२०७६ असोज २९ गते

महिनावारी हुँदा पढाइबाट वञ्चित

अन्तैबाट

सर्लाही । कविलासी नगरपालिकास्थित श्री माध्यमिक विद्यालयको कक्षा–१० मा अध्ययनरत छात्रा प्रियंका गुप्ता बुधबार कक्षाको पहिलो घण्टीमै पेट दुख्यो भनेर घर फर्किन्  । चार दिनअघि उनकै सहपाठी रोशनी साह पेट दुख्यो भनेर घर गएकी अझै विद्यालय आउन सकेकी छैनन्  ।

विद्यालयमा गुप्ता र साह मात्र होइन महिनाबारी भएका बेला छात्राहरू पेट दुख्यो भनेर घर फर्कने गरेका छन् । विद्यालयमा छात्रा मैत्री शौचालय र स्यानेटरी प्याडको व्यवस्था नहुँदा छात्राहरू पढाइ छाडेर घर फर्कनु पर्ने बाध्यता छ । यसरी उनीहरू महिनाको कम्तीमा पाँच दिन पढाइबाट वञ्चित हुँदै आएका छन् । ‘महिनावारी हुन केही बेर अगावै पेट दुख्छ, यो संकेत पाउनासाथ हामी घर फर्किन्छौं, घर फर्किएन भने रगतै रगतले लत्पतिन्छ, कक्षामा लाज पनि हुन्छ,’ गुप्ताले भनिन्, ‘विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था छैन, शौचालय पनि छात्रामैत्री छैन, बाध्य भएर कक्षाको पढाइ छोडेर घर फर्कन्छौं, पाँच दिनसम्म विद्यालय जाँदैनौं ।’

महिनावारी भएका बेला पढाइतिर ध्यानै नजाने गरेको छात्राहरू बताउँछन् । चाहेर पनि विद्यालय जान नसक्ने र गए पनि बीचमै पढाइ छोड्नुपर्ने बाध्यताले उनीहरूको पढाइ प्रभावित हुनेगर्छ । महिनावारीका बेला विद्यालय जान नपाएपछि पढाई छुटेर तनाव हुने गरेको छात्राहरूको भनाइ छ ।

जिल्लामा श्री माध्यमिक विद्यालय मात्र हैन अधिकांश विद्यालय छात्रामैत्री छैनन् । विद्यालयहरूमा स्यानेटरी प्याड र जीर्ण शौचालयका कारण छात्राहरू पढाईबाट वञ्चित हुनु परेको छ । केही विद्यालयमा भने दाताहरूको सहयोगमा स्यानेटरी प्याडको व्यवस्था भएपछि त्यहाँका छात्राहरू विद्यालय नियमित भएका छन् ।

बरहथवा नगरपालिकाको हजरियास्थित सरस्वती माविको कक्षा ९ मा अध्ययनरत पुष्पा यादवको यसअघि महिनावारी भएका बेला पढाई छुट्थ्यो । विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था नहुँदा उनलाई लाजकै कारण विद्यालय जान समस्या भइरहेको थियो । कक्षा १० मा अध्ययनरत अनिसा साहको पनि महिनावारीका बेला विद्यालय जाँदैनथिन् ।

विद्यालयमा स्यानेटरी प्याडको व्यवस्था भएपछि उनीहरू मात्र होइन, कक्षा ८, ९ र १० का सम्पूर्ण छात्राको पढाइ अब नियमित भएको छ । प्याड पाएपछि महिनावारीकै कारण पढाइबाट वञ्चित हुनुपर्ने बाध्यताको यहाँ अन्त्य भएको छ । विद्यालयमा नेपालकै चर्चित हास्य कलाकार जोगिन्दर पानवाला भनिने शिवशंकर रिजालले दाताको सहयोगबाट स्यानेटरी प्याड प्रदान गरेपछि छात्राहरूको पढाइ नियमित भएको हो । ‘पहिला महिनावारीकै कारण महिनाको ५ दिन पढाइ छुट्थ्यो, कुनैबेला विद्यालयमा पढ्दा पढ्दै घर फर्किनु परेको थियो,’ यादवले भनिन्, ‘विद्यालयमै स्यानेटरी प्याडको व्यवस्था भएपछि हाम्रो पढाई नियमित भएको छ ।’

हजरियाका स्थानीय समेत रहेका कलाकार रिजालले सरस्वती माविमा स्यानेटरी प्याडसँगै १ लाख ११ हजार १ सय ११ रुपैयाँ र जनता आधारभूत विद्यालय प्रिपाभित्तामा ५१ हजार रुपैयाँको अक्षय कोष स्थापना गरी जेहेन्देर तथा गरिब विद्यार्थीलाई बर्सेनि छात्रावृत्ति प्रदान गर्ने घोषणा समेत गरेका छन् । विद्यालयका नाममा जम्मा गरिएको अक्षय कोषको रकमबाट प्राप्त ब्याजले बर्सेनि दुवै विद्यालयमा जेहेन्दार एवं अतिविपन्न एक जना छात्र र एक जना छात्रालाई छात्रावृत्ति प्रदान गरिनेछ । सरस्वती माविका प्रअ भरत महतोले अध्ययन गरेर गएका विद्यार्थीमध्ये कलाकार रिजालले आफू पढेको विद्यालयलाई सम्झिएर गरेको सहयोग प्रशंसनीय रहेको र त्योभन्दा पनि ठूलो प्रशंसाको काम छात्राहरूलाई नियमित पढ्ने व्यवस्था मिलाइदिएकोमा बताए ।

कान्तिपुरमा खबर छ ।

Comments: