२०७६ असोज २९ गते

उदाहरणीय बन्दै सामुदायिक

डोटी । पुरानो विद्यालय भवनको पश्चिमतर्फबाट महेश ओझाले बिहान ९ बजे सिटी फुके । खेलमैदानमा भलिबल, चुंगी, टिफ्फा खेलिरहेका छात्रावासका विद्यार्थी त्यसपछि कुदेर भान्साघरअघि भेला भए ।

दाल, भात र तरकारीका ठूला भाँडा गणित, विज्ञान र अंग्रेजीका शिक्षकले सम्हालेर बसेका छन् । हातमा थाल र कचौरा बोकेका विद्यार्थीलाई शिक्षकहरूले पालैपालो केही सोध्न अह्राए । कसैले सामान्य ज्ञान, केहीले गणित र विज्ञानका सवाल सोधे । विद्यार्थीहरू सबै प्रश्न टिप्दै पालैपालो शिक्षकबाट थालमा खाना थाप्दै अघि बढे ।

रोचक लाग्ने यो दृश्य डोटीको दुर्गम लामीखाल गाविस तलारगाउँस्थित भगवती माविको छात्रावासको हो । निजी विद्यालयलाई समेत चुनौती दिँदै आएको यो विद्यालयको पठनपाठनको तौरतरिका मौलिक छ । भौतिक पूर्वाधारको अभाव भए पनि शैक्षिक गुणस्तर भने भगवती माविको जिल्लामै लोभलाग्दो छ ।

‘खाने बेला प्रश्न गर्दा विद्यार्थीले खाँदै जटिल प्रश्नबारे आपसमा छलफल गर्छन्,’ विद्यालयका प्रअ टेकबहादुर सिंहले भने, ‘त्यत्तिका विद्यार्थीमाझ कसै न कसैले जवाफ जानेकै हुन्छ, छलफलमा आउँदा अरूले पनि सिक्छन् र लामो समयसम्म सम्झिन सक्छन् ।’ विद्यार्थीलाई पाठ्यक्रममा मात्र केन्द्रित नगरी खेलकुद, सांगीतिक र सामान्य ज्ञानजस्ता विषयमा पनि जोड दिइएको प्रअ सिंह बताए ।
‘प्रार्थना गर्ने बेलामा पनि खुला रूपमा विद्यार्थीलाई सामान्य ज्ञानका प्रश्न सोध्ने गरेका छौं, सबैभन्दा बढी जवाफ दिनेलाई पुरस्कृत पनि गर्छौं,’ प्रअ सिंहले बताए । शिक्षक, अभिभावक र व्यवस्थापन समितिको सामूहिक अभ्यास र समन्वयले जिल्लामै उत्कृष्ट विद्यालय दरिँदै गएको व्यवस्थापन समितिका अध्यक्ष डम्बरबहादुर सिंह बताउँछन् ।

विद्यालयम अध्ययनरत ५ सयमध्ये १ सय ८२ विद्यार्थी बाहिरी जिल्लाबाट पढ्न आएका छन् । शनिबार पनि पढाइ हुनु, माविका शिक्षकहरूले प्रावि तहका विद्यार्थीलाई पढाउनु, राजनीतिबाट विद्यालयलाई टाढै राख्नु र कमजोर विद्यार्थीलाई अलग्गै राखेर पढाउनु यस विद्यालयको विशेषता हो ।
दुई पटक जिल्लास्तर र एक पटक क्षेत्रीयस्तरको शिक्षा पुरस्कार हात पारिसकेको भगवती माविमा भर्ना हुन विद्यार्थीको लर्को लाग्ने गर्छ । भीड थेग्न नसकेर विद्यालयले परीक्षा लिएर मात्र भर्ना गर्ने गरेको छ ।     

महादेवस्थान गाविस झुडा डोटीका उमेश विक बोर्डिङ स्कुल छाडेर भगवती माविमा पढ्न आएका छन् । उनका भाइ दीपक पनि यहीं कक्षा २ मा अध्ययन गर्छन् । ‘भाइ कक्षामा फस्ट हुँदै आएको छ,’ उमेशले विद्यालयको वातावरणबारे प्रशंसा गर्दै भने, ‘तपाईं पत्याउनुहुन्न होला, हामी अंग्रेजी सिक्नकै लागि बोर्डिङ छाडेर यहाँ पढ्न आएका हौं ।’ उमेशले बोर्डिङ स्कुलको तुलनामा भगवती माविमा अंग्रेजी राम्ररी सिक्न सकिने बताए । कैलाली धनगढीबाट पढ्न आएकी अनिशा चौधरीले विद्यालयको शान्त वातावरण, अनुशासन र शिक्षकहरूको मेहनत लोभलाग्दो रहेको बताइन् ।

‘हामी १२ शिक्षक छात्रावासमै बस्छौं,’ शिक्षक रामबहादुर खत्रीले भने, ‘विद्यार्थीसँगै खाने, बस्ने र खेल्ने गर्दा हामी साथीजस्तै भएका छौं, उनीहरू नजानेको कुरा निर्धक्कसाथ हामीलाई सोध्छन् ।’  

२०१६ सालमा निर्माण भएको जीर्ण भवनमा छात्रावास छ । कक्षाकोठा अभावले बाहिर राखेर पढाउनुपर्ने बाध्यता छ । हामीले पूर्वाधारभन्दा पनि गुणस्तर शिक्षामा जोड दिएका छौं प्रअ सिंहले भने । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिंहले भने, ‘हाम्रो विद्यालय अहिले सुधारगृह जस्तो भइसक्यो, बिग्रिएका सन्तानलाई सुधार्न अभिभावक नै भर्नाका लागि जोड गर्छन् ।’कान्तिपुरमा खबर छ ।

Comments: