२०७६ मंसिर १ गते

विद्यार्थीलाई दक्षिण अमेरिका प्रतिबन्ध

काठमाडौ । शिक्षा मन्त्रालयले नेपाली विद्यार्थीलाई दक्षिण अमेरिकी राष्ट्रमा अध्ययन गर्न जान प्रतिबन्ध लगाएको छ । त्यहाँका मुलुकमा विद्यार्थीहरू अध्ययन गर्न जाने क्रममा अलपत्र परेको र अध्ययनको उपयुक्त वातावरण नभएको ठहर गर्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट जान प्रतिबन्ध लगाएको हो ।

मन्त्रालयले चिलीलगायत दक्षिण अमेरिकी महादेशका अन्य मुलुकमा अध्ययनका लागि जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर' नदिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले बताए । उच्च शिक्षा अध्ययनका लागि गत वर्ष अध्ययन भिसामा चिली गएका ४२ जना विद्यार्थी अलपत्र परेका थिए ।

अध्ययनको बहानामा रोजगारी तथा अन्य उद्देश्यले चिलीसहित ब्राजिललगायत मुलुकमा गए समस्यामा पर्ने गरेका शिक्षा र परराष्ट्र मन्त्रालयले गरेको अध्ययनमा पाइएको थियो । त्यसपछि मन्त्रीस्तरीय निर्णयअनुसार नेपालमा त्रिभुवन विश्वविद्यालयले समकक्षता प्रदान गर्ने विश्वविद्यालय र विषयबाहेक अन्य विषयमा नो अब्जेक्सन लेटर नदिन मन्त्रालयले वैदेशिक अध्ययन तथा अनुमतिपत्र व्यवस्थापन शाखालाई निर्देशन दिएको हो ।

शाखाका प्रमुख दिलेश्वर प्रधानले मन्त्रालयको निर्देशन अनुसार शुक्रबारदेखि नै नो अब्जेक्सन लेटर दिन बन्द गरिएको बताए । उनका अनुसार विद्यार्थीलाई प्रतिबन्ध लगाइएका मुलुकहरूमा विद्यार्थी दुई महिनादेखि ६ महिनाको डिप्लोमा अध्ययनका लागि स्पन्सर लेटर लिएर आउने गरेका थिए ।

अध्ययनका लागि जाने भने पनि केही समय चिली, ब्राजिल, मेक्सिको, अर्जेन्टिनालगायत देशमा बसेर विद्यार्थीहरू अमेरिका छिर्ने गरेका थिए । अमेरिका प्रवेश गराउने प्रलोभनमा पारी विद्यार्थीसँग मोटो रकम असुलेर एजेन्टहरू फरार हुने घटना अत्यधिक बढेका थिए ।

चिलीमा गत पुसमा अलपत्र परेका विद्यार्थीहरू पनि एजेन्ट फरार भएपछि समस्यामा परेका थिए । अलपत्र परेपछि उनीहरूले नेपालबाट अन्य विद्यार्थीहरू पनि चिली आउने तयारीमा रहेको र तत्काल उनीहरूलाई नेपालमै रोक्न ब्राजिलस्थित नेपाली दूतावासमा अपिल गरेका थिए ।

‘उनीहरूको अपिल र अलपत्र परेका विद्यार्थीबारे अध्ययन गर्दा ती मुलुकमा अध्ययनको बहानामा जाने गरेको र यसरी गएकामध्ये अधिकांश अलपत्र हुने गरेको पाएपछि नो अब्जेक्सन लेटर दिन रोकेका हौ', प्रधानले भने ।

उनका अनुसार सानातिना तालिम तथा छोटो समयका कोर्सका लागि नो अब्जेक्सन लेटर दिन रोकिएको भए पनि मास्टर्स, पिएचडी तथा ब्याचलर तहका पनि राम्रा विषय र कोर्स हेरेर लेटर दिइनेछ । अन्नपुर्णपोष्ट दैनिकमा खबर छ ।

Comments: