२०७६ मंसिर २४ गते

शैक्षिक सत्रअघि नै पुस्तक वितरण

प्युठान । शैक्षिक सत्र सुरु हुनुभन्दा एक महिनाअघि नै जिल्लामा पुस्तक वितरण थालिएकाले यो वर्ष विद्यार्थी खुसी भएका छन् ।

८५ प्रतिशत पुस्तक भित्र्याएर सम्बन्धित विद्यालयमा पुर्‍याइसकिएको स्रोतले बतायो । वितरणको जिम्मा पाएका व्यवसायी अर्जुनकुमार कक्षपतीले ५ कक्षासम्मका सबै पुस्तक आइसकेको बताए । कक्षा ६ देखि ८ सम्म ४ हजार, ९ र १० कक्षाको ३ हजार सेट पुस्तक ल्याएर सहायक डिपोमार्फत वितरण गरिएको छ ।


जुम्रिमा मुख्य डिपोसहित जिल्लाको भिंगृ, दरभान, मच्छी, चुजाठाँटी, बरौला, ठुलाबेसी र खलंगामा सहायक डिपो सञ्चालन गरी पुस्तक विरतण गरिएको उनले बताए । व्यवसायीहरूले सोमबार पहिरो प्रभावित क्षेत्रका विद्यालयलाई केन्द्रित गरी नौबहिनी गाउँपालिकास्थित बाहाने स्रोतकेन्द्रमा शिविरै सञ्चालन गरी पुस्तक विरतण गरे ।

शिविरबाट स्रोत केन्द्रका ३९ विद्यालयले पुस्तक लगेका छन् । करिब ११ हजार विद्यार्थीका लागि पुस्तक वितरण गरिएको पुस्तक व्यवसायी रमेश गिरीले जानकारी दिए । उनले जिल्लामा यस वर्ष पुस्तक अभाव हुन नदिन समयमै पहल थालेको बताए ।

विद्यार्थीले भर्नासँगै नयाँ पुस्तक पाउनका लागि शिक्षा कार्यालयले पुस्तक व्यवसायीसँग समन्वय गरेको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले जानकारी गराइन् । ‘सबै विद्यालयलाई भर्नाअघि नै पुस्तक लगेर राख्न निर्देशन दिएका छौँ,’ उनले भनिन्, ‘भर्नासँगै सबै विद्यार्थीहरूले नयाँ पुस्तक पाउनेछन् ।’


उनले विद्यालयले आकलन गरेअनुसार विद्यार्थी संख्याका आधारमा विद्यालयलाई पुस्तक खरिदका लागि प्रतिविद्यार्थी ७५ प्रतिशत रकम विद्यालयकै खातामा पठाइसकिएको बताइन् । कार्यालयका अनुसार १ करोड ४७ लाख १६ हजार रुपैयाँ बजेट पाठ्यपुस्तक खरिदका लागि जिल्लाभरका ३ सय ४९ वटा विद्यालयलाई दिइएको छ । कान्तिपुरमा खबर छ ।

Comments: