२०७६ असोज २९ गते

सूचना प्रविधिमा सरकारी छलाङ : दूर शिक्षादेखि भर्चुअल क्लाससम्म

काठमाडौं । कुनै समय श्रव्य शिक्षा कार्यक्रमका लागि सरकारले रेडियो नेपालबाट दूर शिक्षा कार्यक्रम सञ्चालन गर्ने गरेको थियो । सूचना प्रविधि र आमसञ्चार माध्यमको अन्य विकल्प नभएको तत्कालीन समयमा निकै सहयोगी मानिएको दूर शिक्षा कार्यक्रम निकै उपयोगी पनि थियो ।

यद्यपि, रेडियो कार्यक्रम अझै पनि सञ्चालनमा छ । सूचना प्रविधिको विकासले यसको प्रभावकारिता कम भएको महसुस गरेर सरकारले स्मार्ट टेक्नोलोजीमा पनि आफूलाई खरो उतार्न थालेको छ, ‘भर्चुअल क्लास’ सुरु गरेर ।

उतिबेला रेडियो शिक्षा कार्यक्रम प्रभावकारी नै थियो तर पूर्ण भने थिएन । तर, सूचना प्रविधिको विकाससँगै सरकारले आफूलाई ‘अपग्रेड’ गर्दै लगेको हो, जसको सुरुवात शैक्षिक जनशक्ति विकास केन्द्रले गरेको हो ।

रेडियोबाट प्रशारित दूर शिक्षा कार्यक्रममार्फत विद्यार्थीले सुनेकै भरमा रेडियोमा प्रसारित शैक्षिक पाठ याद गर्नु पथ्र्यो । शिक्षकले पनि सोहीअनुसार आफ्नो अध्यापन सामग्री तयार गर्नुपर्थ्यो । काठमाडौंबाट हाल एनसीईडीले भूकम्पबाट प्रभावित ११ जिल्लाका १ सय सार्वजनिक विद्यालयमा ‘लाइभ भर्चुअल क्लास’ सुरु गरेको छ ।

उस बेला विद्यार्थीले नबुझेका विषयवस्तुका बारेमा प्रश्न गर्ने सम्भावना नै हुँदैन थियो । तर, अब विद्यार्थीले नबुझेमा पाठ तुरुन्त कोसौं टाढाका शिक्षकसँग प्रत्यक्ष जिज्ञासा राख्न सक्छन् भर्चुअल क्लासमा ।

शैक्षिक जनशक्ति विकास केन्द्रले देशका दुर्गम क्षेत्रका विद्यालयमा मुख्य ३ विषयका शिक्षक अभाव र शिक्षकले लामो समय बिदा लिने अवस्थालाई ध्यानमा राखेर भर्चुअल शिक्षाको अवधारणा ल्याएको छ ।

टिभीमा हेरेर विद्यार्थीले आफ्नो पाठ पढ्न पाउदा दंग हुन्छन् भनेर सरकारले सिकाइलाई प्रविधिसँग जोड्न खोजेको छ । सरकारले लामो समय बिदा लिने र विषयगत शिक्षक नभएर विद्यार्थीको पढाइमा बाधा नहोस् भनेर भर्चुअल कक्षा सुरु गरेको हो ।

शैक्षिक जनशक्ति विकास केन्द्र ९एनसीईडी० सानो ठिमी भक्तपुरमा टिभी स्टेसन स्थापना गरी पढाउने र विद्यार्थीको जिज्ञासाको उत्तर दिने व्यवस्था गरेको छ । तर, विद्यार्थीले प्रश्न गर्ने प्रक्रियालाई भने तत्काल व्यवस्था गर्न नसकेको जनाएको छ ।

एनसीईडीको स्टुडियोबाट विषयगत शिक्षकले पढाएका कुरा सोही समयमा ब्रोडब्याण्ड इन्टरनेट प्रविधिद्वारा सम्बन्धित विद्यालयका सम्बन्धित कक्षाका विद्यार्थीले आ–आफ्नो कक्षामा जडान गरिएको टेलिभिजनमा हेर्न र सुनेर पढ्न सक्नेछन् । यसका लागि सम्बन्धित विद्यालयमा केही महिनाअघि नै टेलिभिजनसहित आवश्यक सबै सामग्री जडान भइसकेको छ ।

सरकारले टिभी स्टेसनबाट कक्षा १० का लागि हाललाई अंग्रेजी, गणित र विज्ञानका कक्षा सञ्चालन गरिरहेको छ । केन्द्रले सुरुमा प्रतिविषय ५ देखि ६ जना शिक्षकको व्यवस्था गरिएको जनाएको छ । जिल्ला शिक्षा कार्यालयले रोष्टरबाट छनोट गरेका सामुदायिक तथा संस्थागत दुवै खाले विद्यालयका शिक्षकहरूलाई प्राविधिक तालिम दिएर दक्ष बनाइएको केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटाले बताए ।

खासगरी कक्षा १० को अंग्रेजी, विज्ञान तथा गणित विषयको सिकाइ उपलब्धि वृद्धि गर्ने उद्देश्य भर्चुअल कक्षाबाट हासिल गर्न चाहेको सापकोटाले जानकारी दिए । यस प्रकारको कक्षा सञ्चालनका माध्यमबाट तुलनात्मक रूपमा कठिन विषयहरूमा शिक्षक अभावले विद्यार्थी अनुत्तीर्ण हुने समस्या समाधान हुने अपेक्षा गरिएको छ । यो प्रविधिबाट देशको जुनसुकै स्थानमा रहेका विद्यार्थीले पनि गुणस्तरीय शिक्षा पाउने सरकारी दाबी छ ।

भर्चुअल कक्षा सञ्चालनपछि चैतमा हुने माध्यमिक शिक्षा परीक्षा ९एसईई० अर्थात् कक्षा १० को नतिजामा सुधार आउने अपेक्षा गरेको छ । सरकारले अघिल्लो वर्षदेखि नै भर्चुअल विद्यालयको लागि काम सुरु गरेको भए पनि विभिन्न कारणले पुस अन्तिम हप्तामा मात्र कार्यक्रम सुरु गरेको हो ।

विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्न प्रतिस्कुल करिब ५ लाख लगानी गरेको छ । यही आर्थिक वर्षभित्रै हाल कार्यक्रम सञ्चालन गरिएका बाहेकका जिल्लाहरूका १ सय विद्यालयमा भर्चुअल कक्षा विस्तार गर्ने केन्द्रको योजना छ ।

प्रत्यक्ष सिकाइभन्दा टिभी प्रभावकारी
शैक्षिक गुणस्तर विकास केन्द्र ९ईआरए०ले हालै सार्वजनिक गरेको एक अध्ययनले निश्चित समय टिभी हेर्ने बालबालिकाको पढाइ नहेर्नेको भन्दा राम्रो हुने गरेको देखाएको छ । सरकारले ईआरओको रिपोर्टजस्तै टेलिभिजन शिक्षा लागू गर्दैछ ।

ईआरओको अध्ययनमा दैनिक २ घन्टासम्म टिभीमा भुल्ने बालबालिकाको मस्तिष्कमा सकारात्मक सोचको विकास भई अध्ययनमा टेवा पुग्ने देखिएको छ । विद्यालय र घरमा नियमित तालिकाअनुसार अध्ययन गर्ने र बाँकी समय टेलिभिजन हेर्ने बालबालिकाको अन्यको भन्दा सिकाइ उपलब्धि उच्च रहने उल्लेख छ ।

ईआरओले देशभरका ४४ हजार विद्यार्थीमा गरेको अध्ययनले घरमा टेलिभिजन हेर्ने विद्यार्थीको नतिजा अरुको भन्दा उच्च रहेको रिपोर्ट सार्वजनिक गरेको छ । ईआरओले कक्षा आठमा अध्ययनरत २८ जिल्लाका एक हजार एक सय ९९ विद्यालयका ४४ हजार ६७ विद्यार्थीमा गरेको अध्ययनमा टिभी हेर्ने विद्यार्थीको सिकाइ उपलब्धि उच्च रहेको नतिजा सार्वजनिक गरेको छ ।

ईआरओले ०७० को शैक्षिक सत्रको अन्तमा सिकाइ उपलब्धिको स्तरीकृत राष्ट्रिय परीक्षण गरेको थियो । ईआरओको अध्ययनलाई आधार मान्ने हो भने सरकारले लागू गरेको भर्चुअल सिकाइ प्रभावकारी हुने देखिन्छ ।

शिक्षालाई प्रविधिमैत्री बनाउन सरकारी लगानी
सरकारले भर्चुअल शिक्षण पद्धतिका लागि अघिल्लो वर्ष नै १८ करोडभन्दा बढी लगानी गरिसकेको छ । सरकारले यस वर्ष बजेट वक्तव्यमार्फत नै ग्रामीण तथा दुर्गम क्षेत्रका १०० विद्यालयहरूमा परीक्षणको रूपमा ब्रोडब्यान्ड इन्टरनेटका माध्यमबाट अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन सुरु गरिने उल्लेख गरिएको थियो ।

यो ‘लाइभ स्कुल’ मार्पmत विषय शिक्षक नभएका विद्यालयका हजारौं विद्यार्थीले इन्टरनेटको माध्यमबाट विद्यालयको हलमा नै बसेर पढ्न पाउनेछन् । विद्यालयमा राखिएको ५० इन्चभन्दा ठूलो टेलिभिजनमा हेरेर विद्यार्थीले पढ्नुपर्नेछ ।

हाल परीक्षणका लागि भूकम्प प्रभावित ११ जिल्लाका १ सय विद्यालयका १० कक्षाका विद्यार्थीका लागि एकै पटक पढाउने व्यवस्थासहित बृहत् टेलिविद्यालयको स्थापना गर्ने काम सुरु भएको शैक्षिक जनशक्ति विकास केन्दले जनाएको छ । यसको प्रभावकारिता बढेमा क्रमशः आगामी वर्षदेखि देशभरका विद्यालयका लागि पूर्वाधार बढाउँदै लैजाने योजना सरकारको छ ।

देशभरका विद्यालयमा अंग्रेजी, गणित तथा विज्ञान विषयका शिक्षक अभाव हुन थालेपछि ‘लाइभ स्कुल’ को अवधारणाअनुरूप भर्चुअल कक्षा सुरु गरिएको हो । यो प्रणालीको स्थापनापछि लामो बिदामा बसेका वा ३ विषयका शिक्षक नभएका भूकम्प प्रभावित ११ जिल्लाका विद्यालयमा इन्टरनेटको माध्यमबाट दैनिक पठनपाठन हुनेछ । यो प्रविधिअन्तर्गत पढाइ हुने सबैभन्दा बढी काभ्रेका १४ र सबैभन्दा कम रसुवाका २ विद्यालय परेका छन् ।

कार्यक्रमअन्र्तगत भूकम्प प्रभावित १४ जिल्लामध्ये काठमाडौं, ललितपुर र भक्तपुर भने नपरेको केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटाले बताए । “लाइभ स्कुल’को लागि आवश्यक पर्ने शिक्षक, टेलिभिजन स्टेसनका लागि प्राविधिकहरू आइसिटी ल्याब, टेलिभिजन, क्यामेरा, इन्टरनेट डिभाइसजस्ता पूर्वाधार जडान गर्ने तयारी पूरा भइसकेको छ भने बाँकी विद्यालयमा पनि आवश्यकताअनुसार विस्तार गरिनेछ,” उनले भने, “विद्यार्थीले सोधेका विषयवस्तु हामीले लिने र हामीले बोलेका कुरा त्यहाँ हेर्न तथा सुन्न सक्ने प्रविधि जडान गरिएको हुन्छ ।” यो प्रणालीबाट पढ्ने विद्यार्थीले लाइभ प्रश्नसमेत गर्न सक्नेछन् ।

यो प्रणाली विकास गर्न प्रत्येक विद्यालयका लागि ५ लाख रुपैयाँसम्म लागेको बताइएको छ । तर, परीक्षण कालपछि यो सुविधा लिन विद्यालयले निश्चित शुल्क तिरेर सदस्यता लिनुपर्छ ।

हाल सञ्चालनमा ल्याएको भर्चुअल कक्षा ३० मिनेटको हुनेछ । टेलिभिजनबाट पढाएका विषयवस्तु रेकर्ड गर्ने सुविधा पनि छ । टेलिभिजन हेर्न नभ्याएका विद्यार्थीले वेबसाइटमा गएर पनि हेर्न सक्छन् । कारोबार दैनिकमा खवर छ ।

Comments: