२०७७ जेष्ठ २१ गते

बालमैत्री कक्षाले उक्सेको विद्यालय

बैतडी । कतिपय अभिभावकका छोराछोरी सानो उमेरमा विद्यालय जान आनाकानी गर्छन् । उनीहरूलाई स्कुलसम्म पुर्‍याउन र त्यहाँ टिकाइराख्न अभिभावकले ठूलै संघर्ष गर्नुपर्छ । बैतडीको पाटन नगरपालिका वडा नं ९ सिद्धेश्वर र आसपासका बालबालिका भने विद्यालय जान निकै खुसी हुन्छन् । उनीहरू बिहान उठेदेखि नै स्कुल जाने हतारमा देखिन्छन्, करकापमा परेर होइन, रमाएर ।

विद्यालयमा बालमैत्री वातावरण भएपछि बालबालिकाहरू पढ्न पाएकोमा खुसी मात्र हुँदैनन्, धेरैजसो समय स्कुलमै बिताउन रुचाउँछन् । पाटन नगरपालिका वडा नं ८ झौलेककी भावना भट्ट कक्षा १ की छात्रा हुन् । उनी विद्यालय जान आफ्ना हजुरबुवा परमानन्द भट्टलाई छिटो तयार हुन आग्रह गर्छिन् । परमानन्द भन्छन् ‘नातिनी बिहानै आफ्नी आमासँगै उठेर विद्यालय जानका लागि तयार पारिदेऊ भन्छिन् । मलाई पनि छिटो जाउँ हजुरबुवा भन्दै कहर गर्छिन् । स्कुलमा त टीभी हेर्न पाइन्छ,खेल्न पाइन्छ भनेर खुसी हुन्छिन् ।’

भावनाजस्तै पाटन नगरपालिका वडा नं ८ झौलेकका हिमांशु भट्ट पनि विद्यालय जान सधैं आतुर देखिन्छन् । हिमांशुकी आमा लीला भट्ट भन्छिन् ‘मेरो छोरा मामु विद्यालयमा छिटो जाऔं, सरले खेल खेलाउनुहुन्छ भन्दै रमाउने गरेको छ । छोरा रमाएपछि म पनि उसका लागि टिफिन तयार पारेर छिटै विद्यालयमा पुर्‍याउने गर्छु ।’

पाटन नगरपालिका वडा नं ८ जुकेपानीकी लक्ष्मी विक शिशु कक्षामा पढ्छिन् । उनी विद्यालयमा घरी कुसुममा त घरी कुर्सीमा बस्छिन् । अनि विद्यालयकी शिक्षिकासँग आमाजस्तै कुरा गर्छिन् । विद्यालयको कोठाको भित्तामा झुन्ड्याएर राखेका चित्रहरूको बारेमा सोध्ने गर्छिन् । लक्ष्मीकी आमा कान्ति विक विद्यालयमा पुग्ने बेला लक्ष्मी मामु ऊ भित्तामा झुन्ड्याएको हाम्रो देशको नक्सा हो है भनेर देखाउँछिन् ।

जिल्लाको पूर्वी क्षेत्रमा रहेको ज्ञानेश्वर माविमा पढ्ने बालबालिकाहरू निकै मनोरम वातावरण पढिरहेका पाइन्छन् । वि सं २०३२ सालमा स्थापना भएको यो विद्यालय जिल्लाका सामुदायिक विद्यालयमध्येको नमुना विद्यालय हो । प्राथमिक तहका बालबालिकाहरूलाई यो विद्यालयमा बालमैत्री कक्षाको अवधारणामा पढाउने गरिन्छ । विद्यालयका प्रधानाध्यापक तर्कराज भट्ट भन्छन् ‘बालबालिकाको जग भनेको प्राथमिक शिक्षा हो । प्राथमिक शिक्षालाई हामीले सकेसम्म व्यावहारिक र बालमैत्री बनाउने प्रयास गरेका छौं ।’

कक्षा ५ सम्मका विद्यार्थीका लागि अलगै भवनको व्यवस्था गरिएको छ । कक्षाकोठामा कुसुम र बेबी चेयरको व्यवस्था गरिएको छ । प्रधानाध्यापक भट्ट भन्नुहुन्छ ‘बालबालिकालाई कुुसुममा बस्ने मन लागे कुसुममा बस्छन् कुर्सीमा बस्ने मन लागे कुर्सीमा बस्छन् । हामीले ग्रेड शिक्षकको व्यवस्था गरेर पठनपाठन गरिररहेका छौं । कक्षा ३ सम्म गे्रड शिक्षकको व्यवस्था गरेका छौं । यसरी ग्रेड शिक्षकको व्यवस्था गरेर पठनपाठन गराउने सम्भवतः हामी नै हौं ।’

मानिसमा काम गर्ने इच्छाशक्ति भयो भने सबै कुरालाई परिवर्तन गर्न सकिन्छ । सिद्धेश्वरमा रहेको ज्ञानेश्वर मावि नमुना विद्यालय भएको धेरै वर्ष भएको छैन् । समस्या नै समाधानको जननी हो भने झै २०६७ सालमा पुरानो विद्यालय भवन भत्केपछि ज्ञानेश्वरको मुहार फेरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्ट भन्छन् ‘हामीसँग एउटा पुरानो भवनमात्रै थियो त्यो पनि भत्कियो । त्यसलाई बनाउन तत्काल कतैबाट सहयोग पाइएन । त्यसपछि अभिभावकको भेला बोलाएर विद्यालयकै लगानीमा भवन निर्माण गर्‍यौं। अनि विद्यालयलाई उत्कृष्ट बनाउने अठोट पनि ग¥र्यौं ।’ उनले अगाडि थपे ‘सोही अठोटअनुसार विद्यालयका अभिभावक, शिक्षक मिलेर यसलाई नमुना बनाउने प्रयास गरेका हौं । प्रावि तहमा हामी जिल्लाकै नमुना विद्यालयको रूपमा रहेका छौं ।’

ज्ञानेश्वर माविलाई नमुना बनाउने क्रममा अभिभावकको पनि ठूलो योगदान रहेको प्रधानाध्यापक तर्कराज भट्टले बताए । उनले भने ‘अहिले हाम्रो विद्यालयमा बोर्डिङ स्कुलको भन्दा कम पढाइ छैन । नजिकैका बोर्डिङ स्कुलबाट छुटाएर अभिभावकले हाम्रो विद्यालयमा भर्ना गर्छन् ।’ प्राथमिक तहमा अध्यापन गराउने शिक्षक बलदेव केसीका अनुसार आसपासमा प्राथमिक विद्यालय छँदाछँदै पनि ज्ञानेश्वरमा विद्यार्थी चाप थेगी नसक्नु छ । उनी भन्छन् ‘हामी बालबालिकालाई घरकै वातावरण दिने प्रयासमा छौं । उनीहरूले चाहेअनुसारको व्यवहार गर्छौं । अहिले त हामीले प्रोजेक्टरको माध्यमबाट पनि पढाइ सुरु गरिसकेका छौं ।’

जिल्ला शिक्षा कार्यालयले पनि पटक अनुगमन गर्दा शैक्षिक गुणस्तर, भौतिक व्यवस्थापन, सरसफाइ, कक्षाकोठा व्यवस्थापन ज्ञानेश्वर मावि उत्कृष्ट रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भन्छन् ‘हामीले धेरै विद्यालयलाई ज्ञानेश्वर माविको उदाहरण दिने गरेका छौं । सामुदायिक विद्यालय पनि उत्कृष्ट हुन सक्छन् भन्ने कुराको उदाहरण ज्ञानेश्वरले दिएको छ । अनुगमन गर्दा बालबालिकाका बसाइ, पढाइ अनि कक्षाकोठाको व्यवस्थापन निकै लोभलाग्दो छ ।’

पाँच सय ५६ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा यो शैक्षिक सत्रमा अझै विद्यार्थी संख्या बढ्ने विद्यालयले अनुमान गरेको छ । विद्यालयका प्रधानाध्यापक भट्ट भन्छन् ‘प्रत्येक वर्ष हाम्रो विद्यालयमा शैक्षिक गुणस्तर बढ्दै गएको छ । यो वर्ष हामीले शैक्षिक पात्रो नै प्रकाशित गरेर सोही पात्रोअनुसार शिक्षण क्रियाकलापलाई अघि बढाउँछौं ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्ट भन्छन् ‘चाह्यो भने दुर्गमका विद्यालयलाई पनि उत्कृष्ट बनाउन सकिन्छ भन्ने उदाहरण हामीले दिएका छौं । प्राथमिक तहमा हामीले धेरै प्रगति गरेका छौं । अब माध्यमिक तहलाई अझै व्यवस्थित बनाउने प्रयासमा छौं ।’

ज्ञानेश्वर माविसँग सुरुमा एउटा पनि भवन थिएन । अहिले आठओटा भवन छन् । २० कोठा छन् । नमुना विद्यालय भएकाले शिक्षा मन्त्रालयको सहयोगमा अहिले विद्यालयमा ३२ लाखको चारकोठे भवन निर्माणाधीन अवस्थामा छ । नौ जना स्थायी, एकजना अस्थायी, चारजना राहत चारजना निजी र दुईजना बालविकास सहयोगी कार्यकर्ता गरेर अहिले विद्यालयमा २० जना शिक्षकशिक्षिकाहरू कार्यरत छन् । प्रधानाध्यापक भट्ट भन्छन् ‘हामीले विद्यालयको आर्थिक अवस्थामा सुधार ल्याउनका लागि र निजीस्रोतमा कार्यरत शिक्षकहरूलाई तलब खुवाउनका लागि गत साल सिद्धेश्वर ज्ञानेश्वर खोड्पे महोत्सव एवं श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरेर ३२ लाख बचत ग¥यौं । त्यो रकमले विद्यालय चलाउन हामीलाई कसैको मुख ताक्नु परेको छैन ।’

परिवर्तनका लागि सुरुवात गरेकै छोटो समयमा नमुना विद्यालय बन्न सफल भएको ज्ञानेश्वरबाट आसपासका विद्यालयले पनि सिको गर्नु जरुरी रहेको शिक्षाको क्षेत्रमा काम गरिरहेका संस्था भुमेश्वर सामुदायिक विकास संघका अध्यक्ष मोहन ऐर बताउँछन् । उनी भन्छन् ‘हाम्रा बालबालिकाहरूलाई कम्तीमा सामुदायिक विद्यालयमै पढाउने किसिमको वातावरण ज्ञानेश्वरले बनाएको छ । पहिला पहिला बोर्डिङ स्कुलका विद्यार्थीका लागि मात्रै टिफिनको व्यवस्था हुन्छ भन्थे तर अहिले ज्ञानेश्वरमा पढ्ने प्रावि तहका सबै विद्यार्थीसँग टिफिन हुन्छ । सबैका अभिभावक बालबालिकालाई विद्यालय पुर्‍याउन आउँछन् । यसले विद्यालय र अभिभावकबीचको सम्बन्ध पनि बलियो भएको छ ।’

सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाका अभिभावक कमै मात्रामा विद्यालयमा पुग्ने गरेको भए पनि ज्ञानेश्वर माविका अभिभावक भने दैनिक पुग्ने गर्छन् । प्राथमिक तहका बालबालिकाका धेरै जसो अभिभावक आफैं आउने गरेको प्राथमिक तह इन्चार्ज पूर्ण महराले बताए । उनले भने ‘अभिभावकहरू बालबालिका विद्यालय पुर्‍याउन मात्रै होइनन कसरी पढिरहेका छन् रु अनि कसरी पढाइरहेका छन् रु भनेर पनि अभिभावक चनाखो छन्।’
अभिभावक रामसिंह महरा भन्छन् ‘पहिला हामीलाई त्यति मतलव हुँदैनथ्यो तर अहिले विद्यालय नपुगेका दिन केही काम छुटे जस्तो लाग्छ ।’अन्नपुर्णपोष्टमा खबर छ ।

Comments: