२०७७ जेष्ठ २१ गते

‘खोला तर्नुपर्छ, कसरी पढ्न जानु ?’

सिन्धुपाल्चोक । जिल्ला शिक्षा कार्यालयले दरबन्दी मिलान क्रममा विद्यालयलाई एक–अर्कामा गाभ्ने र शिक्षक कटौती गर्ने अभियान चलाएपछि सयौं बालबालिका प्रभावित भएका छन् ।

विद्यालय गाभ्दा अपायक स्थानमा जानुपर्ने र कलिला उमेरका बालबालिका हिँड्न नसक्ने भएपछि यस्तो अवस्था सिर्जना भएको हो । सुनकोसी गाउँपालिकाको पांग्रेटारस्थित कालिकादेवी आधारभूत विद्यालयमा ४४ बालबालिका अध्ययन गर्छन् ।

पाँच देखि आठ वर्षका ती बालबालिका नयाँ शैक्षिकसत्र लगत्तै कसरी पढ्न जाने भन्ने चिन्तामा छन् । विद्यालय जान ४० मिनेट हिँड्नुपर्छ । अर्को विद्यालय जान घरदेखि दुई घण्टा हिँड्नुपर्छ । अभिभावकका अनुसार २० जना बालबालिकाले पढाइ छाडेका छन् । ‘घरबाट महेन्द्रोदय माध्यमिक विद्यालय पुग्न दुई घण्टा लाग्छ,’ कालिकादेवी आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत सानु तिमल्सिनाले भनिन्, ‘बीचमा दुईवटा ठूला खोला तर्नुपर्छ, जंगलको बाटो छ ।’


बालबालिकाको पढ्ने चाहना हुँदाहुँदै शिक्षा कार्यालयको मनोमानीले यस्तो भएको स्थानीयको गुनासो छ । ‘साना बालबालिका घण्टौं हिँडेर अर्को विद्यालय पुग्न सक्दैनन्, भौगोलिक अवस्था नबुझी विद्यालय मर्ज गरियो,’ शिक्षा कार्यालय धाइरहेका रमेश तिमल्सिनाले भने, ‘राजनीतिक पहुँचलाई आधार मानेर निमुखाका छोराछोरी पढ्ने विद्यालयलाई मात्रै घटुवा गरियो ।’ भोटेकोसी गाउँपालिकाको तिब्बती सीमा जोडिएको तातोपानी, दुगुनागढी लगायत जिल्लाका मध्य भेगका कतिपय बस्तीका बालबालिका पढाइबाट वञ्चित भएको गुनासो स्थानीयको छ ।

भूकम्पअघि दुगुनास्थित भुमाचौर प्राथमिक विद्यालयमा पढिरहेका २५ बालबालिकाले तातोपानी आधारभूत विद्यालयमा मर्ज भएपछि पठनपाठन नै छाडेका छन् । तातोपानी माविकी निमित्त प्रधानाध्यापक सरिता पौडेलले भनिन्, ‘पहिरोको जोखिममा तीन घण्टा पैदल हिँड्नुपर्ने भएपछि उनीहरूले पढाइ छाडेका छन् ।’ जिशिकाले भौगोलिक कठिनाइलाई बेवास्ता गरेर राजनीतिक पूर्वाग्रहमा विद्यालयको स्तर घटुवा गरेको अभिभावकको आरोप छ ।

विद्यार्थी संख्या नपुगेको भन्दै गाभिएका १६ प्राथमिक विद्यालयका धेरै बालबालिकाले शैक्षिकसत्रको अन्त्यमा विद्यालय जान छाडेको शिक्षा कार्यालयका इकाई प्रमुख कृष्ण सुवेदीले बताए । ‘गाभिएका र कक्षा घटाइएका विद्यालय आसपासका विद्यार्थीको समस्या अन्यत्रबाट पनि आएको छ,’ उनले भने ।

विद्यार्थी संख्या कम भएको भन्दै पाँच कक्षासम्म सञ्चालित विद्यालयलाई एकाएक तीन कक्षामा घटुवा गरेपछि विकट गाउँका बालबालिका शिक्षाबाट वञ्चित हुनुपरेको छ । ‘विद्यार्थी संख्याको आधारमा स्तर घटुवा गरिएको हो,’ जिशिअ घिमिरेले भने, ‘बालबालिकाको पढाइमा असर पुगे अभिभावकको सल्लाहमा व्यवस्थापन गर्दै जान्छौं ।’ कान्तिपुरमा खबर छ ।

Comments: