२०७६ असोज २९ गते

सरकारले तोक्यो बालबालिकाको खेलौनामा हुनुपर्ने धातु तथा रसायनको मापदण्ड

काठमाडौं । सरकारले बालबालिकाले प्रयोग गर्ने खेलौनामा हुने गह्रौं धातु लिड लगायतका अन्य रसायनिक पदार्थको मापदण्ड तोकेको छ ।

मापदण्ड अनुसार नभएका खेलौनाहरु मुलुक भित्र आयात, भण्डारण, विक्री वितरण, उत्पादन मात्र नभई प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । सरकारले लगाएको उक्त प्रतिबन्ध १८१ दिन पछि लागु हुने छ ।
 
राजपत्रमा सोमबार प्रकाशित उक्त मापदण्ड जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन–२०५३ को दफा ७ को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरेर निर्धारण गरेको हो । सरकारले १० वटा तत्व र दुईवटा यौगिक गरी बालबालिकाले उपयोग गर्ने खेलौनामा १२ वटा धेरै बढी घातक रसायन र तत्वको अधिकतम मात्रा निर्धारण गरेको हो ।
 
यस अनुसार क्याडमियम, क्रोमियम, लेड (सिसा), मर्करी (पारो), जिंक, एन्टिमनी, आर्सेनिक, बेरियम, सेलिनियम, ब्रोमाइन, विस फेनोल ए र  फथालेटस छन् । यी रसायनहरुको सम्पर्कमा आउनाले बालबालीकाको शारीरिक, मानसिक र बौद्धिक विकासमा असर पुग्ने गर्छ । सरकारले १६ वर्ष उमेर समूहसम्मका बालबालिकाले खेल्न प्रयोग गर्ने समाग्रीलाई खेलौनाका रुपमा समेत परिभाषित गरेको छ ।

हाल मुलुकमा उपयोग भइरहेको खेलौनाहरु बालबालिकाहरको लागि सुरक्षित नरहेको अध्ययनहरुले देखाएका छन् ।

तीन वर्ष अघि गरिएको एक अध्ययनमा देशमा उपयोग गरिने करिव ५४ प्रतिशत खेलौनामा स्वास्थ्यको दृष्टिकोणले अत्यन्त हानीकारक रहेका गह्रौं धातु लिड, मर्करी, क्रोमियम, क्याडमियम र ब्रोमीनको स्तर निकै उच्च पाइएको थियो ।
 
जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्रले दक्षिण कोरियाको संस्थाको सहयोगमा उक्त अध्ययन गरेको थियो । अध्ययन अन्तर्गत काठमाडौं, ललितपुर, भक्तपुर तथा काभ्रेका विभिन्न बजारबाट एकसय प्रकारका प्लास्टिक, धातु, काठ, रबर, माटो, कपास वा कपडा, फोम, तथा कागजबाट बनेको खेलौनाहरुका अनुसन्धान गरिएको थियो ।
 
केन्द्रका कार्यकारी निर्देशक एवं वातावरण वैज्ञानिक रामचरित्र साहको अनुसार उक्त अध्ययनमा उपयोग भएको खेलौनाको नमुनामा मध्ये २८ वटामा सिसा, एकमा पारो, ९ वटामा क्याडमियम, १४ वटामा क्रोमियम र ४० वटामा ब्रोमिन भेटिएको थियो ।

अध्ययनमा पाइएको रसायन मध्ये ४६.४२ प्रतिसत खेलौनामा अमेरीकी र यूरोपीयन मापदण्ड (९० पिपिएम) भन्दा बढी सिसा, ३३.३३ प्रतिसतमा ७५ पिपिएमको मापदण्ड भन्दा बढी क्याडमियम र ४२.८५ प्रतिसतमा ६० पिपिएमको मापदण्डभन्दा बढी क्रोमियम पाइएको थियो । साहका अनुसार अध्ययन अन्तर्गत सयवटै नमुनामा ब्रोमिन धेरै बढी पाइएको थियो ।

खेलौनामा हुने रसायनले गर्ने नकारात्मक असर
बालबालिकाको खेलौनामा पाइने विभिन्न १२ रसायन र तत्वहरुले शारिरीक र मानसिक विकासमा अवरोध उत्पन्न गर्नुको साथै विभिन्न प्रकारको नकारात्मक असर पुर्‍याइरहेको हुन्छ ।
 
साहको अनुसार खेलौनामा रहेको सिसाले बालबालिको आइक्यु (बौद्घिक) क्षमता कम गर्नुको साथै शारीरिक र मानसिक विकासमा समेत अवरोध पुर्‍याउँछ । क्याडमियमले गर्दा बालबालिकाको मानसिक विकास ढिलो हुनुको साथै हाड कमजोर हुने, हाड दुख्ने, मृगौलामा समेत नकारात्मक असर गर्छ ।
 
खेलौनामा भएको पारोले मस्तिष्क र मृगौलामा नकारात्मक प्रभाव पार्नुको साथै सुन्ने, बोल्ने र हेर्ने क्षमतामा समेत कमी ल्याउँछ । क्रोमियमले एलर्जी हुनुका साथै रोगसँग लड्ने क्षमतामा कमी ल्याउने, कलेजोरमृगौला बिगार्ने, फोक्सोको क्यान्सर गराउने सम्भावना रहन्छ ।

खेलौनामा निर्धारित मात्रा भन्दा बढी रहेको ब्रोमिनले घाँटी र आँखा चिलाउने, स्नायु प्रणालीले राम्रो काम नगर्ने, जिन समेत प्रभावित हुनसक्ने हुन्छ । यस्तै पैथेलेटसले स्नायु प्रणालीको विकासमा असर पुर्‍याउनुको साथै बानी व्यहोरा परिवर्तन गर्न सक्ने, प्रजनन् तन्त्रमा असर पार्ने समेत सम्भावना हुन्छ । कान्तिपुरमा खबर छ ।

Comments: