आमा सावित्राले भनिन् ।

सम्झनालाई अहिलेसम्म अध्ययनमा लागेको सबै खर्च विद्यालयको तर्फबाट व्यहोरिएको प्रअ पराजुलीले जानकारी दिए। जन्मजात दुबै हात नभएकी सम्झनालाई अध्ययन तथा सहज जीवनयापनका लागि यसअघि खोटाङ सेवा समाज बेलायतबाट रु चार लाख ६९ हजार ७६० आर्थिक सहयोग प्राप्त भएको थियो।

समाजले उपलब्ध गराएको रकम उच्च शिक्षा अध्ययनमा खर्च गरिने आमा सुमित्राले बताए। गरिब परिवारमा जन्मिएकी सम्झनाले आफू अशक्त भए पनि पढेर समाजको सेवा गर्नमा आफ्नो जीवन बेतित गर्ने बताए। अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: