२०७६ चैत्र २८ गते

जन्मदिनको रकमबाट स्कुललाई पुस्तक सहयोग

ईपाटी संवाददाता


भक्तपुर । भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इङ्लिस स्कुलका विद्यार्थीले जम्मा पारेको जन्मदिनको रकमबाट दुई वटा स्कुलहरुलाई पुस्तक सहयोग गरेको छ ।  स्कुलका विद्यार्थीले आ–आफनो जन्मदिनको दिन संकलित सहयोग रकमबाट दुर्गम स्कुललाई पुस्तक सहयोग गरेका हुन् ।


बुधबार भएको स्कुलको ३६ वार्षिक समारोह एवं पुरस्कार वितरण कार्यक्रममा उक्त पुस्तक सहयोग हस्तान्तरण गरेको हो । जन्मदिनमा चकलेटलगायतका किनेर साथीहरुलाई नबाडी रकम कोषमा राखेर संकलित रकमबाट ती  स्कुलहरुलाई पुस्तक सहयोगस्वरुप हस्तान्तरण गरेका हुन् ।
स्याङ्जाको हिमाली मावि र डोटीको पद्य पव्किल मुक्ति नारायण माविलाई पुस्तक सहयोग गरेको हो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले संयुक्त रुपमा ती स्कुलका प्रतिनिधिहरुलाई किताव हस्तान्तरण गरेका हुन् । हिमाली माविका दीपक चापागाई र मुक्ति नारायण माविका गीता जोशीलाई छुटाछुटै रुपमा पुस्तक हस्तान्तरण गरिएको हो । दुवै माविलाई प्रति स्कुल दुई लाख १६ हजार पाँंच सय ४१ रुपैयाँं ३२ पैसा बराबरको पुस्तक हस्तान्तरण गरिएको हो । दुवैलाई प्रति स्कुल एक हजार सात सय ३४ थान पुस्तक हस्तान्तरण गरिएको हो । साथै हिमाली माविलाई दस हजार पाँच सय र मुक्रि नारायण माविलाई १५ हजार सात सय ५० रुपैयाँं बराबरको स्टेशनरी सामान पनि सहयोग गरेको छ ।


विद्यालयका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलका विद्यार्थीको जन्मदिनमा सहपाठीहरुलाई चकलेटलगायतका खाद्य पदार्थ किनेर बाँंडनु भन्दा नयाँं संस्कारको सुरुवात गर्ने उद्देश्यका साथ एभरेष्ट टिएन वर्ड डे फण्ड स्थापना गरेको जनाए । यही फण्डमा २०७४ सालमा संकलित रकमबाट दुर्गम क्षेत्रका विद्यालयका विद्यार्थीलाई पुस्तक सहयोग गर्ने योजना अनुसार पुस्तक हस्तान्तरण गरिएको उनले जनाए ।


आवश्यकता हेरेर कुनै स्कुललाई कोर्ष बुक अनुसारको त कुनै स्कुललाई रिफरेन्स बुक हस्तान्तरण गर्दै आएको उनले जनाए । गत फागुनमा दुई वटासहित २०७४ सालमा संकलित रकमबाट चार वटा स्कुललाई सहयोग गरेको उनले स्मरण गरे । जन्मदिनमा विद्यार्थीले सकेको आर्थिक सहयोग फण्डमा जम्मा गराउने व्यवस्था स्कुलले मिलाएको उनले जनाए । यो रकम जन्मदिनको दिन सवै विद्यार्थीसामु उदघोष गरी फण्डमा राख्ने उनले जनाए ।


चकलेटको विकृति रोकेर स्कुलले २०६६ सालदेखि बर्ड डे फण्ड स्थापना गरेको स्कुलले जनाएको छ । विद्यार्थीबाट संकलित रकमबाट पहिलो पटक २०६६ सालमा भक्तपुर अस्पतालका विरामीलाई व्ल्यांकेट वितरण गरेको र त्यसपछिका वर्षहरुमा निरन्तर प्रत्येक वर्ष विभिन्न दुर्गम स्कुलका विद्यार्थीलाई पाठ्यपुस्तक सहयोग गर्दै आएको स्कुलले जनाएको छ । हालसम्म देशका १६ जिल्लाका १६ वटा स्कुलहरुलाई पुस्तक हस्तान्तरण भएको स्कुलले जनायो ।


कार्यक्रममा प्रमुख अतिथि भक्तपुर भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्कुलले गरेको यो कार्यक्रम देशकै लागि उदाहरणीय रहेको भन्दै प्रशंशा गरे । कार्यक्रममा स्कुल व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, भक्तपुरका पूर्व जिल्ला शिक्षा अधिकारी नयनसिंह धामी, प्रिन्सिपल भक्त राजभण्डारी, सहायक प्रिन्सिपल कमलादेवी राजभण्डारी अमात्यलगायतले बोलेका थिए ।  


कार्यक्रममा एभरेष्ट स्कुलका वेष्ट स्टुडेण्ट्सको रुपमा छात्रातर्फ गृष्मा खत्री र छात्रतर्फ विजेश प्रजापति घोषित गरी पुरस्कार वितरण गरिएको थियो । साथै स्कुलले यसअघि गरेको वेष्ट फ्रम वेष्टका विजयी विद्यार्थीलाई पनि पुरस्कार वितरण गरिएको थियो । त्यस क्रममा विद्यार्थीहरुले गीत, नृत्य, जिम्याष्टिक पनि देखाएका थिए ।

Comments: