२०७६ असोज २८ गते

न्याम्सलाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गरिने

काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) लाई केन्द्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने भएको छ । सरकारले गाउँ–गाउँसम्म स्वास्थ्य सेवा पुर्‍याउन लिएको उद्देश्य पूरा गर्न न्याम्सलाई विश्वविद्यालयमा विकास गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको उपकुलपति डा. गणेश गुरुङले जानकारी दिए । उनका अनुसार सरकारको लक्ष्य र योजनाअनुसार प्रतिष्ठानले आफ्ना कार्यक्रम अञ्चल अस्पताल र क्षेत्रीय अस्पतालमा विस्तार गर्न लागेको छ ।

वार्षिक १७ सय चिकित्सक उत्पादन
हरेक वर्ष नेपालमा १७ सय चिकित्सक उत्पादन हुन्छन् । यसमध्ये विशेषज्ञ चिकित्सक चार सयजना रहेको डा. गुरुङले जानकारी दिए । ‘यसबीचमा धेरै ठूलो ग्याप रहेको छ । यसलाई पूर्ति गर्न पनि अन्डरग्य्राजुएटभन्दा पोस्टग्य्राजुएटमा हामीले जोड दिएका हौँ,’ गुरुङले  भने । नेपालमा अहिले विशेषज्ञता हासिल गरेका चिकित्सकको आवश्यकता देखिएको छ । गुरुङले मुलुक संघीय संरचनामा जाँदै गर्दा सरकारलाई ‘अन्डर ग्य्राजुएट’भन्दा ‘पोस्टग्य्राजुएट’ आवश्यक पर्न जाने बताए । ‘विशेषज्ञ चिकित्सकले शिक्षा, अनुसन्धान र गुणस्तरीय सेवा दिन सक्ने भएका कारण राज्यको ध्यान ‘पोस्टग्य्राजुएट’ शिक्षातर्फ जान जरुरी रहेको छ,’ उपकुलपति गुरुङले भने ।

कुन–कुन जिल्लामा पुगे विशेषज्ञ चिकित्सक ?
न्याम्सले सेवा विस्तारका क्रममा धादिङ, अछाम, पाल्पा, रुपन्देही, चितवनलगायतका जिल्लामा विशेषज्ञ चिकित्सक पठाएको छ । उनीहरूले गाउँमा गएर स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका गरिब र विपन्न वर्गका जनतालाई सेवा दिइरहेको उपकुलपति गुरुङले बताए । ‘न्याम्सलाई विश्वविद्यालयका रूपमा लगेपछि राज्यले लगानी पनि ठूलो मात्रामा गर्नुपर्ने हुन्छ,’ गुरुङले भने, ‘यो ठूलो चुनौती हो, देशैभरि सेवा दिँदै गर्दा अत्याधुनिक स्रोतसाधनले समुन्नत हुनुपर्छ । एकैपटक सेवा विस्तार गर्दा न्याम्ससँग जनशक्तिको आवश्यकता पर्न जान्छ ।’ विशेषज्ञ चिकित्सकले बाहिर गएर अध्ययन–अध्यापन र कुनै अनुसन्धान नगरेका कारण उनीहरूलाई बाहिरी वातावरणमा लैजान केही समय लाग्ने उपकुलपति गुरुङले बताए ।

भरतपुर, विराटनगर र बुटवलमा सेवा विस्तार
न्याम्सले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन भरतपुर, विराटनगर र बुटवलमा सेवा सुरु गरेको छ । यो सेवा देशैभरि विस्तार गर्दै लैजाने उनले बताए । छिटै नेपालगन्ज र वीरगन्जमा पनि सेवा विस्तार गर्ने कार्य थालिएको उनले जानकारी दिए । नेपालका तीन सय शैयामाथिका अस्पतालमा न्याम्सले शैक्षिक कार्यक्रम लागू गर्ने उपकुलपति गुरुङको भनाइ छ । यस्ता अस्पताल शैक्षिक युनिटका रूपमा विकास हुने उनले बताए । न्याम्सले सुरु गरेको कार्यक्रमले देशमा क्षमतावान् चिकित्सकको उत्पादन हुने गुरुङको विश्वास छ । ‘यसरी उत्पादन भएका चिकित्सकले गुणस्तरीय सेवा दिनेछन्,’ गुरुङले थपे । सरकारले सबै क्षेत्रमा स्वास्थ्यको पहुँच पु¥याउन राखेको लक्ष्य पूरा गर्न न्याम्सले सेवा विस्तारमार्फत महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । नयाँपत्रिकामा खबर छ ।

Comments: