२०७६ असोज २९ गते

बिहे गर्न बालबालिकाकै हठ

रुकुम । पीपल ४ का १५ वर्षीय जयबहादुर विक र ८ की १४ वर्षीया गीता बुढालाई बालविवाह अवैध भन्ने थाहा नभएको होइन । तर, पनि उनीहरूले भागेर बिहे गरे । उमेर नपुगी बिहे गरेको भन्दै अभिभावकले उनीहरूलाई निकै सम्झाए । प्रहरीलाई पनि सम्झाइबुझाइ गरिदिन लगाए । तर, उनीहरू कसै गरी छुट्टिन मानेनन् । अहिले यो बालदम्पती देशै छाडेर भारत पसेको छ ।

भलाक्चाकी १३ वर्षीया नुमा र मुसीकोटका १६ वर्षीय रमेशलाई पनि परिवारले कम्ती सम्झाएका होइनन् । भागेर बिहे गरेका उनीहरूलाई प्रहरीको रोहबरमा दुईपटक छुटाइयो । तर, तेस्रोपटक पनि भागे । बिहेको एक वर्ष नबित्दै एक बच्चाको बुबाआमा बनिसके उनीहरू ।

 

पूर्तिमकाँडा गाविसका १५ वर्षीय बालक र १३ वर्षीया बालिकाले पनि राजखुसीमै बिहे गरे । यहाँ पनि परिवारले प्रहरीको सहायता लियो । गत पुस ८ गते जिल्ला प्रहरी कार्यालयबाट दुवै जनालाई आआफ्ना अभिभावकले बुझेर लिए । एक–अर्कालाई माया गर्ने भन्दै उनीहरू सजिलै छुट्टिन मानेका थिएनन् । फेरि भाग्न सक्ने आशंकामा परिवारले अहिले उनीहरूलाई छुट्टाछुट्टै जिल्लामा राखेका छन् ।

जिल्लामा आफूखुसी सानै उमेरमा विवाहमा बाँधिने बालबालिकाको संख्या बढ्दो छ । परिवारले नचाहँदा पनि उनीहरू आफैं भागेर बिहे गर्छन् । कतिपय अभिभावक छोराछोरीलाई सम्झाइदिन भन्दै जिल्ला प्रहरी कार्यालय पुग्ने गरे पनि यस्तो संख्या निकै कम छ । जानेहरू पनि उजुरी लिएर होइन, सम्झाइबुझाइ गरिदिन आग्रह गर्छन् ।

बालविवाह बढी नै हुने गरे पनि जिल्ला प्रहरीमा यससम्बन्धी उजुरी भने निकै कम छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७०र०७१ मा २, ०७१र०७२ मा १ र ०७२/०७३ मा एउटा मुद्दा दर्ता भएको छ । यस वर्ष उजुरी नपरे पनि साउनयता बालविवाहका आधा दर्जन केसमा छलफल भएको छ । अभिभावकले आ–आफ्ना छोराछोरी बुझेर लगेको अभिलेख प्रहरीमा नहुने एक प्रहरी अधिकृतले बताए ।

‘छलफलबाट मिलेको कुरा यहाँ देखिन्न । उहाँहरू केटाकेटीलाई सम्झाएर फर्किनुहुन्छ,’ ती प्रहरी अधिकृतले भने । प्रहरी कार्यालयबाट आ–आफ्ना अभिभावकसँगै गएका अधिकांश केटाकेटी पुनस् केही दिनमै पतिपत्नी भएका उदाहरण धेरै छन् ।

पछिल्लो समय चेतना अभावकै कारण बालविवाह भएको मान्दैनन् जिल्ला बाल कल्याण समितिका बालअधिकार अधिकृत मानवीर ओली । अहिले विकसित प्रविधिका कारण सानै उमेरमा केटाकेटी विपरीतलिंगीप्रति आकर्षित हुने गरेको उनको ठम्याइ छ । ‘यो विकसित प्रविधि मोबाइल, फेसबुकको दुरुपयोग हो,’ ओली भन्छन्, ‘यसकै प्रयोगबाट बालविवाहको क्रम ह्वात्तै बढेको छ ।’ उनका अनुसार जिल्लामा हुने बालविवाहका घटनामध्ये असाध्यै थोरै मात्र प्रहरीमा ल्याइन्छन् ।

जिल्लामा हुने कुल विवाहमध्ये ५७ प्रतिशत बालविवाह नै हुने गरेको जिल्ला बाल कल्याण समितिको तथ्यांक छ । यसमा पनि सबैभन्दा बढी गोतामकोट गाविसमा ७२ प्रतिशत छ ।


१३ वर्षकै उमेरमा छोरीले बिहे गरेपछि पीपल–७ का डिलबहादुर नाथ समस्यामा परे । ‘राजीखुसीले गएकी छोरी फर्काएर ल्याउने आँट गर्न सकिएन,’ उनले भने, ‘फर्काउँदा पनि फेरि भाग्ने अवस्था देखियो, त्यसैले स्विकार्न बाध्य हुनुपर्‍यो ।’ बाबुआमाको इच्छाविपरीत भएका धेरै बालविवाहलाई स्वयं छोराछोरी र केही सामाजिक कारणले मान्यता दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

जिल्ला बाल सञ्जाल अध्यक्ष प्रेम बोहरा बालविवाहले भविष्य क्षति हुने बुझेका बालबालिका नै बिहेबन्धनमा बाँधिने प्रवृत्ति बढेकाले यसलाई नियन्त्रण गर्न ठूलै चुनौती देख्छन् उनी । ‘यहाँ जानेबुझेकाले पनि विवाह गर्न थालेका छन्,’ उनले भने, ‘अब कुरा जानेर मात्रै भएन । जानेको कुरा बालबालिका आफैंले कार्यान्वयन गर्नुपर्छ ।’ बोहराका अनुसार बाल क्लब तथा बाल सञ्जालमा बसेकाले पनि विवाह गरिसकेका छन् ।

भविष्य अन्योलग्रस्त
अछाम– मंगलसेन नगरपालिका ५ भाटवाडाकी हेमन्ती भाटले १५ वर्षको उमेरमै प्रेमविवाह गरिन् । चार वर्षअघि उनि षोडशा उच्च मावि मंगलसेनमा कक्षा ८ मा पढ्थिन् । जिल्लास्तरीय परीक्षा दिएर चैतमा उनले घुघुरकोट ६ का नृपप्रसाद भाटसँग भागेर विवाह गरेकी हुन् ।

केटापक्षले जसरी पनि विवाह गर्नुपर्छ भन्ने दबाब दिएपछि उनले प्रेमीको वचन काट्न सकिनन् । १६ वर्षकै उमेरमा छोरा जन्माएकी उनी अहिले १९ वर्षकी भइन् । पतिको भने तीन वर्षअघि नै डोजर दुर्घटनामा निधन भइसक्यो ।

उतिबेला लहलहैमा लागेर बिहे गरेकी हेमन्ती अहिले दोधारमा छिन् । ‘चाहेर पनि अब पढ्न सक्दिनँ,’ उनले भनिन्, ‘सानै उमेरमा बिहे गरियो, अब छोरालाई पढाउने कि आफू पढ्ने, न त आफूसँग कुनै आयस्रोत छ ।’ सुखदुस्खमा साथ दिने वाचा गरेका पतिले संसार छाडेपछि अहिले पछुताउनुबाहेक उपाय नरहेको उनी बताउँछिन् । किशोरी उमेरमै आमा बनेकी उनको स्वास्थ्य अवस्था पनि खस्कँदो छ । बिहानबेलुकी घरको काम, दिनभर मेलापातले एकछिन फुर्सद पाउँदिनन् । ‘जहिल्यै तनाव र झमेला छ,’ उनले भनिन्, ‘कहिल्यै खुसी हुन सकिएन ।’

हेमन्ती एउटा उदाहरण मात्र हुन् । कलिलैमा बिहे गरेर भविष्य अन्योलमा धकेलेका उनीजस्ता थुप्रै भेटिन्छन् जिल्लाको ग्रामीण भेगमा । वाक नेपालअन्तर्गतको सहयात्रा परियोजनाले अछामका १६ गाविसमा सन् २०१५ देखि सन् २०१६ सम्म गरेको अध्ययनअनुसार त्यहाँ बालविवाहको संख्या ३ सय १० पाइएको छ । महिला तथा बालबालिका कार्यालयसँग भने यससम्बन्धी कुनै तथ्यांक छैन ।

प्रविधि विकाससँगै किशोरकिशोरीले नजिकिने माध्यम पाउँदा बालविवाहको संख्या बढेको परियोजना संयोजक मनवीर नेपालीले बताए । जातीय संस्कृति र प्रथाका नाममा सानै उमेरमा छोराछोरीको बिहे गरिदिने अभिभावक पनि उत्तिकै छन् । सानो उमेरका दम्पतीबाट जन्मने शिशुको मृत्युदर पनि उच्च पाइएको छ । महिला तथा बालबालिका कार्यालय प्रमुख भगवती अर्यालका अनुसार केही बालबालिकाले पढाइ बीचैमा छाडेर विवाह गर्ने गरेका छन् । उनीहरूले फेरि पढाइलाई निरन्तरता दिन सकेका छैनन् । गरिबी, अशिक्षा र बेरोजगारीका कारण बालविवाह बढेको उनको बुझाइ छ ।

जिल्लामा अधिकांश महिला हिंसा र बहुविवाहजस्ता घटनाको मुख्य कारण बालविवाह नै भएको किशोरी सञ्जाल अछामकी अध्यक्ष सिर्जना अधिकारीले बताइन् । जिल्लामा विभिन्न संस्थाले बालविवाहविरुद्ध चेतनामूलक अभियान चलाइरहे पनि कमी आउन सकेको छैन । कान्तिपुरमा खबर छ ।

Comments: