२०७६ असोज २९ गते

स्ववियु चुनाव : १ महिना बाँकी, चहलपहल शून्य

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले घोषणा गरेअनुसार स्ववियु निर्वाचन हुने दिन आउन १ महिना मात्र बाँकी रहँदा पनि मुख्य सरोकारवाला विद्यार्थी संगठनहरूको चहलपहल देखिँदैन ।

अधिकांश विद्यार्थी राजनीतिक केन्द्रका रूपमा चिनिने कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पस परिसरमा विद्यार्थीको राजनीतिक गतिविधि शून्य प्रायस् छ । विगतमा विश्वविद्यालय हाताभरि निर्माण गरिएका विभिन्न संघरसंगठनका सूचना पाटी अहिले खाली छन् । स्ववियु सम्पर्क कार्यालयवरिपरि सम्पर्क व्यक्ति पनि भेटिँदैनन् ।

विद्यार्थी संघरसंगठन प्रतिनिधि भने माघ १५ सम्म मिन पचास बिदा भएको र त्रिविले निर्वाचन तालिका सार्वजनिक नगरेकाले गतिविधि अघि नबढेको दाबी गर्छन् । त्रिविले निर्वाचन फागुन १४ लाई तोकेको छ । त्रिविले केन्द्रीय विभागअन्तर्गत ‘सेमेस्टर प्रणाली’ लागू गरेपछि विद्यार्थी संख्या न्यून छ ।

कीर्तिपुरमा स्नातकोत्तर तह र त्यसभन्दा माथिका कक्षा मात्र सञ्चालन गरिँदै आएको छ । वार्षिक परीक्षा प्रणाली छँदा विद्यार्थीको राजनीतिक गतिविधि पनि निकै हुन्थ्यो । अहिले शून्य देखिन्छ । फागुनमा हुने स्ववियु चुनावमा कीर्तिपुर केन्द्रीय क्याम्पस मानविकी, विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र संकायमा अध्ययनरत करिब २५ सय विद्यार्थीले भाग लिन पाउनेछन् । चुनावी मिति नजिकिइसकेकाले नयाँ भर्ना हुन नसक्ने विश्वविद्यालयका अधिकारीले जनाएका छन् ।

‘विश्वविद्यालयमा जाडो बिदा भए पनि प्रशासन खुला छ,’ कीर्तिपुरस्थित मानविकी डिन कार्यालयका कर्मचारी सुनील रञ्जितले भने, ‘नियमित पढाइ मात्र नभएको हो, थेसिस बुझाउने, भाइभा लिनेलगायत काम भइरहेको छ । विद्यार्थी चहलपहलचाहिँ छैन ।’ तीन दशकदेखि कार्यरत रञ्जितका अनुसार सेमेस्टर प्रणाली लागू भएपछि सीमित तर पढ्नकै निम्ति आउने विद्यार्थी मात्र आउजाउ गर्दै छन् । नेविसंघ त्रिवि एकाइका पूर्वअध्यक्ष शंकर पौडेल सेमेस्टर प्रणालीका कारण विद्यार्थी घटेर पहिलेजस्तो चहलपहल नभएको बताए ।
त्रिविले २०६५ सालदेखि स्ववियु चुनाव गराउन सकेको छैन । विगतमा कीर्तिपुर केन्द्रीय क्याम्पसमा मानविकी संकायअन्तर्गत स्नातकोत्तर तह अंग्रेजी विषयमा मात्र १८ सय जति विद्यार्थी भर्ना हुन्थे । त्यसैगरी राजनीतिशास्त्र, समाजशास्त्र, अर्थशास्त्रलगायत विषयमा भर्ना हुने हजारभन्दा बढी हुन्थे । यतिखेर मानविकीतर्फ विभिन्न विषयका पहिलो र दोस्रो सेमेस्टरमा ४ सय ८८ विद्यार्थी पढिरहेका छन् ।

शिक्षाशास्त्र संकायका सहायक डिन प्राध्यापक नेत्र धितालका अनुसार शिक्षातर्फको सेमेस्टर प्रणालीमा ७ सय विद्यार्थी एमएड अध्ययनरत छन् । ‘टुरिस्ट विद्यार्थी नहुने भएपछि संख्या घट्नु स्वभाविकै हो,’ उनी भन्छन्, ‘सेमेस्टरमा नियमित कक्षामा उपस्थित भएर हाजिरी जनाउनुपर्छ ।

प्रत्येक सेमेस्टरमा एसेस्मेन्ट बुझाउन र परीक्षासमेत दिनुपर्छ ।’ त्यस्तै, विज्ञान संकायतर्फ कीर्तिपुरमा करिब ९ सय विद्यार्थी अध्ययनरत रहेको सहायक डिन सुमनलाल श्रेष्ठले जनाएका छन् । व्यवस्थापन संकायका डिन प्राध्यापक डिल्लीराज शर्माले व्यवस्थापनतर्फ ५ सय विद्यार्थी पढदै गरेको बताए । ‘स्ववियु निर्वाचन जसरी पनि हुन्छ तर केही प्राविधिक कठिनाइले नयाँ भर्ना भएका विद्यार्थीले चाहिँ चुनावमा भाग लिन नसक्ने भएको छ,’ मानविकी, शिक्षा, कानुन र विज्ञान संकायका डिनले नयाँ भर्नाको प्रक्रियाबारे छलफल जारी राखेको उल्लेख गर्दै शर्माले भने, ‘स्ववियु चुनावकै निम्ति नयाँ भर्ना लिने सम्भावना टरेको छ ।’

विद्यार्थी नयाँ भर्ना प्रक्रियाअनुसार कम्तीमा एक महिनाअघि सूचना जारी गरी फाराम भनाउने म्याद हुनुपर्छ । त्यसपछि प्रवेश परीक्षा लिने र नतिजा प्रकाशन गर्न झन्डै २० दिन लाग्छ । त्यसपछि मात्र विद्यार्थी भर्ना लिइन्छ । ‘यो काम विद्यार्थीले सहयोग गरे मात्र सम्भव छ,’ डिन शर्माले भने । त्रिविका रेक्टर प्राध्यापक सुधा त्रिपाठीले स्ववियु चुनावलाई लिएर बुधबार राजधानी उपत्यकाका २२ आंगीक क्याम्पसका प्रमुख र विभिन्न संकायका डिनहरूसित सामूहिक छलफल गरेकी छन् । बैठकपछि त्रिवि विद्यार्थी तथा खेलकुद महाशाखा प्रमुख गंगाबहादुर मगरले कान्तिपुरसित भने, ‘चुनाव जसरी पनि गराउने पक्षमा सबै क्याम्पस प्रमुख सहमत हुनुभएको छ ।’

यसैबीच विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिविका पदाधिकारीलाई बोलाएर स्ववियु चुनाव गराउन निर्देशन दिएका छन् । ‘देशभरिका सबै क्याम्पसमा स्ववियु चुनाव गर्ने तयारीमा छौं,’ प्रधानमन्त्री दाहालसित बुधबार भएको भेटपछि रेक्टर सुधा त्रिपाठीले भनिन्, ‘प्रधानमन्त्रीज्यूले जसरी पनि स्ववियु चुनाव गराउनोस् भन्नुभएको छ । अब चाँडै स्ववियु निर्वाचन तालिका सार्वजनिक गरिनेछ ।’ प्रधानमन्त्री दाहालले स्ववियु चुनावलाई लिएर कांग्रेस–एमालेका नेताहरूसँग कुराकानी गरेको जनाएका छन् । अबको स्ववियु चुनाव मिश्रित प्रणालीअनुसार हुनेछ भने उम्मेदवारको उमेर हद २८ वर्षको हुनेछ ।कान्तिपुरमा खबर छ ।

Comments: