२०७६ चैत्र १५ गते

शैक्षिक वकालत गर्न रोल्पामा पनि शिक्षाका लागि राष्ट्रिय अभियान गठन

महेश न्यौपाने/रोल्पा

रोल्पाको शैक्षिक क्षेत्रका समग्र सवालको वारे जनवकालत गर्ने भन्दै शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला समन्वय समिति गठन गरिएको छ । नागरिक समाज र मिडियाका प्रतिनिधिमुलक संस्थाहरु आवद्ध रहने गरि गठित उक्त समितिमा हाल ९ संस्थाको प्रतिनिधित्व रहेको छ ।


संस्थामा नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ, जलजला वहुमुखी क्याम्पस, रेडियो रोल्पा, सन स्टार साप्ताहिक, मानव अधिकार सचेतन केन्द, सेतो गुरास र विकास सरोकार समाज रोल्पाको प्रतिनिधित्व रहेको छ ।


 'शिक्षा संवन्धि विभिन्न परियोजना संचालन गरिरहेका गैर सरकारी संस्था तथा स्थानीय संचार माध्यम र जनवकालतमा आधारित संस्थाहरु सदस्य रहेका छन', मानव अधिकार सचेतन केन्द्र रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले भने ।


उक्त समन्वय समितिको संयोजन हाल मानव अधिकार सचेतन केन्द्रले गर्ने भएको छ । संस्थाका अध्यक्ष घनश्याम आचार्यलाई संयोजकको जिम्मेवारी दिने संभावना रहेको आचार्यले जानकारी दिए ।


 समन्वय समितिका सदस्यहरुले एक संस्थालाई संयोजक तोक्ने प्रचलन रहेको छ भने तोकिएको संस्थाको कार्यसमितिले संयोजनको लागि व्यक्ति छनौट गर्ने चलन रहदै आएको वताइएको छ । सोही प्रचलन अनुसार मानव अधिकार सचेतन केन्द्रको कार्यसमितिले केही दिन भित्र संयोजक छनौट गर्ने आचार्यले बताए ।


जिल्लाको शैक्षिक विकासका लागि जनवकालत मार्फत शैक्षिक सुधारमा योगदान पु¥याउने लक्ष्य रहेको अर्को सदस्य संस्था विकास सरोकार समाज रोल्पाका उपाध्यक्ष श्रवणकुमार नेपालीले बताए ।


शिक्षा क्षेत्रका विकृती विसंगतीको चिरफार गर्नुका साथै असल अभ्यासका प्रचार प्रसारको काम पनि हुन्छ उपाध्यक्ष नेपालीले भने । स्थानीय तहमा शिक्षालाई प्राथमिकतामा राखी वजेट विनियोजन गर्न दवाव सिर्जना गर्ने काम पनि अभियानले गर्ने नेपालीले स्पष्ट पारे ।


संस्थाहरुलाई शैक्षिक वकालतमा सक्षम वनाउन तथा यसको पक्षमा व्यापक जनअभिमत तयार गर्न यस्ता संजाल सहयोगी हुने बताइएको छ ।


जिल्ला, प्रदेश र केन्द्रमा समेत संजाल रहेको यस अभियानले निकट भविष्यमा प्रदेश र संघको समेत अधिवेशनवाट नेतृत्व चयन गर्न लागेको वताइन्छ ।


 निकट भविष्यमा हुने प्रदेश र संघको अधिवेशनका लागि समेत प्रतिनिधि छनौट गरि सकिएको शिक्षाका लागि राष्ट्रिय अभियान रोल्पाको संयोजन संस्था मानव अधिकार सचेतन केन्द्रका राजु आचार्यले जानकारी दिए ।

Comments: