२०७६ मंसिर २१ गते

रोल्पाका विद्यालयमा छोटिदै केटाको लाईन

अन्तैबाट

रोल्पा । रोल्पाका विद्यालयमा केटाहरुको संख्या वर्षेनी घटिरहेको छ । आधारभूत तहसम्म केटा र केटीको संख्या वरावर देखिए पनि माध्यामिक र उच्च माध्यामिक तहमा भने यो संख्या ह्वात्तै घट्दै गएको छ ।


जिल्ला शिक्षा कार्यालय रोल्पाको अभिलेखमा अघिल्ला वर्ष विद्यालयमा भर्ना भएका विद्यार्थीको संख्या हेर्दा यस्तो अवस्था देखिएको हो । अधिकांश केटाहरु आधारभूत तह पुरा नगर्दै रोजगारीका विभिन्न अवसरको खोजी गर्नका लागि विद्यालय छोड्ने गरेको देखिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण विचैमा पढाई छोडेर रोजगारी खोज्न थालेको वताइए पनि यसका अरु पनि कारण हुन सक्ने भएकाले खोजीको विषय वन्दै गएको छ ।


शैक्षिक सत्र २०७१ मा जिल्लामा ६७ हजार १०४ विद्यार्थी आधारभूत तहमा भर्ना भएका थिए । जसमध्ये ३४ हजार ३४५ केटी र ३२ हजार ७५९ केटा रहेका थिए । सोही वर्ष माध्यमिक तहमा भर्ना भएका कुल ६ हजार ९१ विद्यार्थी मध्ये ३ हजार २२६ केटी र २ हजार ८६५ केटा थिए । शैक्षिक सत्र २०७२ मा आधारभूत तहमा भर्ना भएका कुल ८१ हजार १३५ विद्यार्थी मध्ये केटा केटीको संख्या वरावर देखिएको छ । सोही वर्ष माध्यमिक तहमा भर्ना भएका ७ हजार १७४ मध्ये ५३ प्रतिशत केटी र ४७ प्रतिशत केटाको संख्या रहेको छ । शैक्षिक सत्र २०७३ मा आधारभुत तहमा अध्ययन गर्ने ६३ हजार ९१३ मध्ये केटा र केटीेको संख्या करिव वरावर देखिएको छ । माध्यमिक तहमा भर्ना भएका कुल विद्यार्थी ७ हजार ५११ मध्ये केटी ५२ प्रतिशत र केटा ४८ प्रतिशत मात्र देखिएको छ । शैक्षिक सत्र २०७४ मा आधारभूत तहमा भर्ना भएका कुल ६० हजार १९१ मध्ये करिव ५१ प्रतिशत केटी र ४९ प्रतिशत केटाको संख्या देखिन्छ । सोही वर्ष माध्यमिक तहमा भर्ना भएका कुल ८ हजार ४७६ मध्ये केटी ५५ प्रतिशत र केटा ४५ प्रतिशत देखिएका छन ।


तल्ला तहमा केटा केटीको संख्यामा खासै अन्तर नदेखिए पनि कक्षा वढ्दै जाँदा केटाको संख्या घट्दै गएको तथ्याङ्कका देखिएको छ । कक्षा ७ सम्म केटाकेटीको संख्या वरावर रहे पनि कक्षा ८ देखी केटाहरुले पढाई छाड्न सुरु गर्ने गरेको वताईन्छ । कक्षा ९ र १० सम्म पुग्दा केटा र केटीको संख्यामा ठूलो अन्तर हुदै जाँदा कक्षा ११ र १२ सम्म यो संख्याले निरन्तरता पाउदै गएको तथ्यांकमा देखिएको छ ।


देशका अन्य जिल्लामा केटीको तुलनामा केटाको संख्या वढिरहदा रोल्पामा भने ठिक उल्टो देखिएको छ । जिल्लाका सामुदायिक र संस्थागत दुवै विद्यालयको अवस्था करिव उस्तै रहेको वताईन्छ । संस्थागत विद्यालयमा समेत केटाको तुलनामा केटीको संख्या वढि देखिने गरेको छ ।


माध्यमिक तहमा अध्ययन गर्दा गर्दै विवाह गर्नेको संख्या पनि अधिक देखिएको छ । १६÷१७ वर्षकै उमेरमा विवाह गर्ने, विवाह पछि घर व्यवहारका कारण रोजगारी खोज्नु पर्ने वाध्यताका कारण केटाहरुको संख्या घट्दै गएको वताईन्छ । १६ वर्ष पुग्ने वित्तिकै एक हातले नागरिकता लिने र अर्को हातले राहादानी वनाउने संख्या अधिक छ प्रमुख जिल्ला अधिकारी गंजवहादुर एमसीले भने । पढाइ सकेर रोजगारीको अवसर खोजी गर्ने भन्दा पनि पढाई छोडेरै राजगारीमा जानेको संख्या वढि देखिएको एमसीले वताए । जिल्लाको अधिकांश युवा जनशक्ति अदक्ष कामदारको रुपमा खाडी जाने गरेको पाइएको छ एमसीले भने ।


जिल्ला प्रशासन कार्याल रोल्पाको अभिलेख अनुसार हरेक वर्ष करिव ५ हजार युवाले राहादानी वनाउने गर्दछन । त्यसरी राहादानी वनाउने मध्ये अधिकांश १६ देखी २५ वर्ष उमेर समूहका देखिएका छन । पछिल्लो पटक महिलाहरु पनि रोजगारीमा खाडी जाने गरेको भए पनि त्यसरी खाडी जाने महिला ५ प्रतिशत भन्दा कम देखिन्छ । केटाहरु कम उमेरमै विदेश जाने भए पनि केटीहरु भने परिपक्व उमेर भए पछि मात्रै विदेश जाने गरेको तथ्यांकमा देखिन्छ । जिल्लामा हालसम्म करिव ४९ हजार जनाले राहादानी लिएको वताइएको छ । उल्लेखित संख्या मध्ये ४५ हजार रोजगारीका लागि विदेशीएको हुन सक्छन अधिकारकर्मी खेल वुढाले भने । विदेशीनेहरु अधिकांश असुरक्षित र जोखिमपूर्ण काम गर्न वाध्य छन वुढाले भने ।


सानै उमेरमा विवाह गर्ने, वैदेशिक रोजगारीका लागि खाडी जाने आदि कारणले विद्यालयमा केटाको संख्या घट्दै गईरहेको जिल्ला शिक्षा समन्वय ईकाई रोल्पाका ईकाइ प्रमुख धनवहादुर गुरुङले वताए । माध्यमिक तह सम्म अध्ययन पुरा नगरेरै विदेश जाने प्रवृत्ती वढिरहेका कारण तल्ला कक्षामा केटा केटीको संख्या समान देखिए पनि माध्यमिक तहमा केटाको संख्या घटिरहेको छ गुरुङले भने ।


विद्यालयमा केटीहरुको संख्या वढ्दै जानु सकारात्मक रहे पनि केटाको संख्या घट्दै जानु समविकासको दृष्टिकोणले सकारात्मक नभएको वालकल्याण नमूना माविका प्राचार्य मधुसुदन पोख्रेलको भनाई छ । केटीहरुको शिक्षामा राज्यको विशेष लगानी समेत रहेकाले प्रतिफल सकारात्मक देखिए पनि केटाको संख्या घट्नु राम्रो संकेत होईन पोख्रेलले भने । छिमेकी वा परिवारकै सदस्यको देखासिकीमा विदेश जानेहरुको मात्रा पनि अधिक छ, कम्तिमा माध्यामिक तहको अध्ययन पुरा गरेर विदेश जाने परिपाटी भए केटाहरुको संख्या वढ्न सक्छ पोख्रेलले भने । जिल्लामा रोजगारीका अन्य विकल्प नदेखेर मजदुरी गर्न खाडी जाने चलन वढ्दै जाँदा त्यसको असर शिक्षामा परिरहेको छ प्राचार्य पोख्रेलले भने ।


माध्यमिक तह भन्दा माथि अध्ययन गर्ने केटाहरुको संख्यामा वर्षेनी आउने गरेको गिरावटले जिल्लाको समग्र विकासमा दीर्घकालिन असर पुग्ने देखिन्छ । केटीहरुको शिक्षाका लागि राज्यले गरेको लगानी उपलव्धीमुलक देखिए पनि केटाको संख्या घट्दै जानुले संवेदनशीलता थपि दिएको जिल्लावासीहरुले वताएका छन ।

महेश न्यौपानेले नेपाल समाचारपत्रमा खबर लेखेका छन् ।

Comments: