२०७६ मंसिर २४ गते

म्याद थपेको थप्यै, विद्यालय भवन बनेन

ओखलढुंगा । जिल्लाका दुई ठाउँमा सात वर्षअघि ठेक्का लागेका दुई विद्यालय भवन चार पटकसम्म म्याद थपिँदा पनि बनेका छैनन् । भारतीय राजदूतावासको सहयोगमा निर्माण सुरु भएका ती भवन पूरा नहुँदा थप सहयोग आउन समस्या भएको सरोकारवालाले जनाएका छन् ।

‘अरू दर्जनौं संरचनाका लागि दूतावासले सहयोग गर्ने अवस्था थियो,’ कांग्रेस नेता खिलानाथ दाहालले भने, ‘तर यी दुईवटा भवनले नै बदनाम गरेर अब अरू सहयोग पाइने अवस्था कम भयो ।’ ठेकेदारको लापरबाहीकै कारण यी भवन बन्न नसकेका हुन् । हिमालय उच्च मावि निशंखेको भवन २०६६ फागुन ३ गते ठेक्का लागेको थियो । भवनका लागि चारपटक म्याद थप भइसक्यो । अन्तिम म्याद गत २०७२ चैत ३० गतेसम्म थियो । तर, अझै भवन सम्पन्न गरी हस्तान्तरण हुन सकेको छैन ।

१ करोड ४२ लाख ५३ हजार ७ सय ५५ रुपैयाँमा भवन निर्माणको ठेक्का लागेको थियो । त्यसमध्ये ८३ लाख २१ हजार ७ सय ४३ रुपैयाँ भुक्तानी भइसकेको छ । भवन निर्माणको जिम्मा लिएको बिरुवा पुष्पाञ्जली जेभी प्रालिले भूकम्पपछि खासै काम नगरेको जिल्ला प्राविधिक कार्यालले जनायो ।

९५ प्रतिशत काम सकिँदासमेत बाँकी काम गर्न ठेकेदारले अलमल गरेको प्राविधिक कार्यालयका निमित्त प्रमुख पारस पाण्डेले बताए । त्यसैगरी चण्डेश्वरी उच्च मावि रगनीको भवन पनि उस्तै समस्यामा छ । २०६६ पुस १४ गते ठेक्का लागेको भवन अझै निर्माण सम्पन्न भएको छैन । डुकुछा सीएम जेभीले २ करोड २५ लाख १३ हजार ४ सय १३ रुपैयाँमा भवन बनाउने ठेक्का लिएको थियो ।

तीनपटक म्याद थपिँदा पनि भवन सम्पन्न हुन सकेको छैन । सम्झौतामध्ये १ करोड ६० लाख ४ हजार ९ सय रुपैयाँ भुक्तानी भइसकेको छ । थप २५ लाख बराबरको काम सम्पन्न भए पनि भुक्तानी नभएपछि हाल काम रोकिएको छ । यस विद्यालयको पनि ९५ प्रतिशत काम सकिसकेको छ ।

‘रगनीको सवालमा एक वर्षदेखि दूतावासले थप पैसा जम्मा नगर्दा काम सकिएन,’ प्राविधिक पाण्डेले भने, ‘निशंखेको सवालमा चाहिं ठेकेदार नै प्रमुख जिम्मेवार देखिएका छन् ।’ हिमालय उच्च मावि निशंखेको भवन ठेक्का लिएका बिरुवा पुष्पाञ्जली जेभी प्रालिका प्रतिनिधि बबि श्रेष्ठले पैसा निकासा हुने प्रक्रियाकै कारणले काम सम्पन्न नभएको बताए ।

पहिले पनि गरेको कामको बिलअनुसारको पैसा लिन एक वर्षसम्म लागेको उनको भनाइ छ । अहिले पनि भवनका लागि प्राप्त भएको रकम प्राविधिक कार्यालयले रगनीको भवनका लागि सापटी दिएको उनले बताए । हाल फर्निचरको कामहरू भइरहेको र लगातार काम गर्दा एक महिनाभित्रै सकिने श्रेष्ठ बताउँछन् ।

दुवै भवनका अधिकांश भौतिक संरचना बनाउने काम सकिसकेको छन् । गेट, झ्याल ढोका, डेस्क, बेन्च, शौचालय निर्माणलगायत काम मात्र बाँकी रहेका छन् । स्थानीयले भने दूतावास र नेपाल सरकार दुवैको लापरबाहीले भूकम्पपछि भवनको अवस्था झनै जीर्ण भएको गुनासो गरेका छन् । कान्तिपुर दैनिकमा खबर छ ।

Comments: