२०७७ जेष्ठ २१ गते

कसरी अब्बल बने सरकारी स्कुल ?

काठमाडौं । भक्तपुरको वागीश्वरी माविमा अध्ययन गर्ने त्यसै विद्यालयका शिक्षक र कर्मचारीका छोराछोरी ५४ जना छन् । यो विद्यालयमा अध्ययन गर्ने सरकारी कर्मचारीका छोराछोरीको संख्या १ सय २६ छ । वागीश्वरीको पछिल्लो तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा यो जिल्लाकै उत्कृष्ट विद्यालयभित्र पर्छ । गत वर्ष एसएलसीमा २ सय विद्यार्थी सहभागी भएकोमा १४ जनाले ३.६ भन्दा बढी जीपीए ल्याएका थिए ।

ललितपुर पाटनको त्रि–पद्म माविमा प्राथमिक तहको शिक्षकका छोराछोरी पढिरहेका छन् । सरकारी कर्मचारीका छोराछोरी ७४ जना छन् । गत वर्षको एसएलसीमा ७९ जना सहभागी भएकोमा ३।६ भन्दा बढी जीपीए ल्याउने ७ जना छन् । यस वर्ष नयाँ भर्नाको इन्ट्रान्समा बोर्डिङबाट आएका विद्यार्थीसमेत अनुत्तीर्ण भएको प्रधानाध्यापक टीकाराम तिमल्सिनाले बताए । ‘पहिलो चरणको प्रवेश परीक्षामा सहभागी गाउँबाट आएका र सहरकै बोर्डिङका विद्यार्थी पनि अनुत्तीर्ण भए,’ उनले भने, ‘जनताको करबाट तलब खाने जोकोहीले पनि आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना नगरेसम्म सुधार हुन सक्दैन ।’ शिक्षकले आफ्ना छोराछोरी नपढाउनु भनेको आफ्नो विद्यालयलाई विश्वास नगरेको उनले बताए ।

जुन विद्यालयमा शिक्षक र सरकारी कर्मचारीका छोराछोरी पढ्छन्, त्यस विद्यायलमा विद्यार्थी खचाखच छन् । भक्तपुरको वागीश्वरी, काठमाडौंको ज्ञानोदय, मंगलोदय, तरुण, तिलिङगेटार र ललितपुरको आदर्श सौल, त्रि–पद्म यसका उदाहरण हुन् । यी विद्यालयको सिकाइ उपलब्धि (नतिजा) पनि राम्रो छ । पछिल्लो तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा विद्यालयको नतिजा उत्कृष्ट हुन सरकारी कर्मचारी, शिक्षकको छोराछोरी एउटा सूचकको रूपमा रहेको देखिन्छ । त्यसबाहेक स्थानीय (विद्यालयवरिपरि आफ्नै घर भएका) का बालबालिका भर्ना भएको विद्यालयको नतिजा पनि राम्रो पाइएको छ ।

सामुदायिक विद्यालयको व्यवस्थापनको पक्षमा विद्यावारिधि गरिरहेका पूर्वसचिव महाश्रम शर्माले आफू कार्यरत विद्यालयमा छोराछोरी पढाउँदा शिक्षक थप जिम्मेवार हुने पाइएको बताए । ‘जसले आफूले पढाउने विद्यालयमा छोराछोरी पढाएको छ, यो मेरो विद्यालय हो, म जिम्मेवार हुुनुपर्छ भन्ने देखियो,’ उनले भने, ‘छोराछोरी अन्यत्रै पढाउँछन् भने त्यस्ता शिक्षकको जागिर खाने मनस्थिति मात्रै हुने पाइयो । विद्यालय र विद्यार्थीप्रति कम जिम्मेवार हुने गरेको देखियो ।’ सरकारी कर्मचारीका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा निगरानी बढी हुने भएकाले नतिजा राम्रो हुने गरेको उनले बताए । ‘कम्तीमा आफनो बच्चा पढेको छ भने सुधारको सुझाव दिइरहँदारहेछन्, निगरानी पनि हुने रहेछ । शिक्षकले पढाएको छ छैन भन्नेमा चासो दिँदारहेछन्,’ उनले भने, ‘अरूले निगरानी गरिरहे शिक्षकले पनि राम्रो काम गर्नुपर्छ भन्ने भावना भएको पाएँ ।’ राम्रो काम गर्ने अठोट लिएका व्यवस्थापन समिति र प्रधानाध्यापककै कारण पनि विद्यालयमा सुधार भएको उनले बताए ।

यसको पछिल्लो उदाहरण काठमाडौं गागलफेदीको सिद्धिगणेश माविलाई लिन सकिन्छ । शिक्षक, कर्मचारी र व्यवस्थापन समितिका छोराछोरी, नातिनातिना पनि पढाउन थालेपछि विद्यार्थी संख्या बढ्नुका साथै नतिजा पनि हवात्तै बढेको छ । छोरी भर्ना नगरेकै कारण गत वर्ष एक शिक्षकले जागिरै छाड्नुपरेको थियो । विद्यालयले शिक्षकका छोराछोरी अनिवार्य रूपमा पढाउनुपर्ने नियम बनाएको छ । व्यवस्थापन समितिमा रहेका र उनीहरूका आफन्तका छोराछोरी पनि यही विद्यालयमा पढ्छन् । त्यसैले यो विद्यालयको नतिजा ०७० मा ८० प्रतिशत हाराहारीमा रहेकोमा ०७१ मा ९७ प्रतिशत पुग्यो । ०७२ मा २४ जनाले परीक्षा दिएकोमा सबैभन्दा कम १।६ जीपीए ल्याउने एक जना मात्रै थिए ।

भक्तपुरकै मेधा माविमा आठ जना शिक्षकका छोराछोरी पढिरहेका छन् । सरकारी कर्मचारीका सन्तान ३२ जना छन् । प्रधानाध्यापक गंगाधर हाडाका भतिजा आयुष पोटेले यस वर्ष एसईईको परीक्षा दिए । उनकै छोरा विशाल हाडाले यही विद्यालयबाट कक्षा १० पूरा गरिसके । सहायक प्रधानाध्यापक श्याम हाडाका छोरा सुदिन हाडा, निमावि शिक्षक कमला पन्थीका छोरा कोविन्द्रराज पन्थी यही विद्यालयमा पढिरहेका छन् । प्राथमिक तहका अन्य पाँच जना शिक्षकले पनि यही विद्यालयमा आफ्ना छोराछोरी पढाइरहेका छन् । विद्यालयको नतिजा शत प्रतिशत छ । गत वर्ष ३० जनाले एसएलसी दिएकोमा ३.६ भन्दा बढी जीपीए ल्याउने चार जना थिए । २.८ देखि ३।६ जीपीए ल्याउने ११ थिए । ०७० को नतिजा शत प्रतिशत र ०७१ मा ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भयो ।

काठमाडौं बाफलको ज्ञानोदय माविमा सिकाइ विधि, शिक्षकको मेहनतसँगै शिक्षक र सरकारी कर्मचारीका छोराछोरी पनि यहीं पढेकै कारण हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको हो । ज्ञानोदयमा शिक्षकका छोराछोरी पाँच जना पढ्छन् । सरकारी कर्मचारीका छोराछोरी एक सय ४० जना छन् । विद्यालयको गत वर्षको एसएलसीमा दुई सय एक जनाले परीक्षा दिएकोमा ३।६ भन्दा बढी जीपीए ल्याउने २५ जना छन् । ३.२० देखि ३.६० सम्म जीपीए ल्याउने मात्रै ४९ जना थिए । २.८० देखि ३.२० सम्म जीपीए ल्याउने ६२ जना थिए । १.६ जीपीए ल्याउने दुई जना मात्रै छन् । ‘विद्यालयमा सचेत अविभावक भएपछि नतिजा स्वतस् राम्रो भइहाल्छ,’ प्रधानाध्यापक नातिकाजी महर्जनले भने, ‘शिक्षक र सरकारी कर्मचारीले पढाउनु भनेको आफूले आफैंलाई विश्वास गर्नु हो । विद्यार्थी भर्ना गर्न टवाइलेटदेखि कक्षाकोठा घुमेर जान्छन् । कक्षामा शिक्षकले गर्ने कमजोरी नजिकबाट हेरिरहेका हुन्छन् । गुनासो पनि गर्छन् । त्यसकारण नतिजा राम्रो हुन्छ ।’

सरकारी कर्मचारी, सांसदको समेत आकर्षण रहेको बानेश्वरको रत्नराज्य माविको नतिजा पनि पछिल्लो समय सुधारउन्मुख छ । रत्नराज्य माविका नेपाली, गणित विषय शिक्षक र प्रावि तहका शिक्षकका छोराछोरी पनि पढिरहेका छन् । १ सय १९ जना सरकारी कर्मचारीका छोराछोरी पढाइरहेका छन् । बालाजुको तरुण माविमा अंग्रेजी, नेपाली, गणित, जनसंख्या विषयका शिक्षकका छोराछोरी र कर्मचारीका छोराछोरी पढिरहेका छन् ।

यो विद्यालयमा १ सय ५३ सरकारी कर्मचारीका छोराछोरी पढ्छन् । त्यसैले नतिजा राम्रो छ । शिक्षा कार्यालयका अनुसार पछिल्लो तीन वर्षको एसएलसी नतिजा विश्लेषण गर्दा ०७० मा ९२ प्रतिशत, ०७१ मा ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । ०७२ मा १ सय ४१ जनाले परीक्षा दिएकोमा नौ जनाले ३.६० जीपीए भन्दा बढी ल्याएका छन् । त्रिपुरेश्वरको विश्व निकेतन माविमा सहायक प्रधानाध्यापक र अन्य शिक्षकका छोराछोरी पनि पढ्छन् । यो विद्यालयबाट गत वर्ष १ सय ३५ जनाले परीक्षा दिएकोमा ३.६ भन्दा बढी जीपीए ल्याउने ११ जना थिए । शिक्षक कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा नपढाएसम्म सुधार हुन नसक्ने भक्तपुर वासु माविका प्रधानाध्यापक अम्बिका न्याइच्याईले बताइन् । उनको विद्यालयमा पाँचजना शिक्षकका छोराछोरी पढ्छन् । ‘शिक्षक कर्मचारीका छोराछोरीलाई अध्यापन नगराउनाले सामुदायिक विद्यालयको विश्वासमा कमी आएको हो,’ उनले भनिन् ।


ललिपुरमा सधैं जिल्ला उत्कृष्ट हुने आदर्श सौलमा अंग्रेजी शिक्षक र पेसा व्यवसाय तथा प्रविधि विषय शिक्षकका छोरी प्रारम्भिक बाल कक्षामा पढ्छन् । सरकारी कर्मचारीका छोराछोरी ६२ जना अध्ययनरत छन् । काठमाडौं थानकोटको मंगलोदय माविमा ५ जना शिक्षकका छोराछोरी अध्ययनरत छन् । यसले समुदायको मन जित्न सघाएको प्रधानाध्यापक लीलानाथ शर्माले बताए । ‘समुदायको मन जित्न त शिक्षकरकर्मचारीका छोराछोरी पढाउनैपर्छ,’ उनले भने, ‘विद्यालय सुधार्न र शिक्षकलाई विद्यालयप्रति जिम्मेवार बनाउन पनि छोराछोरी पढाउनैपर्छ ।’ त्यही विद्यालयका अर्को शिक्षकको छोराछोरी पढाउँदा कक्षा शिक्षक पनि थप जिम्मेवार बन्छन् ।

नियमित गृहकार्य दिने, परीक्षण गर्ने कार्यमा समेत सचेत हुन्छन् । विद्यार्थीलाई बुझाउने तरिका समेत फरक गर्न सक्छन् । तीन वर्षको एसएलसीको नतिजालाई आधार मान्दा काठमाडौंको ज्ञानोदय, मंगलोदय मावि थानकोट, बलम्बु मावि मानसिंह धर्म मावि मनमैजु, तिलिङगेटार मावि धापासी, युवा सहभागिता सितापाइला, रत्नराज्य बानेश्वर, तरुण मावि बालाजु, चामुण्डा मावि जोरपाटी, शिवपुरी मावि महाराजगन्ज, पद्मोदय मावि रामशाहपथ, अमरज्योति मावि स्युचाटार, सिद्धिगणेश मावि गागलफेदी, विश्वनिकेतन त्रिपुरेश्वर लगायतलाई लिन सकिन्छ । भक्तपुर वागीश्वरी, मेधा मावि तौलाछे, जोरपाटी मावि, चाँगुनारायण मावि, तारा मावि, वासु, ज्योति मावि गुण्डु, गणेश मावि नगदेश लगायतको नतिजा उत्कृष्ट छ । ललितपुरमा आदर्श सौल, त्रिपद्म विद्याश्रम मावि पुल्चोक, श्रमिक शान्ति उच्च मावि, नमुना मच्छिन्द्र, प्रभात, प्रगति शिक्षा सदन उच्च माविको नतिजा उत्कृष्टभित्र रहेको छ ।

सामुदायिक विद्यालय सुधार गर्न पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक र सामुदायिक शिक्षण संस्थामा काम गर्ने शिक्षक, कर्मचारी तथा नीति निर्माण गर्ने पदाधिकारीले सामुदायिक विद्यालयमा पढाउनुपर्ने व्यवस्थालाई छलफल गरेर नीतिगत व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । हालका शिक्षामन्त्री धनीराम पौडेलले पनि पोखरेलकै प्रतिबद्धताका आधारमा अर्को प्रतिबद्धता जारी गरे । तर यो व्यवस्था व्यवहारमा ल्याउन सकेनन् । कान्तिपुरले सामुदायिक विद्यालयका अविभावकको आकर्षण कम हुनुको कारण र सुधारको उपाय पत्ता लगाउन काठमाडौं, भक्तपुर र ललितपुरको विद्यालयमा अध्ययन गरेको थियो । सरकारी जागिरे र शिक्षकका छोराछोरी नपढाएकै कारण अन्य अभिभावकले पनि भर्ना नगरेको अध्ययनको निष्कर्ष छ ।

तीनकुनेको सिद्धेश्वर माविले शिक्षकले भरेको फारममा सामुदायिक विद्यालय सुधार गर्न सरकारी तलबभत्ता खाने कर्मचारी, शिक्षक, सेना प्रहरीका छोराछोरी सरकारी विद्यालयमा पढाउने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । ललितपुरको आदर्श सौलका शिक्षकले सामुदायिक विद्यालय सुधार गर्न सरकारी नोकरी गर्ने कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा अनिवार्य रूपमा पढाउनुपर्ने व्यवस्था गर्नुपर्ने औंल्याएको छ । यस्तै काठमाडौं दरबार क्षेत्रको नवआदर्श माविका शिक्षकले दिएको सुझावमा भनिएको छ, ‘विद्यालयमा कार्यरत शिक्षकका छोराछोरी आफू कार्यरत विद्यालयमा अनिवार्य पढाउनुपर्ने नियम बनाउनुपर्छ । राष्ट्रसेवक कर्मचारीहरूका छोराछोरी सरकारी विद्यालयमा पढाउनैपर्ने व्यवस्था लागू गर्नुपर्छ ।’

सरकारी कर्मचारीको छोराछोरी ४.३७ प्रतिशत मात्रै
कान्तिपुरले उपत्यकाका ५१ विद्यालयको अध्ययन गर्दा सरकारी विद्यालयमा ४.३७ प्रतिशत विद्यार्थी सरकारी कर्मचारीका छोराछोरी अध्ययन गर्छन् । ५१ विद्यालयमा अध्ययनरत ३२ हजार ६ सय २९ विद्यार्थीमध्ये १ हजार चार सय २७ जना विद्यार्थी छन् । सरकारी कर्मचारीका छोराछोरी तल्लो कक्षामा न्यून छन् भने माथिल्लो कक्षामा बढी छन् । कक्षा १ मा सरकारी कर्मचारीका छोराछोरी २२ जना, कक्षा २ मा ४४, कक्षा ३ मा ७६, कक्षा ४ मा ८९ जना र पाँच कक्षामा ९५ जना छन् । कक्षा ६ मा एक सय ३४, कक्षा ७ मा १ सय ४०, आठमा १ सय ५८, नौमा २ सय ७६ र कक्षा १० मा ३ सय ३२ जना अध्ययन गरिरहेका छन् । शिशु कक्षामा ६२ जना अध्ययन गरिरहेको पाइएको थियो । कान्तिपुर दैनिकमा मकर श्रेष्ठले खबर लेखेका छन् ।

Comments: