२०७६ मंसिर २३ गते

अभिभावककै कारण बिग्रियो पढाइ

लमजुङ । सुमन नेपाली जनज्योति प्राविका विद्यार्थी हुन् । घरझगडापछि उनलाई आमाले माइत लिएर गइन् । शिक्षिका अम्बिका तिवारीका अनुसार आमासँगै मामाघर गएका ९ वर्षीय सुमन वार्षिक परीक्षा दिन आएनन् । कक्षा २ मा पढ्दै आएकी सलिना विक पनि आमासँगै मामाघर बसेकी छन् । बुबा विदेश छन् । उनले पनि वार्षिक परीक्षा नदिएको तिवारीले बताइन् ।

उनका अनुसार बल गरेरै बालबालिकालाई भर्ना गराउनुपर्छ । वार्षिक परीक्षासम्म टिकाउनै गाह्रो छ । ‘आमाबुबालाई सम्झाएर पनि केही हुँदैन । हुन्छ, हुन्छ त भन्छन्,’ उनले भनिन्, ‘पतिपत्नी झगडा गर्छन्, आमाले बच्चाबच्चीलाई लगेर माइत हिँडेपछि धेरैको पढाइ छुटेको छ ।’

कक्षा २ की १० वर्षीया कुसुम तामाङले पनि अहिलेको वार्षिक परीक्षा दिइनन् । उनका बाबुले कान्छी भित्र्याएपछि कुसुमलाई लिएर आमा माइत बसेको शिक्षक बताउँछन् । प्रधानाध्यापक गोपालकुमार श्रेष्ठका अनुसार यहाँका लागि यो समस्या अहिलेको मात्रै होइन । ‘बर्सेनि यस्तै समस्या आइपर्छ । फर्केर आउनेलाई पछि पनि परीक्षा दिने वातावरण बनाइएको छ,’ उनले भने, ‘परीक्षाफल प्रकाशित भइसकेपछि पुनस्परीक्षा लिन सकिँदैन । कोही परीक्षा दिनै आउँदैनन् ।’

उनका अनुसार अभिभावक जिम्मेवार नबन्दा बालबालिका पढाइबाट वञ्चित भएका हुन् । ‘कसैका आमा छैनन् । कसैका बाबु,’ उनले भने, ‘कसैको भएर पनि झगडा गर्छन्, बालबालिकाको पढाइप्रति वास्ता हुँदैन । त्यसको मारमा बालबालिका परेका छन् ।’ बजारखुट्टा बेंसीसहर नगरपालिकाको ११ नम्बर वडामा पर्छ । साबिक चिती ९ मा पर्ने उक्त गाउँमा २०५६ मा स्कुल स्थापना भएको हो । यहाँ २४ विद्यार्थी अध्ययनरत छन् । १ कक्षामा ५, २ मा ४ र ३ मा ४ जना भर्ना भएका थिए । विद्यालय नजिकै भए पनि विद्यार्थी अनुपस्थित हुने प्रअ श्रेष्ठ बताउँछन् ।

विद्यालयमा सरकारी दरबन्दी २, बालविकास शिक्षिका १ र कार्यालय सहायक १ गरी ४ कर्मचारी छन् । ‘आफैं आएर विद्यालय खोल्नुपर्छ भनेर सहयोग गरेकी थिएँ । सुरुमा विद्यालय खोल्दा ३५ विद्यार्थी थिए,’ उनले भनिन्, ‘६०र६१ सालतिर ४२ विद्यार्थी पुगेका थिए । त्यसपछि भने घट्दो क्रममा छन् ।’ गाउँमा तामाङ, घर्ती र सार्की समुदायको बसोबास छ । कान्तिपुरमा खबर छ ।

Comments: