२०७६ असोज ३० गते

भवनको रकमसहित अध्यक्ष फरार

वैतडी । विद्यालयको छात्रावास भवन बनाउने रकम लिएर निर्माण समिति अध्यक्ष सम्पर्कविहीन हुँदा कामदारले ज्याला पाएका छैनन् ।

जिल्लाको उत्तरपूर्वी क्षेत्रमा पर्ने महादेवस्थानस्थित महेश्वरी मावि न्वाघरको छात्रावास निर्माण रकम झिकेर अध्यक्ष अम्मर भण्डारी साउनयता सम्पर्कविहीन बनेका हुन् ।

शान्ति तथा विकास कार्यक्रमअन्तर्गत जिल्ला प्राविधिक कार्यालयमार्फत उक्त विद्यालयमा ३ कोठे छात्रावास भवन बनाउने क्रमागत योजनाको ३ लाख ५७ हजार लिई भण्डारी भारत पसेको निर्माण समिति कोषाध्यक्ष कमला भट्टले बताइन् । ०७० मा उक्त भवन निर्माण सुरु भएको थियो । गत वर्षको २ लाख २८ हजार र अघिल्लो वर्षको १ लाख २९ हजार रकम तिर्न बाँकी रहेको उनले बताइन् । गत वर्ष मात्रै कामदार र निर्माण सामग्रीको २ लाख १० हजार भुक्तानी बाँकी छ ।

असार मसान्तमा रकम झिक्न अध्यक्षसहित सचिव र कोषाध्यक्ष जिविस पुगेका थिए । ११ जनाको निर्माण समितिमा अध्यक्ष, सचिव र कोषाध्यक्षको संयुक्त हस्ताक्षरबाट खाता सञ्चालन हुँदै आएको थियो । सचिव र कोषाध्यक्ष पदमा महिला छन् । सचिव धनमती बम र आफूलाई ५र५ हजार यातायात खर्च दिएर भण्डारीले चेक बुझेपछि घर नफर्केको उनले बताइन् । ३ कोठे भवनको लगातार ३ वर्षसम्म निर्माणमा बजेट आए पनि आधा पनि बनेको छैन । जिविसले गाविसमार्फत उपभोक्ता समिति गठन गरेकाले विद्यालयमा कुनै हिसाबकिताब नभएको महादेव माविका प्रअ दलबहादुर भण्डारीले बताए ।कान्तिपुरमा खबर छ ।

Comments: