२०७६ मंसिर २३ गते

शिक्षक संघको बीसौं प्रतिनिधि सभा : के भन्छन् प्रदेश अध्यक्षहरु

ईपाटी संवाददाता


काठमाडौं । नेपाल शिक्षक संघको बीसौं संघीय प्रतिनिधि सभा काठमाडौंमा जारी छ । बिहिवार र आज शुक्रवार बन्द सत्र चलिरहेको छ । संघमा महत्वपूर्ण र शक्तिशाली मानिने प्रतिनिधि सभामा के भइरहेको छ र आम शिक्षक वर्गहरुले यसबाट कस्तो अपेक्षा गरिरहेका छन् भन्ने सन्दर्भमा संघको प्रदेश समितिका अधयक्षहरुसँग गरिएको कुराकानी :


इलमबहादुर शाही
अध्यक्ष, नेपाल शिक्षक संघ कर्णाली प्रदेश
नेपाली शिक्षकहरुले आफ्ना लागि आफै लड्नपर्ने कुरा समाप्त गर्न चाहन्छौं । गुणस्तरीय शिक्षा खोजी गर्दै गर्दा हामी आफ्नैलागि आफै लड्नुपर्ने, संगठन बनाएर सरकारसँग संघर्ष गरिरहनुपर्ने दिन सदाका लागि अन्त्य होस् भन्ने चाहन्छौं । त्यसपछि मात्रै गुणस्तरका लागि कक्षाकोठामा केन्द्रित हुन चाहन्छौं । यो प्रतिनिधि सभामा विशेष एजेण्डाको रुपमा यसलाई स्थापित गर्न चाहन्छौं । नेपाली शिक्षकहरुको पक्षमा आजसम्म जे जति लडाइहरु भएका छन् । ति लडाइपछि राज्यसँग गरिएका सम्झौता पुरा होस् । त्यसपछि हामी शिक्षकहरु शैक्षिक गुणस्तरमा मात्रै केन्द्रित हुन पाऊँ । यसका सम्बन्धमा प्रतिनिधि सभाले कार्ययोजना तय गरोस् भन्ने चाहन्छौं ।


शिरोमणि लामिछाने
अध्यक्ष–नेपाल शिक्षक संघ गण्डकी प्रदेश
यस नेपाल शिक्षक संघको संघीय प्रतिनिधि सभाबाट सामुदायिक विद्यालयको गुणस्तर वृद्धि र सामुदायिक विद्यालयबाट बाहिर पुगेका विद्यार्थीहरुलाई कसरी गुणस्तरीय शिक्षा दिएर फर्काउने भन्ने महत्वपूर्ण पाटोमा काम गर्न खोज्दैछौं । यो पाटोमा नेपाल सरकारले धाधँली गरेको छ । विद्यार्थी भर्ना गर्ने समयमा विद्यालयहरुमा शिक्षकहरु खाली गरेको छ । सामुदायिक विद्यालयमा शिक्षक नै छैनन् भनेपछि अब कुनचाँही अभिभावकले विद्यार्थी भर्ना गर्छन् ?सरकार निजी क्षेत्रको विकासमा लागेको देखिन्छ । तर, हामी शिक्षक संघको मार्फत सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि केही महत्वपूर्ण एजेण्डाहरु अगाडि बढाउन चाहन्छौं । शिक्षकका सेवा सुविधा, सत्र थरीका शिक्षक अब अन्त्य गरिनुपर्छ भन्ने कुराहरु पनि सभामा उठेका छन् । यि कुराहरु पनि सभामा पास गराउछौं । अब राहत र इसिडि शिक्षकहरु, विद्यालयकर्मचारीहरु निष्पक्ष ढंगले व्यवस्थापन हुनुपर्छ । अब दलिय रुपमा शिक्षक कर्मचारीको भर्तिकेन्द्र बन्द गरेर संवैधानिक शिक्षक सेवा आयोगको व्यवस्था हुनुपर्छ । यस षियमा सभाले निर्ण गर्ने छ ।


मेघनाथ यादव
अध्यक्ष– नेपाल शिक्षक संघ २ नम्बर प्रदेश
शिक्षक स.घका धेरै निर्णय र एजेण्डाहरु महासंघ हुँदै ३० बुंदे सहमति भएको छ । त्यो सहमति सरकारले अक्षरंश पालना गर्नुपर्दछ । संघीय शिक्षा ऐनमा समावेश गरिनुपर्छ । छुट अस्थायी, राहत, इसिडि शिक्षक र विद्यालय कर्मचारीका समस्या र अहिले आन्दोलित अस्थायी शिक्षकहरुको समस्या पनि समाधान  हुनुपर्छ । सहमतिमा आन्तरिक प्रतिस्पर्धा गर्ने अनि भित्री रुपमा स्थानीय दरबन्दीमै व्यवस्थापन गर्ने सरकारको सोच हामलिाई मान्य छैन । शिक्षक संघले महासंघ मार्फत यि कुराहरु उठाउनु आवश्यक छ । महासंघको नेतृत्व चुकेपनि संघ मात्रैले पनि यि मुद्दा छाड्नु हुँदैन । यसकालागि संघले आन्दोलन गर्नुपर्छ र हाम्रा एजेण्डा लागु हुनुपर्छ । प्रतिनिधि सभाबाट यि एजेण्डा पारित हुनुपर्छ । शिक्षकले नियमित तलव नपाइरहेको अवस्था छ । स्थानीय तहले शिक्षा थेग्न सक्दैन । संघीय सरकार मार्फत साझा सुचीमा राखेर सञ्चालन गर्ने एजेण्डा प्रतिनिधि सभाबाट पारित होस् भन्ने चाहन्छौं ।



नारायण तिमिल्सिना
अध्यक्ष– नेपाल शिक्षक संघ ३ नम्बर प्रदेश
नेपाल शिक्षक संघ शिक्षक आन्दोलनको पुरानो र सशक्त संगठन हो । जसलाई आम नेपाली शिक्षकहरुले विश्वास गर्छन र गर्दै आएका पनि छन् ।  प्रतिनिधि सभामा मूख्यत वर्षभरि गरेका कामको समिक्षा र भावि कार्यदिशा तय हुनेछ । यस एकवर्षको बीचमा शिक्षकहरुले धेरै दुख र सास्ती पाएका छन् । शिक्षकहरुलाई गलत्याउने काम भएको छ । स्थानीय तहहरुले संविधान विपरित ऐन कानून बनाएर शिक्षकमाथि राजनीतिक प्रतिसोध साध्ने काम भएको छ । आन्तरिक परीषाबाट पनि केही शिक्षकहरुलाई गलत्याउने र कानूनी शर्तबमोजिमको सुविधा नदिने काम काम भएको छ । राहत, इसिडि, विद्यालय कर्मचारीका उचित व्यवस्थापनका विषयमा पनि सभामा घनीभूत रुपमा छलफल भइरहेको छ । यो सभाले नेपालको सार्वजनिक शिक्षाको सुधार र शिक्षक कर्मचारी व्यवस्थापनका सम्बनधमा नयाँ अवधारणा अगाडि सार्नेछ ।



पूर्णप्रसाद गौतम
अध्यक्ष– नेपाल शिक्षक संघ १ नम्बर प्रदेश
नेपालमा शिक्षाकर्मीले वर्तमानमा भोग्दै गरेका समस्याहरु, विगतमा हामीले गरेका आन्दोलन र आन्दोलनबाट प्राप्त उपलब्धि रक्षा गर्दै बाँकी सिर्जित समस्या समाधानको बाटोमा यस प्रतिनिधि सभाले महत्वपूर्ण निर्णय गर्दै छ । सवैक्षेत्रबाट बडो चासो र उत्सुकताका साथ हेरिउको यस प्रतिनिधि सभाले बालविकास, राहत, अस्थायी, लियन, सट्टा, सािविकका उमाविका शिक्षकहरुसँगै विद्यालय कर्मचारीहरुको विगतका समस्याहरुको उचित ढंगले समाधान गर्ने गरी शिक्षक संघ मार्फत महासंघलाई सशक्त बनाएर आन्दोलनलाई गतिशिल बनाउने दिशामा यो सभा केन्द्रित  छ । हाल राज्यले सिर्जना गरेका शैक्षिक अराजकताहरुलाई अन्त्य गर्ने कुरामा यो सभा केन्द्रित  छ ।  संविधान कार्यान्वयन गर्न संघीय र प्रदेश शिक्षा ऐन नबनीरहेको वर्तमान सन्दर्भमा स्थानीय सरकारले मनोमानी ढंगले सिर्जना गरेका ऐन, विधि, कार्यविधि, नियमावलीबाट शिक्षाक्षेत्र बढी आतंकीत भएको छ । संविधानको मान्यता विपरित शिक्षकहरुको मनोबल गिराउने, हत्तोससाही बनाउने काम भएका छन् । अहिले हाम्रो मूल मर्म भनेको संघीय शिक्षा ऐन प्रदेश शिक्षा ऐन मार्फत स्थानीय तहहरुले कानून बनाउने प्रवन्ध हुनुपर्छ । संघीय सरकारमार्फत शिषाका पेशागत हक सुविधा र सर्तहरु निर्धारण हुनुपर्छ । यसबाट नेपाली शिक्षकले स्वाभिमानपूर्वक, भयरहित वातावरणमा कक्षाकोठामा उभिने अवस्था सिर्जना भएमात्रै हामीले खोजेको मुलुकको समृद्धि सम्भव छ । स्रोत व्यक्तिहरुको विस्थापनले निर्मित शुन्यता हटाउन पुनर्वहाली गरिनुपर्छ । यि सबैका लागि दवाव दिनुपर्छ भनेर प्रतिनिधि सभालाई केन्द्रित गरिउको अवस्था छ ।

Comments: