२०७७ जेष्ठ १८ गते

अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर

सल्यान । साक्षरता घोषणा गरेको सल्यानमा अझै २६ सय बालबालिका विद्यालय पहुँचबाहिर छन् । आर्थिक समस्या, तथा शारीरिक अपांगता, बालविवाह, मजदुरीलगायत कारण बालबालिका विद्यालयको पहुँचबाहिर रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

‘क’ र ‘ख’ वर्गका शारीरिक अपांगता भएका अधिकांश बालबालिका विद्यालयमा भर्नाका लागि आउन नसकेको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले बताए । शारीरिक अपांगता भएका बालबालिकाका लागि भोटेचौर, शीतलपाटी र बाँझकाडामा छुट्टाछुट्टै कक्षा सञ्चालन गरे पनि भौगोलिक विकटताका कारण कम आएको उनले जनाए । ६६ हजार ८ सय ४४ बालबालिका विद्यालयको पहुँचमा रहेको सुवेदीले बताए । विद्यालयबाहिर रहनेमा ४ प्रतिशत रहेको उनले जनाए ।

झन्डै ७० हजार बालबालिकामध्ये १ देखि ५ मा ३६ हजार ९७, ६ देखि ८ सम्म १९ हजार ४ सय ५६ र ९–१० मा ११ हजार २ सय ९१ बालबालिका पहुँचमा छन् । जिल्लाका बालबालिका शिक्षाबाट वञ्चित नहुन् भनेर भर्ना अभियानलाई विशेष जोड दिएको र सरकारले छात्रवृत्तिलगायत सुविधाको व्यवस्था गरेको सुवेदीले बताए । शिक्षाबाट वञ्चित भएकालाई विद्यालय ल्याउने प्रयास निरन्तर जारी रहेको कार्यालयले जनाएको छ । तर बीचैमा छाड्ने गरेकाले शत्प्रतिशतलाई उपस्थित गराउन नसकेको उनको भनाइ छ । ‘पाठ्यपुस्तक समयमै नपाउँदा बालबालिकाहरू विद्यालय नआउने गर्छन्,’ उनले भने, ‘यस वर्षदेखि भर्ना भएकै समयमा पाठ्यपुस्तक उपलब्ध गराउने व्यवस्था मिलाएका छौं ।’ कान्तिपुर दैनिकमा खबर छ ।

Comments: