२०७७ जेष्ठ १९ गते

एउटै जिल्लामा २ शिक्षा अधिकारी

मनाङ । हिमाली जिल्ला मनाङको जिल्ला शिक्षामा दुईजना अधिकारीले काम गरिरहेका छन् । शिक्षा मन्त्रालयले रमाकान्त शर्माको सरुवापत्र नपठाई विभागबाट टुकराज अधिकारीलाई खटाएपछि दुवै जनाले हाजिर गरिरहेका हुन् ।

गत भदौ ५ गतेको सविचस्तरीय बैठकको निर्णयले सरुवा गरेको भनिए पनि एक महिनासम्म शर्माको हातमा पत्र परेको छैन । अधिकारीले सरुवा भएको ४ सातापछि आइतबारदेखि हाजिर गर्न थालेका छन् । मन्त्रालयले विभागबाटै उनलाई काज खटाएको हो । शर्मालाई विभागमा काज सरुवा गरिएको छ । सरुवा भएको खबर सुनिए पनि पत्र प्राप्त नभएकाले उनी अन्योलमा छन् । ‘मन्त्रालयले पत्र पठाएको छैन । न फ्याक्स आउँछ, न इमेल नै,’ उनले भने । उपजिल्ला शिक्षा अधिकारीको दरबन्दी खाली रहे पनि जिल्ला शिक्षा अधिकारीलाई काज सरुवा गरेर त्यही ठाउँमा अर्कालाई काजमा ल्याइएको हो ।

शर्मा गत फागुनदेखि मनाङमा कार्यरत छन् । उनले सरुवा भएर आएका नयाँ शिक्षा अधिकारीलाई टीका र खादा लगाएर शिक्षा कार्यालयमै स्वागत गरेका छन् । ‘केही दिन अझै कुर्छु । इमेल वा फ्याक्स केही आउँछ कि । नभए मन्त्रालय गएर सरुवापत्र लिई दसैंपछि रवाना लिएर विभाग जानुपर्ला,’ उनले भने ।कान्तिपुर दैनिकमा खबर छ ।

 

Comments: