२०७६ असोज २९ गते

अछाममा ४१.८५ प्रतिशत महिला निरक्षर

अछाम । पूर्ण साक्षर जिल्ला बनाउने तयारीमा जुटेको यहाँको जिल्ला शिक्षा कार्यालयले गरेको सर्वेक्षणमा २९ प्रतिशत नागरिक निरक्षर रहेको पाइएको छ । जसमध्ये महिला ४१.८५ प्रतिशत अर्थात ३२ हजार ५ सय २२ निरक्षर छन् ।

 यो १५ देखि ६० वर्षसम्मका महिलाको तथ्यांक हो । प्रत्येक घरमा पुगी गरिएको सर्वेक्षणमा उक्त उमेर समूहका ४६ हजार ४ सय ११ निरक्षर रहेको पाइएको हो । जसमध्ये पुरुष १७.९ प्रतिशत अर्थात १३ हजार ९ सय ९ जना निरक्षर छन् । उक्त उमेर समूहका महिला ७७ हजार १ सय १८ र पुरुष ८१ हजार ४ सय ९ गरी कुल १ लाख ६९ हजार १ सय २७ जनसंख्यामा १ लाख १२ हजार ४ सय ९६ मात्र साक्षर छन् । पुरुषको भन्दा महिलाको साक्षरता प्रतिशत २४ प्रतिशतले कम छ । पुरुष ८२ प्रतिशत साक्षर रहेकामा महिला ५८ प्रतिशत मात्र साक्षर छन् ।

१५ वर्षभन्दा कम उमेरका निरक्षरको तथ्यांक संकलन गरिए पनि त्यो आउन बाँकी रहेको विद्यालय निरीक्षक हरिदत्त जोशीले बताए । जिल्ला शिक्षा कार्यालयले आफ्नै पहलमा प्रत्येक व्यक्तिको घरघरमा पुगेर यो तथ्यांक संकलन गरेको हो । सोही तथ्यांकलाई आधार मानेर अनौपचारिक शिक्षा समितिले चालु आर्थिक वर्षका लागि अछामलाई प्राप्त साक्षरता कक्षा वितरण गरेको छ ।

यसै आर्थिक वर्षभित्र साँफेबगर नगरपालिका पूरै तथा मंगलसेन नगरपालिकाका ६ वटा वडा र अन्य ५ गाविसलाई पूर्ण साक्षर घोषणा गर्ने उद्देश्य रहेको जिल्ला शिक्षा अधिकारी झंकरबहादुर विष्टले बताए । छोरी भनेका अर्काको घरमा जाने हुन् भनेर नपढाउने परम्परागत गलत मान्यता रहेको विष्टले बताए । कान्तिपुरमा खबर छ ।

Comments: