२०७६ मंसिर २१ गते

निजी छोडेर सामुदायिक विद्यालयमा भर्ना हुन प्रवेश परीक्षा

विराटनगर । चर्को शुल्क लिने निजी विद्यालय छाडेर अंग्रेजी माध्यमबाट पढाई हुने विराटनगरको सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीको ताँती लागेको छ । विगत चारवर्षदेखि कक्षा १० सम्म अंग्रेजी माध्यमबाट पढाउँदै आएको पोखरीया उच्च माविमा आइतबार विद्यालयको क्षमताभन्दा दोब्बर निजी विद्यालयका विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।

तीन वर्षदेखि यो विद्यालयले अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको थियो । त्यसपछि यस विद्यालयबाट एसएलसी परीक्षामा सहभागी भएका विद्यार्थी विशिष्ट र प्रथम श्रेणीमा उत्रीण भएपछि निजी विद्यालयमा चर्को शुल्क तिरेर पढाउँदै आएका विद्यार्थीका अविभावकको आकर्षण यो विद्यालयमा बढेको हो ।

विद्यालयले आगामी शैक्षिक सत्रकालागि कक्षा ६ देखि ९ सम्मकालागि दुईसय विद्यार्थीको भर्ना माग गरेकोमा शनिबार निजी विद्यालयमा पढेका ४ सय ५७ विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । प्रचार्य खेमराज भट्टराईका अनुसार कक्षा ६ मा ४० जनाको कोटामा ६९ जना, कक्षा ७ मा ४० को कोटामा १ सय २ जना, कक्षा ८ मा ६० को कोटामा १ सय ५५ जना, कक्षा ९ मा ६० जनाको कोटामा १ सय ३१ जना निजी विद्यालय छाडेर पढ्न इच्छुक विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् ।
 
विराटनगरका प्राय सबै नाम चलेका निजी विद्यालयका विद्यार्थी प्रवेश परीक्षामा सहभागी भएको दाबी विद्यालय प्रशासनले गरेको छ । ‘निजी विद्यालय छाडेर सामुदायिक विद्यालय पढ्न चाहने विद्यार्थीको चाप थेगीनसक्नु छ,’ प्राचार्य भट्टराईले भने, ‘प्रवेश परीक्षामा सहभागी सबै विद्यार्थी अब्बल छन्, तर ती मध्ये विद्यालयको क्षमता अनुसारका विद्यार्थी छनोट गर्न प्रवेश परीक्षा लिन विद्यालय बाध्य भएको हो । यो विद्यालयले कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पढाइ सुरु हुन्छ ।’

यस विद्यालयले कक्षा १ मा अंग्रेजी माध्यमबाट पढ्ने विद्यार्थीबाट वार्षिक १ हजार र कक्षा १० मा पढ्ने विद्यार्थीबाट वार्षिक १० हजार रुपैयाँ शुल्क लिने गरेको छ ।

कक्षा ७ मा वार्षिक करिव ४० हजार रुपैयाँ खर्च गरेर बालकल्याण विद्यामन्दिर (विकेभिएम) मा कक्षा ७ मा आफनी नातिनी एलिशा कार्कीलाई पढाएका विराटनगर–५ का हरिबहादुर कार्कीले भने, ‘नातिनीले यो विद्यालयमा कक्षा ८ मा अंग्रेजी माध्यमबाटै पढ्दा वार्षिक ८ हजार मात्रै लाग्छ भने यहाँ भर्ना किन नगर्ने ?’

पोखरीया उच्च मावि बाहेक यहाँको राधाकृष्ण उच्च मावि, आर्दश उच्च मावि र सत्यनारायण उच्च मावि लगायतका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पढाई सुरु भएका छन् । ती विद्यालयमा दुई दिनपछि प्रवेश परीक्षा हुँदै छ । ती विद्यालयका प्राचार्यहरुका अनुसार विद्यालयको क्षमताभन्दा निजी विद्यालय छाडेर पढ्न चाहने दोब्बर विद्यार्थीले भर्ना आवेदन दिएका छन् । कान्तिपुरमा खबर छ ।

Comments: