२०७७ जेष्ठ १८ गते

३५४ ‘मास्टर डिग्री’ होल्डर म्यादी प्रहरी

काठमाडौं । म्यादी प्रहरीमा देशभरबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका ३ सय ५० भन्दा बढी जनशक्ति छनोट भएका छन् । वैशाख ३१ को स्थानीय तह निर्वाचन सुरक्षाका लागि पाँच क्षेत्रबाट ३ सय ५४ जना स्नातकोत्तर उत्तीर्ण म्यादी प्रहरीमा छनोट भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

म्यादीमा स्नातक तह उत्तीर्णको संख्या पनि २ हजार ५ सय भन्दा बढी रहेको छ । प्रहरीले शुक्रबार प्रकाशित गरेको अन्तिम नामावलीअनुसार म्यादी छनोटमा प्रमाणपत्र तहदेखि स्नातकोत्तर गर्नेको संख्या उल्लेख्य रहेको जनाएको छ ।

प्रहरीका अनुसार म्यादीमा आवेदन दिने स्नातक र स्नातकोत्तर गरेका अधिकांश उत्तीर्ण भएका छन् । देशमा बढ्दो शैक्षिक बेरोजगारी तथा विदेशमा सजिलै सुरक्षागार्डको रोजगारी पाउने लोभका कारण पनि उच्च शिक्षा हासिल गरेका जनशक्ति म्यादीमा इच्छुक देखिएको प्रहरीको भनाइ छ ।

म्यादीमा भर्ना भएका युवालाई मकाउ, साउदी अरब, मलेसिया, कतार, बहराइन लगायत मुलुकका कम्पनीले सजिलै सुरक्षा गार्डमा रोजगारी दिने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । सबैभन्दा बढी काभ्रेबाट २ सय ९७ जना स्नातकोत्तर उत्तीर्ण म्यादीमा छनोट भएका छन् ।

यस्तै, पाँचथरबाट २२ जना छन् । प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खनालका अनुसार डडेल्धुराबाट ३, मकवानपुरबाट २, रसुवा र कैलालीबाट १÷१ जना स्नातकोत्तर म्यादीमा छनोट भएका छन् ।

म्यादीमा छनोट भएका एकजना म्यादीका लागि सरकारले करिब ५० हजार रुपैयाँ खर्च गर्नुपर्छ । पूर्वप्रहरी महानिरीक्षक रविन्द्रप्रताप शाह उच्च शिक्षा हासिल गरेका व्यक्ति म्यादी प्रहरीमा आउनुलाई शैक्षिक बेरोजगारको अवस्था र प्रहरीप्रति आकर्षण भएको दाबी गर्दछन् । कारोबार दैनिकमा मातृका दाहालले खबर लेखेका छन् ।

Comments: