२०७६ असोज २९ गते

‘पाठ्यपुस्तक छपाइ समयमै’

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले शैक्षिक सत्र २०७४ का निम्ति दैनिक सवा लाख थानका दरले पुस्तक छपाइ भइरहेको जनाएको छ । हरेक वर्ष शैक्षिक सत्र आधा सकिँदासम्म विद्यार्थीले पाठ्यपुस्तक नपाउने समस्या देखिँदै आएकामा यसपालि चैत मसान्तभित्रै छापिसक्ने जनकशिक्षाको दाबी छ ।

भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र विद्यालय तहको पाठ्यपुस्तक छाप्ने एकमात्र सरकार मातहतको निकाय हो । उसले आगामी वैशाखदेखि सुरु हुने शैक्षिक सत्रका निम्ति १ करोड ९५ लाख थान पुस्तक छापिसक्नुपर्ने छ । हरेक वर्ष ढिलाइ हुने भएपछि केही वर्षयता कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक छाप्न निजी छापाखानालाई दिने गरिएको छ । जनक शिक्षाले कक्षा ६ देखि १० सम्मका पुस्तक छाप्दै आएको छ ।

शिक्षा मन्त्रालयले चैत मसान्तभित्र सबै पाठ्यपुस्तक छापिसक्न केन्द्रलाई निर्देशन दिएको छ । ‘जनक शिक्षाले तोकिएकै समय सीमाभित्र पाठ्यपुस्तक छपाइसक्छु भनेको छ,’ मन्त्रालयका प्रवक्ता हरिप्रसाद लम्सालले भने, ‘के कसरी छपाइ भइरहेको भन्नेबारे फलोअप भइरहेको छ । आगामी साता पाठ्यपुस्तक पुनरावलोकनको बैठक बोलाउँदै छौं ।’ वैशाखभरि विद्यार्थी भर्ना अभियान चल्नेछ । त्यतिन्जेल विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगिसक्नुपर्छ । सरकारले सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीलाई पाठ्यपुस्तक निस्शुल्क उपलब्ध गराउँदै आएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक महेशबाबु तिमल्सिनाले प्रतिबद्धताअनुसार समयभित्रै पाठ्यपुस्तक छपाइसक्ने बताए । ‘अहिलेसम्म १ करोड २० लाख थान पुस्तक छपाइसकेका छौं,’ उनले  भने, ‘दैनिक सवा लाख थान पुस्तक छापिँदै छ ।’ केन्द्र आफूले मात्र छाप्न नसक्ने भएपछि ३० लाख थान साझा प्रकाशन र १५ लाख थान निजी छापाखानालाई जिम्मा दिएको तिमल्सिनाले जानकारी दिए । तर, हरेक वर्ष निजी क्षेत्रले छपाइमा ढिलाइ गर्ने र मनोमानी बिक्रीवितरण गरेका घटना दोहोरिँदै आएका छन् ।

केन्द्रमा पुस्तक छपाइका लागि तीनवटा ठूला वेब मेसिन र चारवटा साना मेसिन सुचारु छन् । थप एउटा मेसिन भाडामा लिएर छपाइ भइरहेको जनकशिक्षाले जनाएको छ । ‘काम तीव्र गतिमा भइरहेको छ,’ तिमल्सिनाले भने, ‘चैत अन्तितसम्ममा पुस्तक छापिसक्ने लक्ष्य राखेका छौं ।’

जनक शिक्षाले आगामी वैशाख २९ मा हुने स्थानीय चुनावको मतपत्रसहित सम्पूर्ण सामग्रीसमेत छपाउने जिम्मेवारी पनि लिएको छ । निर्वाचनका निम्ति छुट्टै ‘सेक्युरिटी प्रेस’ को व्यवस्था रहेको प्रबन्ध सञ्चालक तिमल्सिनाले जनाएका छन् । ‘निर्वाचन प्रयोजनका निम्ति छुट्टै सातवटा सेक्युरिटी प्रिन्टिङ प्रेस छन्’ उनले भने, कटिङ, नम्बरिङलगायत मेसिन पनि छुट्टाछुट्टै छन् ।’ यसका लागि खटाइने जनशक्तिसमेत छुट्टै रहेको उनले जनाए । कन्तिपुर दैनिकमा खबर छ ।

Comments: